प्रहरीले कञ्चटमा बन्दुक तेर्स्याएर व्यवसायी कुटेको भन्दै तरकारी बजारमा आतंक

काठमाडौंको कोटेश्वरस्थित प्रहरी चौकीमा मनोहरा नरेफाँटका तरकारी व्यावसायीहरुले नाराबाजी गरेका छन् । बिहान करिब ३ बजेको समयमा सादा पोशाकका चार जना प्रहरीले मादक पदार्थ सेवन गरी तीन जना व्यापारीलाई हतकडी लगाउँदै कञ्चटमा पेस्तोल तेर्स्याएर ज्यान लिने धम्की दिएको निहुँमा व्यवसायीहरुले प्रहरीविरुध्द नाराबाजी गरेका हुन् ।

मादक पदार्थ सेवन गरेको हालतमा मोबाइल र गोजीको रकम सबै मागेर तीन जना व्यापारीलाई चार जना प्रहरीले कुटपिट गरेको स्थानीयले बताएका छन् । कुटपिट पछि होहल्ला हुँदा स्थानीयले मादक पदार्थ सेवन गरेका प्रहरीलाई रोक्न खोजेपछि उल्टै गोली हान्छु भन्दै धम्काएका बताइन्छ ।

“मादक पदार्थ सेवन गरेको हालतमा मोबाइल र गोजीको रकम सबै मागेर तीन जना व्यापारीलाई चार जना प्रहरीले कुटपिट गरेको स्थानीयले बताएका छन् ।”

त्यसपछि स्थानीय र व्यापारीले ती प्रहरीलाई समातेर कोटेश्वर प्रहरीको जिम्मा लगाएका थिए । तर दिउँसो कोटेश्वर प्रहरीले स्थानीय र व्यापारीको विरुद्ध बोलेको भन्दै स्थानीयसहित व्यापारीहरुले प्रहरी कार्यालय सामुन्ने नाराबाजी गरेको बताइन्छ ।

कोटेश्वर प्रहरी प्रभाग अगाडि नाराबाजी गरेका उनीहरुले प्रहरी हाम्रो साथी होइन लुटेरा हो,रक्षक नै भक्षक भएको छ भन्ने नारा लगाएका छन् ।

मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिटबाट बिहान रम्बु पटेल, सुरिन्दर पटेल र तेजनारायण चौधरी घाइते भएका हुन् । अहिले तरकारी बजारका लगानीकर्ता महेश्वर कोइराला,बजार व्यवस्थापन समितिका सल्लाहकार चतुरलाल तामाङलगायत चार जना र कोटेश्वर प्रहरी प्रभागका प्रहरी निरीक्षक सुरेशराज भट्टबीच वार्ता भइरहेको छ ।

प्रहरीले अनुसन्धानको लागि पाँच दिनको समय माग गरेको छ । तर व्यवसायीहरूले घटनामा संलग्न प्रहरीलाई सार्वजनिक गरेर मापसे परीक्षण गर्नुपर्ने माग राखेका छन् ।

टिप्पणीहरू