माधव नेपाललाई तत्काल पदच्युत गराउन एमालेको पेलपाल

माधव नेपाललाई तत्काल पदच्युत गराउन एमालेको पेलपाल

एमालेका वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपाल र उहाँ निकट १३ जना सांसदलाई तत्काल कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ ।

आज सभामुखलाई संसद सचिवालयस्थित उहाँको कार्यकक्षमा भेटेर एमाले नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हुँदा उनीहरुलाई तत्काल कारबाही गर्न माग गर्नुभएको हो ।

सभामुख सापकोटासँगको भेटपछि भट्टराईले सभामुखले तत्काल कारबाही गर्ने आश्वासन दिएको बताउनुभयो । उहाँले अरु दलका नेतालाई तत्काल कारबाही गरे पनि एमालेले निवेदन दिएको ७२ घण्टा बित्न लाग्दासमेत १४ जना सांसदको कारबाहीमा विलम्ब गरिएको बताउनुभयो ।

उहाँले जानाजान विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता भएपछि दिइने कारबाहीको सूचना गैरकानुनी,गैरसंवैधानिक, वदनियतपूर्ण र नेकपा एमालेलाई जसरी पनि टुक्र्याउने आशयबाट प्रेरित हुने दाबी गर्नुभयो । भट्टराईले भन्नुभयो,‘नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर बस्ने छैन ।’

टिप्पणीहरू