अध्यादेशबारे कमरेड ओलीको दोहोरो मापदण्ड,हिजो ठीक-आज बेठीक

अध्यादेशबारे कमरेड ओलीको दोहोरो मापदण्ड,हिजो ठीक-आज बेठीक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हिजो जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको सबैभन्दा चर्को बिरोध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँका नेता तथा कार्यकर्ताले गर्नुभएको छ ।

अध्यादेशअनुकूल नयाँ दल दर्ताको लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूह अघि सर्ने सुईंको पाएपछि साउन २५ गतेको केन्द्रीय समितिको बैठक,अस्तिको स्थायी समिति र संसदीय दलको निर्णय भन्दै १४ जना नेता तथा सांसदलाई कारबाही गरिएको थियो । लगत्तै उक्त कारबाहीको जानकारी संसद सचिवालय र निर्वाचन आयोगलाई समेत दिइएको छ ।

२०७७ बैशाखमा उहाँ स्वयमले तत्कालीन मधेशवादी दल जनता समाजवादी पार्टीलाई औपचारिक रुपमा विभाजन गर्ने उद्देश्यले सोहीअनुरुपको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । सर्वत्र विरोध भएपछि तत्काल फिर्ता लिनुभयो ।

अहिले त्यहि प्रकृतिको अध्यादेश देउवा सरकारले ल्याएको छ । हिजो र आजको फरक भनेको अध्यादेश ल्याएर ओलीले मधेशवादी दललाई विभाजन गर्न खोज्नुभएको थियो भने अहिले देउवाले एमाले विभाजन गर्न खोज्नुभएको छ । पार्टीभित्र वरिष्ठ नेता माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई छानी छानी सेक्दै आउनुएका ओलीले प्रधानमन्त्री छँदा नै नेपाललाई अनुकूल हुने गरी अध्यादेश ल्याइदिने भनेर सार्वजनिक रुपमै भन्नुभएको भिडियो अहिले भाइरल बनेको छ ।

नेपाल प्रेससँगको भिडियो अन्तर्वार्तामा उहाँले माधव नेपालहरुले चाहेमा सदन बसेको बेला उहाँहरुलाई अनुकूल हुने गरी पार्टी विभाजनको निम्ति विधेयक ल्याउन तयार रहेको बताउनुभएको थियो । ओलीले भन्नुभएको थियो, ‘उहाँहरुले माग्नुभयो भने विधेयक ल्याइदिन्छु म । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन ।’

त्यतिबेला ओलीको आशय जतिसक्दो छिटो नेपालहरु पाखा लागिदिए हुन्थ्यो भन्ने नै थियो । सत्तामा बसेको बेला किचकिच सहनुभन्दा पार्टी छाडेर जानको लागि बरु अहिलेको जस्तै अध्यादेश वा विधेयक ल्याउन आफू तयार रहेको बताउनुभएको हो ।

तर अहिले राजनीतिले कोल्टो फेर्दा आफू विपक्षी दलको नेताको हैसियतमा पुग्नुभएको छ । यतिबेला भने उहाँ र उहाँको दलका नेता तथा कार्यकर्ताको भनाई हिजोको अध्यादेश र माधव नेपालहरुको नयाँ दल दर्ता गर्ने कार्य जघन्य अपराधसरह रहेको छ ।

टिप्पणीहरू