माधव नेपालहरु छिर्दै गर्दा निर्वाचन आयुक्तहरु निस्किए,तीन दिन बिदाले नाम दर्तामा बाधा

माधव नेपालहरु छिर्दै गर्दा निर्वाचन आयुक्तहरु निस्किए,तीन दिन बिदाले नाम दर्तामा बाधा

हिजो नयाँ दल दर्ताको लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह निर्वाचन आयोगमा छिर्ने खबर आएसङ्गै निर्वाचन आयुक्तहरु साढे चार नबज्दै झोला र पत्रिका बोकेर घरतिर लागेका थिए । अध्यादेश जारी हुने र राजपत्रमा निस्कने समय निर्क्यौल नहुँदा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया पनि एउटा पूर्व निर्धारित कार्यक्रममा सामेल हुन आफ्नो सचिवालयका कर्मचारीलाई जानकारी गराएर पौने ४ बजेतिर कान्तिपथबाट बाहिरिएका थिए ।

जसपाबा अलग्गिन महन्थ-राजेन्द्र र एमालेबाट छुट्टिएर नेकपा एमाले (समाजवादी) दल दर्ताको लागि नेपाल समूह बहादुर भवन पुग्दा त्यहाँ सचिव सुरेश अधिकारी मात्रै आयोगका ठूला अधिकारीको रुपमा भुइँ तल्लामा थिए । टोलीले उनैसँग दल दर्ताको सबै प्रशासनिक प्रक्रियाबारे छलफल गरेर निवेदन दर्ता गरेपछि साँझ साढे ५ बजेतिर बाहिरिएको हो । नेता नेपालको टोली पौने ५ बजे आयोग पुगेको थियो ।

नेपालले झैँ त्यसअघि आयोग पुगेको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) का नेता महन्थ ठाकुर समूहले पनि दर्ता प्रक्रियामा अनावश्यक विलम्ब नगरिदिन मात्र आग्रह गरेको थियो । अरु केही आग्रह र अनुरोध नगरेको आयोग स्रोतले बताएको छ । त्यसैले आयोगले आज नियमावली संशोधनको प्रक्रिया थाल्न लागेको छ ।

“पर्सि शनिबारसँगै आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्रा परेकाले राजधानी उपत्यकामा तीन दिन सार्वजनिक बिदा दिइएको छ ।”

त्यसपछि नियमावलीलाई पनि राजपत्रमा प्रकाशित गरिनेछ । अनि मात्र दल दर्ताको लागि परेका निवेदनमाथि सनाखतको काम हुने एक जना सहसचिवले जानकारी दिएका छन् । उनका अनुसार चाहेर पनि छिटो गर्न नसकिने अवस्था छ । छिटो गर्नको लागि यसबीचमा पर्ने तीन दिनको सार्वजनिक बिदाले अप्ठेरो पार्ने पक्का छ । पर्सि शनिबारसँगै आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्रा परेकाले राजधानी उपत्यकामा तीन दिन सार्वजनिक बिदा दिइएको छ ।

त्यसैले नयाँ दल दर्ताको लागि परेका दुई वटै निवेदनमाथिको औपचारिक कार्य अर्को साताको अन्ततिर मात्र सकिने सम्भावना बढेको हो । त्यतिञ्जेलसम्म माधव नेपालतिर लागेका एमाले नेता तथा कार्यकर्तालाई संस्थापन पक्षले तान्ने क्रम फेरि शुरु हुने नेपालनिकट एक जना नेताले जनआस्थालाई बताए ।

उहाँका अनुसार ४ वर्षदेखि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अनिच्छुक अध्यक्ष ओलीले हिजो एकाध घण्टाभित्र मुख्यमन्त्री डोरमणिको राजीनामा, संसदीय दलको नेता छनोट, शाक्यलाई मुख्यमन्त्रीमा नियुक्ति र राति सपथ ग्रहणसमेत गराउन लगाउनुभएको थियो । ‘अप्ठेरो परेपछि उहाँले के सम्म गर्नुहुन्छ भन्ने यो नै गतिलो उदाहरण हो,’ उहाँले बताउनुभयो ।

प्रस्तावित नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी (लोकतान्त्रिक) को नाम गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलासँग बाझिनसक्ने सम्बन्धमा पनि आयोगले आज गहन छलफल गर्दैछ । ऋषि कट्टेलको नाममा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासँग सम्बन्धित मुद्दामा सर्वोच्चले गरेको फैसलामा अर्को पार्टीसँग मिल्दोजुल्दो नाम कोष्ठभित्र राख्न नपाइने भनिएको छ ।

टिप्पणीहरू