नयाँ दुई पार्टी दर्ता हुन कति समय लाग्ला ?

नयाँ दुई पार्टी दर्ता हुन कति समय लाग्ला ?

हिजोदेखि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को अर्को खेमाले दल विभाजनको औपचारिक प्रक्रिया शुरु गरेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर निकटस्थ समूहले नयाँ दल दर्ताको निम्ति छुट्टाछुट्टै निवेदन पेश गरेका हुन् ।

हिजो दिउँसो मात्र सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश जारी गरेकाले सोहीबमोजिम नयाँ दल दर्ताको लागि निवेदन हालिएको हो । क्याबिनेटको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गरे पनि सोबमोजिम नयाँ दल दर्ताको निम्ति आयोगमा नयाँ अध्यादेश प्राप्त हुनैपर्ने बताइन्छ । अध्यादेश राजपत्रमा प्रकाशित भएपछि मात्र आयोगले औपचारिक प्रक्रिया थाल्नेछ । हिजाे अबेर अध्यादेश राजपत्रमा प्रकाशित भएकाे छ ।

अध्यादेश भएर मात्र दल दर्ता गर्न नसकिने आयोगका एकजना अधिकारीले बताएका छन् । उनका अनुसार त्यसपछि नियमावली संशोधन गर्नुपर्ने हुन्छ । नियमावली संशोधनको औपचारिक स्वीकृतिको निम्ति कानुन मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । कानुन मन्त्रालयले स्वीकृत गरेपछि मात्र आयोगले प्रक्रिया थाल्नेछ । स्वीकृत नियमावलीसमेत राजपत्रमा प्रकाशित हुनैपर्छ ।

अध्यादेश र नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्र आयोगले सोबमोजिमको प्रक्रिया शुरु गर्नेछ । यी सबै कार्य गर्न कम्तिमा एक साता लाग्ने आयोग पदाधिकारीहरुले बताएका छन् । एक जना आयुक्त भन्छन्, ‘राजपत्रमा प्रक्राशित नभएसम्म कुनैपनि कानुनले औपचारिकता पाउँदैन । यसअघिका कतिपय अध्यादेश र नियमावली जारी भए पनि राजपत्रमा प्रकाशित हुन नभ्याएकाले कार्यान्वयनमा आउन सकेको थिएन । जारी हुँदैमा कानुन बन्दैन । राजपत्रमा प्रकाशित हुनुपर्छ ।’

यी सबै पक्षलाई केलाउँदा हिजो हालिएको निवेदनबमोजिम नयाँ पार्टी दर्ता हुन कानुनतः बढीमा ३५ दिन लाग्छ । जतिसक्दो छिटो गरे पनि एक साता लाग्ने आयोगको उच्च स्रोतले जनआस्थालाई बताएको छ ।

टिप्पणीहरू