नयाँ एमालेले किताब छाडी के लेला त चुनाव चिन्ह ? « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

नयाँ एमालेले किताब छाडी के लेला त चुनाव चिन्ह ?

प्रकाशित मिति :  ३ भाद्र २०७८, बिहीबार ११:३०


एमाले औपचारिक रुपमा विभाजन भएको दिन हिजो भदौ २ गते बाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्रीको समेत नियुक्ति भएको छ । विगतदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट रहनुभएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राति मुख्यमन्त्री पदको शपथ लिनुभएको हो ।

यता,एमाले विभाजनको औपचारिक प्रक्रिया शुरु भएको सन्दर्भमा गठबन्धनले बाग्मती प्रदेशमा नयाँ सरकारको तयारी थाल्ने सम्भावना बढेको छ । गठबन्धनले नेपालनिकट सात जना सांसद भए पुग्ने भएकाले शाक्यको विकल्प खोज्ने तयारी थालेको छ । त्यस्तो अवस्थामा नेपालनिकट राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने सम्भावना रहन्छ । गुटमा नलागेकै कारण ४ बर्षअगाडि प्रदेश साँसदहरुलाई च्यासलमा थुपारेर मुख्यमन्त्री बन्न नदिएको र अहिले पार्टी फुट्ने भएपछि त्यहीँभित्र बिभाजन ल्याउन अरुण र राजेन्द्रलाई समेत जिल्याएर अष्टलाई एम्बुस थापिएको भन्नेहरु धेरै छन् । पन्चायतकालमै झापासमेत गएर संगठन बनाउने अष्टका योगदानप्रति साँच्चिकै सम्मान थियो भने एक मात्र महिला मुख्यमन्त्री बन्ने बाटो पहिले नै किन छेकियो र भूतले खाजा खाने बेला मध्यरात हतारमा शपथ खुवाइयो भन्नेहरु पनि यसवीच भेटिएका छन् ।

“नेपाल समूहमा रहेका नेताहरुले एमालेको जनसंगठनहरुमध्ये विद्यार्थी,महिला,पेशागत र युवाका धेरैजसो आफूतिर रहेको बताएका छन् । “

उता,अन्तिम क्षणसम्म पार्टी एकता हुन्छ कि भनेर लागिएको नेता नेपालनिकट नेताहरुले समेत बताएका छन् । यसअघि पार्टी एकताको लागि विश्वास गरेर कार्यदलमा पठाइएका सबै नेताले नेता नेपालको साथ छाडेका छन् । अन्तिम क्षणसम्म सँगै रहनुभएका भनिएका घनश्याम भुसाल र रघु पन्तसम्मले नेपाललाई साथ दिएको देखिएन ।

तर,नेता वामदेव गौतमनिकट भएर एकता अभियानमा लाग्नुभएका हरि पराजुली भने हिजो नेपालतर्फ जोडिनुभएको छ । गौतमले पनि अध्यक्ष ओलीको मुख्य पार्टीबाट राजीनामा दिएर नेपालले दर्ताको लागि हिजो निर्वाचन आयोगमा पेश गर्नुभएको प्रस्तावित नेकपा एमाले समाजवादीमा आवद्धता जनाउने बताउनुभएको स्रोतले जानकारी दिएको छ । यसअघि मंगलबार भएको नेपालपक्षीय सांसदहरुको भेलामा गौतम पत्नी सांसद तुलसा थापाको सहभागिता थियो ।

“वामदेव गौतमनिकट भएर एकता अभियानमा लाग्नुभएका हरि पराजुली भने हिजो नेपालतर्फ जोडिनुभएको छ । गौतमले पनि अध्यक्ष ओलीको मुख्य पार्टीबाट राजीनामा दिएर नेपालले दर्ताको लागि हिजो निर्वाचन आयोगमा पेश गर्नुभएको प्रस्तावित नेकपा एमाले समाजवादीमा आवद्धता जनाउने बताउनुभएको स्रोतले जानकारी दिएको छ ।”

नेता नेपाल नेतृत्वको प्रस्तावित नेकपा एमाले समाजवादीले शुरुमा चुनाव चिन्ह किताब लिने मनशाय राखे पनि पछि छाडेको बताइन्छ । किताब चिन्हबारे आयोगमा परामर्श हुँदै गर्दा त्यसको छाप समेत बनाइएको थियो । तर, भोलि दिन भित्ते लेखनलगायत धेरैतिर निकै अप्ठेरो र हेर्दा आकर्षक समेत नहुने भएपछि आयोग पुगेको टोलीले किताब चिन्ह नलिने निर्णय गरेको छ । आफूहरुले किताब चिन्ह प्रस्ताव नै नगरेको नेतृ रामकुमारी झाँक्रीले बताउनुभएको छ ।

हिजै दिउँसो भएको एमाले समाजवादीको छलफलमा बरु जीवन राईको कलम चिन्ह ठीक भनिएको थियो । त्यस्तो अवस्थामा राईको नेकपा एकीकृतसँग पार्टी एकता गरेर भए पनि किताबभन्दा कलम चिन्ह लिनु उपयुक्त भएकोमा सहमति जनाइएको थियो । त्यो पनि नभएमा आगामी दिनमा अर्को कुनै चिन्ह लिने निश्कर्ष निकालिएको बताइन्छ ।

नेता नेपालसँगै आयोग पुग्नुभएकी झाँक्रीले भन्नुभयो, ‘आगामी चुनावको मुखमा चुनाव चिन्ह रोज्ने बेला नयाँ चिन्ह लिने सहमति गरियो । किताब चिन्ह प्रस्ताव नै गरिएको थिएन । पछि चुनावको बेलामा चिन्ह छान्ने र केही भएन भने अर्को कुनै क्रियटिभ चिन्ह लिनेमा सबै जना सहमत भइयो ।’

हिजो एमाले समाजवादी पार्टी दर्ताको लागि टोली निर्वाचन आयोग पुग्दा प्रमुख आयुक्त र आयुक्तहरु कोही पनि छलफलमा सहभागी नभएको बताइन्छ । टोलीका एकजना सदस्यले भने, ‘सचिव मात्र उपस्थित थिए ।’

नेपाल समूहमा रहेका नेताहरुले एमालेको जनसंगठनहरुमध्ये विद्यार्थी,महिला,पेशागत र युवाका धेरैजसो आफूतिर रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !