​विदेश पुगेर नेतामाथि बक्सिङ

जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैँले लगेका मान्छेबाट कुटाइ खानुप¥यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुनी व्यवस्था भएको देशमा !

उत्तर कोरियाका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औँ जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो । जसमा फरक–फरक तीनवटा प्रतिनिधि मण्डल थिए । पुराना पत्रकार मञ्जुरत्न शाक्यको परिवारबाट चार जना थिए भने माणिकलाल दम्पती अर्को समूहमा थियो । शंकर भारती नेतृत्वको अर्को तीन जनाको समूह थियो । अनि झगडा प¥यो विप्लव समूहका अशोक सुवेदीले नेतृत्व गरेको ६ जनाको समूहमा । सुवेदीको टिममा त्रिविमा इतिहासका प्रा.डा. सुरेन्द्र केसी र हस्तबहादुर केसीसँगै थप तीनजना थिए ।

काठमाडौंबाट सांघाई गएर त्यहाँबाट रेलमा सुवेदी समूह बेइजिङ पुग्यो । बेइजिङबाट चैत ३१ गते बिहीबार उत्तर कोरियाको राजधानी टेकेको टोली पुग्नासाथ आपसी झगडामा उत्रिएको हो । वैशाख ७ गतेसम्म प्योङयाङमा रहँदा विप्लव समूहका कटवाल, शाही र भण्डारीले आफ्नै नेता अशोक सुवेदीमाथि हात हालेका हुन् । विप्लव समूहबाट क्रान्ति गर्ने भन्दै घाँटीसम्म ट्याट्यु खोपेका तिनले विदेशमा नेपालको बेइज्जत गरेपछि आइन्दा  भने आगामी दिनमा उत्तर कोरियाले नेपालबाट प्रतिनिधि लाँदा विस्तृत सोधखोज गरेर नरेशसम्पत्ति शाक्यजस्ता फटिचरहरुलाई सहभागी नगराउने ललितपुरस्थित उत्तर कोरियाली दूतावासले जनआस्थालाई बतायो ।

आफ्नै प्रतिनिधिमण्डलका नेतामाथि कुटपिट गर्नुपर्ने खास कारणचाहिँ पैसाको लेनदेन रहेको बुझिएको छ । सबै सहभागीबाट नेपाल कोरिया लेखक तथा पत्रकार संघका नाममा जनही तीन लाख रुपैयाँ उठाइएको रहेछ । भिसाका लागि थप २ सय डलर पनि लिएको बताइन्छ । कोरिया पुगेपछि जम्मा डेढ लाख रुपैयाँ जति मात्र बाटो खर्च परेको र भिसा शुल्क नलागेको थाहा पाएपछि कुटपिटमा उत्रिएका रहेछन् । हाम्रो पैसा फिर्ता दिन्छस् कि यहीँ मारिदिऊँ भन्दै अशोक सुवेदीलाई बाथरुममा लगेर युवाले मुड्की हानेको पार्टीमा उजुरी छ ।

 उत्तर कोरिया पुगेका ४५ देशका पाहुनालाई आयोजकले वनभोज लगेको थियो । त्यहाँ पेय पदार्थ निःशुल्क थियो । गोर्खालीले भेटेको निःशुल्क रक्सी, त्यसमाथि नेपालमा जनयुद्ध गर्ने गुरिल्लाहरू । रक्सीमै पौडी खेलौँला झैँ गरेर पिएपछि आपसी झगडामा उनीहरू उत्रिएका हुन् । प्योङयाङबाट फर्कंदा बेइजिङकोे विमानस्थलमा सोही समूहका एक व्यक्तिले अभद्र व्यवहार देखाएपछि चिनियाँ सुरक्षाकर्मीले १५ मीनेटजति सोधपुछ गरेको उजुरी पनि कोरियाली दूतावासले पाएको स्रोतको दाबी छ ।

उत्तर कोरिया आफैँमा अत्यन्त कडा कानुनी प्रणाली भएको देश, त्यसमाथि त्यतिको अभद्र व्यवहार गर्दा सोझै लगेर जेल कोच्न सक्ने थियो । तर, आफ्ना नेताको जन्मजयन्तीका अवसरमा बोलाइएका पाहुनालाई थुन्नु पनि भएन । रक्सी त सबैले खान्छन् तर गोर्खालीले चाहिँ अपच हुने गरी खाएर आपसी काटमार गरेपछि खै विप्लव कामरेडको अनुशासन ?

टिप्पणीहरू