दार्चुलामा भारतीय ज्यादतीको छानबिन गर्न म्याद थप

दार्चुलामा भारतीय ज्यादतीको छानबिन गर्न म्याद थप

गृह मन्त्रालयले महाकाली नदीमा तुईनको लठ्ठा भारतीय एसएसबीको जवानले फुस्काएपछि बेपत्ता भएका जयसिंह धामी प्रकरणको सत्यतथ्य बुझ्न गठित छानबिन समितिको म्याद पुनः सात दिन थपेको छ । शुरुमा १० दिनको म्याद दिइएको उक्त समितिलाई यसअघि पनि सात दिन थपिसकिएको छ ।

समितिको म्याद हिजो भदौ १ गते सकिएको हो । आज भदौ २ गतेदेखि सात दिन थपिएको गृह मन्त्रालयको पत्रमा उल्लेख छ ।

साउन १५ गतेको उक्त घटनाको छानबिन गर्न सरकारले लगत्तै समिति गठन गरेको थियो । स्थलगत भ्रमण सकिएको,थप अनुसन्धान र तथ्य संकलन जारी रहेको एवम् प्रतिवेदन लेखन कार्य समेत बाँकी रहेको भन्दै म्याद थप्न समितिले अनुरोध गरेपछि गृहले मन्त्रीस्तरीय निर्णयबाट म्याद थपेको हो ।

पाँच सदस्यीय समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमलाई राखिएको छ । अन्य सदस्यमा नेपाल प्रहरीका नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, अनुसन्धान विभागका निर्देशक हुतराज थापा,सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

टिप्पणीहरू