एमालेभित्र अब निर्वाचित हिटलर जन्मिन्छ

एमालेभित्र अब निर्वाचित हिटलर जन्मिन्छ

– अजम्बर काङमाङ राई, माओवादी केन्द्रका नेता

अशोक राईहरुसँगै एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टीमा गएका अजम्बर राईले ०७५ मा उक्त पार्टी परित्याग गरे । त्यसबेला एमाले र माओवादीबीच एकता हुन लागेको थियो । त्यसैले एमालेमा पाएको अपमान सम्झिँदै माओवादी भएर एकीकृत पार्टीमा काम गर्ने उद्देश्य राखे । पुस २३ मा सर्वोच्च अदालतले एकता भंग नगर्दासम्म उनी नेकपाको पोलिट्व्युरो सदस्य रहे तर एमाले र माओवादी अलग–अलग भएपछि फेरि माओवादी हुन पुगे । उनले बाल्यकालदेखि काम गरेको, राजनीतिक जीवनका अनेकन दुःखसुख काटेको पंक्तिचाहिँ एमालेमै छ । अहिले एमाले विभाजनको सम्मुखमा छ । जीवनको लामो समय एमाले भएर बिताएका उनले अहिले माधव समूहतिर देखिएका केही विचलनकारीलाई भविष्यमा समेत भर गर्न नसकिने पात्रका रुपमा ठम्याएका छन् ।

एमाले विवादलाई कसरी हेर्नुभएको छ ?

– त्यति धेरै सैद्धान्तिक, राजनीतिक कुराले विवाद उत्पन्न भएको होइन । सांगठानिक विषयहरुसँग गाँसिएका केही व्यक्तिको व्यवस्थापनको मुद्दा मुख्य रुपमा आएको छ । माधव कमरेडहरुलाई ओलीले धेरै नै पेलेकोले कार्यकर्ता र जनस्तरसम्ममा पनि उहाँहरुप्रति सहानुभूति देखिन्छ । तर, राजनीतिक दृष्टिले नियाल्दा यसको कुनै आकर्षण छैन । अनि, माधव कमरेडको टीमभित्र ठ्याक्कै यो कदमका साथ अगाडि जाने भन्ने विषयमा मतैक्यता देखिएन । केपी त आफूखुशी जे मनलाग्यो, त्यो गर्दै जाने बानी नै पर्नुभएको छ । त्यसैले उहाँका निम्ति पार्टी, विचार समूह वा आफ्ना–पराई भन्ने कोही होइनन्, आफैँ आफ्नो मनको राजा हो । तर, माधव कमरेड विधि भन्नुहुन्छ, पद्धति भन्नुहुन्छ, सामूहिकतामा विश्वास गर्नुहुन्छ । त्यसो भन्दाभन्दै वा गर्दागर्दै जुन कदममा अगाडि बढिसक्नुपर्ने थियो, त्यसो गर्न नसक्नुमा आफूभित्रैका फरक मतका साथीहरु कारक बनेको देखिन्छ ।

मान्छेहरु ‘देब्रे खुट्टा चलौँ कि दाहिने खुट्टा’ भनेर धर्मराउनु एउटा कुरा हो । तर, माधव कमरेडसँग ‘यहाँबाट जाँदै नजाऔँ’ भन्ने लाइनका जो साथीहरु छन्, ती सबभन्दा खतरनाक हुन् । ती साथीहरु आज त खतरनाक हुन् नै, उनीहरुले भोलिका अन्तरविरोधहरुमा माधव कमरेडलाई होस् कि केपी कमरेडलाई नै किन नहोस्, यसरी नै बीचमा आएर यता न उता बनाइदिने अवस्था हुन्छ । उहाँहरु भोलिको संसदीय राजनीतिमा आफू, आफ्नो क्षेत्र र प्राप्त अवसरहरुको सुरक्षाका लागि लोभिएको प्रष्टै छ । आफू क्रान्तिकारी भइने, नागरिकले सुख, सुविधा पाउनेभन्दा पनि हाताहाती अवसर लिइहाल्ने चिन्तनले बढी डेरा जमाउन पुग्यो ।

माधव कमरेडलाई मात्र हैन, बिरामी अवस्थामा रहनुभएका कमरेड जेएन (झलनाथ) लाई पनि यो प्रवृत्तिले सुख दिइरहेको छैन । मलाई बढी चिन्ता त्यहाँ छ । किनभने, माधव कमरेड हट्टाकट्टा हुनुहुन्छ । ढुल्मुलिएका साथीहरुलाई त्यहीअनुसारले जवाफ दिँदै हुनुहुन्छ, आफैँ रातदिन तल्लिन भएर चुनौतिहरुको सामना गर्दै हुनुहुन्छ । तर, बिरामी हुनुभएका जेएनलाई आफ्नो लाइनमा ल्याउनका लागि कहिले नक्कली वक्तव्य आइदिने (यद्यपि यो कुरा उहाँबाटै पुष्टि भइसकेको छैन), हुँदाहुँदा दिल्ली पठाएर अस्पतालमै घेरा हाल्न लगाउने काम भइरहेका छन् । यदि उहाँलाई पार्टी विवादकै सन्दर्भमा घेरा हालिएको हो भने त्यो राम्रो कुरा भएन । यदि कुरा त्यस्तो हो भने त्यो कामलाई अमानवीय भन्नुपर्छ ।

अहिले तपाईं एमालेमै हुनुभएको भए के गर्नुहुन्थ्यो ?

– निसन्देह म जेएन–माधव कमरेडसँगै रहन्थेँ ।

तपाईंकै छिमलका घनश्याम, योगेशजस्ता नेता अहिले यता कि उता भन्नेमा पुग्नुलाई के भन्नुहुन्छ ?

– ‘होटेलमा उधारो चिया खाएको मान्छे गिलास बज्यो भने तर्सिन्छ’ भनेजस्तो हो क्या † हिजो उहाँहरुले मालेमा काम गर्नुभयो । त्यसबेला लोकप्रिय हुँदाहुँदै पनि चुनावमा जनताले अस्वीकार गरेको भय अहिले पनि छ । उहाँहरुले विभाजनको उधारो चिया पहिल्यै पिएर हिँडेको हो । अहिले पनि गिलास बज्दा साहुले बोलायो कि भनेर डर मानिरहनुभएको छ । अर्काे कुरा, हिजो निष्ठा, सिद्धान्त, कार्यक्रमको लागि समर्पित भएरै लागेकोमा सत्तासुख प्राप्त गरेपछि त्यसको चुम्बकीय शक्तिले उहाँहरुलाई तान्यो । ढल्किँदो उमेरमा आत्मरक्षाका लागि चालेको कदम पनि हुनसक्छ । फेरि उहाँ–हामीहरुको पुस्ता भूमिकाका हिसाबले अलिक ठगिएको पनि भन्छु ।

हाम्रो उमेरमा अघिल्लो पुस्ताका कमरेडहरुले पार्टी जिम्मेवारीदेखि राजकीय सुविधाहरु सबै भोग गरिसक्नुभएको थियो । तर, हामीतिर आउने बेलामा त्यही पुस्ताले ठाउँ ओगट्यो । साथीहरु जहाँको त्यहीँ हुनुुभयो । एकाध साथीले मन्त्री खाए तर सिंगो पुस्तालाई हेर्दा उहाँहरु अझै पनि संघर्ष गर्दै हुनुहुन्छ । सुख र सुविधाका यी कथाहरुले एउटा निष्ठावान कम्युनिष्ट कार्यकर्तालाई जतिबेला पनि गिज्याइरहेको हुन्छ । किनभने, हामी आफ्नो सत्तासुखका लागि लडेका थियौँ कि जनताको सुख र समृद्धिका निम्ति लडेका थियौँ ? मूलप्रश्न यहाँ छ । अहिले जेएन–माधव कमरेडहरुले पार्टीमा विधि, पद्धति, मुलुकमा संविधानको रक्षा, राजनीतिक स्थिरता भनेर विद्रोहको झण्डा बोक्दै हुनुहुन्छ । उहाँहरुका कतिपय सारथीहरु ‘विधि, पद्धति बनाउँदै जाऔँला, अहिलेचाहिँ मिलाएर खाऔँला’ भन्दै हुनुहुन्छ ।

एमाले धारा नै विखण्डित हुन्छ, विसर्जित हुन्छ भन्ने तर्क पनि गरिँदैछ । के माधव नेपालहरुले त्यो जोगाउनु होला ?

– पाँचौं महाधिवेशनपछि एमालेको राजनीतिक–वैचारिक कामहरु अस्तव्यस्त भए । जवजको विस्तारित रुपमा जाने भनेर कार्यकर्तालाई सिकाउनु, चुनावमा पनि एमाले र चुनाव चिह्न सूर्य हौँ भनेर जनतामा जानुबाहेकको अरु काम यसले गरेन । त्यो पंक्तिले ‘एमालेकै सूर्य, सूर्य भनेकै जवज’ भन्ने मानसिकता पाल्यो । यसले त्यहीअनुसार राजनीतिक–वैचारिक कामहरु गर्दै गएको भए एउटा उन्नतस्तरको कम्युनिष्ट पार्टी, संस्कृति र संस्कार हुन्थ्यो । एमालेमा संस्कारी कम्युनिष्ट वा वैचारिक अभ्यास गर्ने थुप्रै नेता–कार्यकर्ता पनि छन् । अहिलेको ध्रुवीकरणमा देखिँदैछ, जो ‘एमालेकै सूर्य, सूर्य भनेकै जवज’ भन्ने सतही चेतनाले युक्त छन्, उनीहरु ‘आइलभ यु केपी बा’ भन्दै छन् । जो कम्युनिष्ट विचार, संस्कृति र आचरणले युक्त छन्, तिनीहरु माधव कमरेडहरुसँग देखिएका छन् । त्यसैले माधवले अर्को पार्टी बनाउनुभयो भने कम्तिमा त्यहाँ वैचारिक–राजनीतिक अभ्यास हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

 केपीसँग भएका केही गतिला मान्छेहरु पनि किन अहिले केही गर्न सकिरहेका छैनन् ?

– केपीसँग भएका केही ‘वैचारिक’ भनिएका साथीहरु पनि वैचारिक आधारमा, कार्यशैलीगत कारणले त्यहाँ हुनुभएको होइन । आफ्नो समूह र संगठनभित्र प्रवेश गर्न मिल्ने तर आफूले चाहेको बेला स्वतन्त्रतापूर्वक हिँड्न नमिल्ने स्थितिमा उनीहरु छन् । अर्थात्, उनीहरु त्यहाँभित्र बन्दीको अवस्थामा छन् ।

केपीले पार्टीलाई कहाँ पु¥याउनुहोला ?

– विधानलाई संशोधन गरेर जसरी अध्यक्ष निर्वाचित हुने र बाँकी सबैलाई अध्यक्षले छान्ने व्यवस्था गर्नुभयो, यसले उहाँलाई लोकतान्त्रिक भनिरहन दिँदैन । हिजो नवौँ महाधिवेशनमा जवजको उच्चतम प्रयोग भन्दै लोकतान्त्रिक प्रणालीअन्तर्गत मतदानबाट निर्वाचित भएर उहाँ अध्यक्ष हुनुभयो । आज प्रतिकूलता हुनासाथ (वान म्यान डिक्टेटरसीप) अधिनायकवादी हुनेतर्फ लाग्नुभयो । यो कुराले एमालेभित्र अब निर्वाचित हिटलरको जन्म गराउँछ ।

हिजो कम्युनिष्टमा फर्किनका लागि संघीय समाजवादी त्याग्नुभयो । त्यो पार्टी अहिले पनि जनता समाजवादी पार्टीका नाममा राजनीतिक मूलधारमा आइसकेको छ । ती नेताहरुलाई के भन्नुहुन्छ ?

– धु्रवीकरणमा एउटा चरण त आएको छ । मूल मुद्दाबाट उहाँहरु बृहत्तर मुद्दामा जानुभएको छ । मधेसी जनअधिकार फोरम पनि ‘मधेसी’ हटाएर अलिक बृहत रुपमा आएको छ । पछि ‘फोरम’ पनि हटाएर समाजवादी पार्टीका रुपमा आयो । त्यहाँ मधेस आन्दोलनबाट स्थापित भएको पार्टीले बृहत्तर राष्ट्रिय स्वरुप ग्रहण गर्दैछ । त्यसमा पनि विभिन्न कम्पोनेन्ट छन् । जस्तो कि, उपेन्द्र यादवहरुको मधेस आधारित धार, अशोक राईहरुको जनजाति बहुल पहिचानवादी धार र त्यहीँभित्र दुईतिरैबाटै विश्रृंखलित भएर आएका डा.बाबुराम भट्टराई पनि मिसिनुभएको छ । त्यहीँभित्रबाट बृहत्तर मार्ग खोज्नु नै उत्तम हुन्छ । त्यो मार्ग खोज्ने कुरामा उहाँहरु लचकदार पनि हुनुहुन्छ भन्ने लाग्छ ।

उहाँहरुलाई माधव नेपालसँग सहकार्य गर्न सुझाव दिनुहुन्न ?

– परिस्थिति त्यो बिन्दुमा अलिक पुगिसकेको छैन ।

माओवादीमै काम गर्नुहुन्छ कि माधवतिर फर्किनुहुन्छ ?

– नेकपा (माओवादी केन्द्र) ले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गरिरहेको छु । अलिहे यता–उता भन्दा पनि मूल राष्ट्रिय कार्यभार, कम्युनिष्ट आन्दोलनलाई समृद्ध र एकीकृत बनाउनेजस्ता मुद्दाहरु अगाडि आएका छन् । यसमा हामी निरन्तर काम गर्दै छौँ । त्यसो हुँदा भोलि माधव कमरेडहरुसँग भेटिने ठाउँमा पुगिन्छ नै । त्यसैले म माओवादी केन्द्रमै रहन्छु ।

एमाले कत्तिको ‘मिस’ गर्नुहुन्छ ?

– कतैबाट आफ्नो घरमा आएर दुई–चार दिन बसेको कुकुरलाई त कति दिनसम्म बिर्सिन सकिँदैन भने एमाले (०४७ अघिको मालेदेखि नै) भनेको त मेरो जीवनका अनेकन आरोह–अवरोहसँग जोडिएको संस्था हो । त्यहाँ कति धेरै माया, प्रेम, झैँ–झगडा, उतार–चढाव व्यहोरियो । ती सब त्यहीँ छन्, तर म त्यहाँ छैन । त्यसैले ‘मिस’ त हुन्छ नि !

टिप्पणीहरू