अफगान राष्ट्रपतिको अचम्मको पलायन

अफगान राष्ट्रपतिको अचम्मको पलायन

– एआईजी नारायणबाबु थापा

अमेरिकालगायत नाटो सेनाले तालिवानलाई सत्ताच्युत गर्दै कब्जा जमाएको करिब २० वर्षपछि अफगानिस्तान पुनः तिनै कट्टपन्थीको नियन्त्रणमा गएको छ । बीस वर्षको दौरान विदेशी सेना, अफगान सेना तथा प्रहरी, नागरिक, तालिवान र उसको गठबन्धन समूह गरी करिब २,४२,०६२ जनाको ज्यान गइसकेको छ । जलालावादमा सरकारी सेनाले कुनै प्रतिरोधबिनै हतियार बिसाएसँगै यसको मनोवैज्ञानिक असर अन्य स्थानमा पनि परेको र काबुल सर्लक्कै तिनको हातमा गएको हो । राष्ट्रपति असरफ घानीको शनिबारै देशबाट पलायन र छिमेकी देश उज्बेकिस्तानमा शरण लिएको सन्दर्भले यसलाई पुष्टि गरेको छ । तालिवानले नब्बे दिनभित्र कब्जा गर्छ, यति नजिक आइपुगे भन्ने सबै अनुमान गलत सावित भएका छन् । अब तालिवान सरकार गठनको चरणमा प्रवेश गरेको छ ।

२० वर्षअघि जुन शक्तिकेन्द्रहरू मिलेर अफगानिस्तानमा तालिवानलाई सत्ताबाट बेदखल तुल्याए अहिले तिनैले आफ्ना भएभरका कर्मचारी र सेनालाई स्वदेश फर्काउन हतार गरिरहेको स्थिति छ । यी सबै गतिविधिले के देखाएको छ भने शक्ति राष्ट्रलाई अफगानिस्तानको भविष्यसँग कुनै चिन्ता छैन, निर्दोष नागरिकको जीउ धनको कुनै जिम्मेवारी छैन र आफैंले सत्ता बदली गर्दै केही हदसम्म उदार प्रजातन्त्रको दुहाई दिएर कथित स्थायित्व ल्याएको र अहिले अलपत्र रूपमा छाडेको प्रति पश्चाताप पनि छैन ।

धेरै राष्ट्रले आफ्ना कूटनीतिक नियोग धमाधम बन्द गरेका छन् र आगामी हप्ता दिनभित्र कमजोर क्षमता भएका मुलुकहरू बाहेक सामथ्र्यवान राष्ट्रले सवै उद्धार पूरा गरिसक्नेछन् । कम्बोडियामा वामपन्थी खमेररुजहरूले राजधानी नोम्पेन्ह कब्जा गर्नै लागेको बखत १२ अप्रिल १९७५ मा अमेरिकन राजदूत जोन गुन्थर डिनले अमेरिकन झण्डा पोको पार्दै उद्धारपूर्ण यात्रा तय गरेका थिए र पछि खमेर जल्लादहरूलाई कम्बोडिया सुम्पेको स्मरण गरेका थिए । यही नियति काबुलमा दोहो¥याउन कूटनीतिक नियोग तयारी अवस्थामा छन् ।

राष्ट्रपति असरफ घानी र अफगान सरकारी सेनाले प्रतिरोध गर्ने अठोट मिथ्या सावित भएको छ । अर्बौं डलर लगानी गरेर बनाइएको अफगान सेना पुरै असफल भई आधुनिक हतियार तालिवानको स्वामित्वमा पुगेको छ । विचल्ली पारिएका नागरिकको हारगुहारलाई कसैले सुनेको छैन र सुन्ने पनि छैन । मै हुँ भन्ने राष्ट्र र तिनका मिडिया जो हिजो अमेरिकालगायत पश्चिमा सेनाको आक्रमणपश्चात् दैनिकजसो बहादुरीका समाचार एवं फुटेजहरू निर्धक्क प्रशारण गर्थे, आज तिनै तालिवान यहाँ पुगे, यति प्रान्त कब्जा गरे, काबुलतर्फ बढे, राजधानी कब्जा गरे, यति शरणार्थी विस्थापित भए भन्ने समाचार निर्लज्ज तवरमा पस्किरहेका छन् ।

प्रश्न अब तालिवानले अफगानिस्तान कब्जा गर्छ भन्ने भन्दा पनि तालिवान सत्तामा आएपश्चात् के हुन्छ भन्ने हो । तालिवान यसरी तेज गतिमा सफल हुनु, अमेरिका र बेलायतले हात झिक्नु, सरकारी सेना पूरै आत्मसमर्पण गर्दै जानुका कारण के हुन् ? कसले सघाइरहेको छ तालिवानलाई र ढाडस दिइरहेको छ ?

बुझिने अन्तरवस्तु के हो भने तालिवानको सत्ता कब्जाले मध्य एसियामा मात्र असर पार्ने नभई विश्व सुरक्षा व्यवस्थामै यसको भयानक असर हुनेछ । अमेरिका, बेलायत र पश्चिमाहरू गैरजिम्मेवार हुनु, रुस र चीन चुपचाप बस्नु, पाकिस्तानभित्र भित्रै रमाएर मिठाई बाँड्नु र भारत आफ्नो कमजोर भूमिकाप्रति उदास र चिन्तित हुनुसँग मात्र यी समस्या सीमित भएर बस्दैनन् ।

तत्कालको लागि छिमेकी देशमा शरणार्थीहरूको ओइरो लाग्ने छ, आन्तरिक शरणार्थीको अवस्था दयनीय बन्दै छ, बालबच्चा, महिला र वृद्धहरू दयाको पात्रमा परिणत हुनेछन्, काबुल विमानस्थल कब्जापश्चात् अन्तर्राष्ट्रिय मानवीय सहयोगको माध्यमसमेत टुट्नेछ । सरसर्ती हेर्दा स्कुल कलेज बन्द हुनेछन्, महिलाहरू बुर्का लगाउन र पुरुषहरू झ्याम्म दाह्री पाल्न बाध्य हुनेछन् । हामीले ब्याख्या गर्दै आइरहेको र अभ्यास गरेको मानवअधिकार कुण्ठित हुनेछ ।

यति मात्र नभई रेडियो, टिभी प्रशारणकै नामकरण सरिया घोषणा गरेको तालिवानले आमनागरिकमा अझ कडाइका साथ मुस्लिम सरिया कानुनको फर्मान जारी तत्कालै गर्नेछ । अझ मुख्य पक्ष बीस वर्षसम्म पश्चिमा आडमा बनेको सरकार, कर्मचारी, स्थानीय समर्थक एवं नेतृत्व, तालिवानविरुद्ध लडेका सैनिक एवं प्रहरीलगायत सरकार समर्थक सबैसँग बदलाको भावनाले हिसाब किताब शुरु हुनेछ । अन्ततः सबै तालिवान सत्ताको समर्थक नबनी बाँच्न नसकिने स्थिति पैदा हुनेछ । केही हदसम्म प्रजातन्त्र, अभ्यास गरिरहेको नागरिक स्वतन्त्रता, उन्मुख भैरहेको उदार सोंच सवै सवै धुमिल बन्दै जानेछन् र अन्ततः पूरै अन्योल एवं दर्दनाक स्थितिमा अफगानिस्तान प्रवेश गर्नेछ ।

अफगान समस्या अफगानको मात्रै र छिमेकीको मात्रै भएर बस्ने छैन । विश्वमा कुनै बेलाको सर्वशक्ति अर्थात् भारत उपमहाद्वीपमा लामो समय शासन गरेको बेलायत, सोभियत संघ र अहिलेको महाशक्ति अमेरिका, सबै किन तालिवानसँगको युद्धमा पराजित भैरहेका छन् ? शक्ति राष्ट्रहरू प्रजातन्त्र बहालीको दुहाई दिँदै कुन उद्देश्य पूरा गर्न हस्तक्षेप गर्छन् र किन साँचो प्रजातन्त्र मौलाउन नपाउँदै वीचैमा अलपत्र छाडेर पन्छिन्छन् ?

बोइङ ७०७ बीचमै इञ्जिनमा आगलागी भए पनि मर्मतपश्चात् मस्को उत्रिएका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको महत्वपूर्ण प्रयासपश्चात् विशाल धनराशि लगानी गर्दै आइरहेको भारत पछिल्लो घटनाक्रमबाट चिन्तित भइरहेको देखिन्छ । खासगरी काश्मिर समस्यालाई लिएर तालिवानको रवैया मुख्य चिन्ताको विषय हुनेछ । सन् १९९९ मा काठमाडौंबाट उडेको इण्डियन एअरलाइन्सकोे विमान भारतीय जेलमा रहेका मसुद अजहरलगायतका आतंककारीलाई कान्दाहारमा लगेर तालिवान सरकारसामु सुम्पनुपरेको बाध्यात्मक तीतो यथार्थतालाई भारतले कहिल्यै भुल्ने छैन ।

दक्षिणी सीमा र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा थप कडाइ गर्नु जरुरी देखिन्छ । नेपालीहरू विभिन्न कम्पनीमार्फत अफगानिस्तानमा कार्यरत छन् । यसबीच विभिन्न पश्चिमा कम्पनीमार्फत गएका नेपाली र ब्रिटिश सेनामा कार्यरत गोरखा पल्टनका जवानसमेत मारिएको स्थिति छ । यतिखेर मूलतः विभिन्न रोजगारका लागि अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धारको प्रश्न उठिरहेको छ । आफ्ना नागरिकलाई तालिवानले काबुल कब्जा गर्नुअगावै सकुशल उद्धार गर्नेतर्फ सरकारले सबै उपाय अवलम्बन गर्नुप¥यो, त्यसमा ढिलाइ भएको छ ।

टिप्पणीहरू