के.पी. ओलीभन्दा देउवा अब्बल नै हुन् त ?

के.पी. ओलीभन्दा देउवा अब्बल नै हुन् त ?

-देवराज भट्ट

पूर्वप्रधानमन्त्री के.पी.शर्मा ओलीभन्दा प्रधानमन्त्री शेरबहादुर देउवा हरेक दृष्टिले अब्बल नै हुन् । किनभने उमेरमा देउवा ओलीका दाइ नै ठहरिन्छन् । पदीय भोगाईका दृष्टिले समेत देउवा २०४८ सालमा नै गृहमन्त्री भएका थिए । के.पी. ओली २०५१ सालमा बल्ल गृहमन्त्री भएका हुन् ।

त्यसपछिको विभिन्न कालखण्डमा पनि देउवा पटक–पटक प्रधानमन्त्री भए । के.पी. मन्त्री मात्रै भइरहे र पहिलो पटक २०७२ त्यसपछि २०७४ मा गरी दुई पटक मात्र प्रधानमन्त्री भएका छन् । देउवा हाल समेत पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । अझ देउवाका ज्योतिषको कुरामा विश्वास गर्ने हो भने थप दुई पटक प्रधानमन्त्री बन्ने ग्रह नक्षत्र जुरेको छ भनिन्छ । अर्कोतर्फ हालको राजनीतिलाई हेर्दा ओलीको भविष्यमा प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको देखिन्छ । यस्ता दृढ इच्छाशक्ति,दूरदर्शी र दमदार नेतृत्व क्षमताका धनी तथा ज्योतिषीय विद्याका पारखी देउवा ‘दाइ’ के.पी. ‘बा’ भन्दा अलग होइनन् त ?

आफैँ छिँडीमुनिका केही सीमित आसेपासे,हरुवाचरुवा,धाईसुसारे प्रकृतिका पालितपोषित कार्यकर्ताले ‘ओली बा’ भनेर फुर्काए तापनि सम्पूर्ण काँग्रेसीजनको देउवा दाइ भएजस्तै ओलीचाहिँ सम्पूर्ण एमालेको बा हुन सकेनन् । यदि ओलीले सम्पूर्ण एमालेको ओली बा हुन सकेको भए दुई तिहाई बहुमतका साथ सत्ताको शिखरमा बिराजमान भएका उनलाई एक चौथाईभन्दा पनि कम सांसद संख्याको बलमा जोडजामतन्त्रमा जति माहिर भए पनि देउवा दाइले हनुमन्ते खोलाको तीर (किनाराबाट) बालकोट अर्थात ‘शीरबाट तीर’ मा पुर्याउन सक्ने थिए त ?

ओली बाको बाँदरे प्रवृत्तिभन्दा देउवा दाइको ब्वाँसे प्रवृत्ति नेपालको राजनीतिमा बढी प्रभावकारी ठहरिन आएको छ ।

अत्यधिक दम्भ र अहंकारका कारण ओली बाले आफ्नै पोल्टाको समेत सम्हाल्न सकेनन् भने देउवा दाइले ओली बाको पोल्टाको समेत खोसेर धोबीखोलाको शीर बूढानीलण्ठदेखि सत्ताको शीर अर्थात् सिंहदरबार र बालुवाटार कब्जा गरे ।

विगतमा पनि देउवा दाइ र ओली बा का दुवै टिम (दल) बीच मुलुक लु्ट्ने र बर्बाद गर्ने व्यापक दोहोरी र प्रतिस्पर्धा हुँदै आएको सबैका सामुन्ने प्रष्टै छ । सांसद खरिद बिक्री,महाकाली सन्धि,सुरासुन्दरी काण्ड,लाउडा,धमिजा काण्ड हुँदै यति होल्डिङ्सलाई मुलुकको जिम्मा लगाउने,ललिता निवास भूमाफिया प्रकरण,ओम्नीले गरेको कात्रोको व्यापारदेखि जाँदाजाँदै गरिएका झापाको टी इस्टेट बिक्री प्रकरणसम्म संसदीय र सँवैधानिक विकृतिजन्य प्रतियोगिताहरुको भरमार प्रतिस्पर्धा जारी हुँदै गर्दा ओली बाको बाँदरे प्रवृत्तिभन्दा देउवा दाइको ब्वाँसे प्रवृत्ति नेपालको राजनीतिमा बढी प्रभावकारी ठहरिन आएको छ ।

कोरोना माहामारीबाट त्रस्त जनताको कारुणिक क्रन्दनमाथि नूनचुक छर्किने जिम्मा ओली बाले ओम्नीलाई दिए जस्तै देउवा दाइले अबको सम्भावित तेस्रो लहरको पीडामा नूनचुक छर्किने जिम्मा स्वास्थ्य एवम् शैक्षिक माफिया उमेश श्रेष्ठलाई दिएर ओली बाभन्दा आफू कुनै पनि दृष्टिकोणले पछि नरहेको प्रमाणित गरेका छैनन् र ?

ओली बाले ओम्नीलाई दिए जस्तै देउवा दाइले अबको सम्भावित तेस्रो लहरको पीडामा नूनचुक छर्किने जिम्मा स्वास्थ्य एवम् शैक्षिक माफिया उमेश श्रेष्ठलाई दिएर ओली बाभन्दा आफू कुनै पनि दृष्टिकोणले पछि नरहेको प्रमाणित गरेका छैनन् र ?

आयातित दिनमा पनि देउवा दाइले ओली बाभन्दा अब्बल प्रकृतिका माफियाहरुलाई मुलुकको जिम्मा लगाउने र त्यस्तै वैदेशिक वायुको ईशारामा रमाउनेहरुको भरमा नियुक्त गर्ने तयारी नगरेका होलान् भन्न सकिएला र ! तसर्थ मुलुकभित्रका अन्य क्षेत्रका माफिया संगठनहरुले धैर्य धारण गरी सहनशीलता प्रदर्शन गरेमा उनीहरुलाई पनि आ–आफ्नो क्षेत्रको विज्ञता एवं अब्बलता प्रमाणित गर्ने सुअवसर प्राप्त हुने निश्चित छ । अहिले नै मोती दुगड र ओम्नी समूहको विकल्पमा अघि सारिएका उमेश श्रेष्ठ र विन्दु थापाहरुको नियुक्तिमा आश्चर्य व्यक्त नगरौं ।

सामान्य दृष्टिकोणबाट हेर्ने हो भने ओली बा पनि राजनैतिक क्षेत्रका पक्का खेलाडी हुन् । उनले दुई पटकको पौने चार वर्षे प्रधानमन्त्री कालमा साढे तीन जम्प (छलाँङ) नै लगाएका छन् । पहिलो जम्प २०७२ सालको नाकाबन्दीताका राष्ट्रियताको संरक्षण अर्थात् दक्षिणी छिमेकी भारतविरुध्द राष्ट्रवादी छवि निर्माण गरेर लगाएका थिए । जनताकोबीचमा राष्ट्रवादका कोरा गफ दिएर विकासका हवाई किल्ला निर्माणमा उनको उखान टुक्के चरित्र बढी प्रभावकारी पनि देखियो ।

दोस्रो जम्प २०७४ को निर्वाचनमा दुई तिहाईको प्रचण्ड बहुमतका साथ विजयी भएर देखाए । लगत्तै उत्तरी छिमेकी चीनसँग बीआरआईलगायत पारवहन सम्झौता गरेर भारतसँगको सम्बन्धलाई घुमाउरो बाटोबाट चिस्याए । आफ्नै दलभित्र राजनीतिक सन्तुलन मिलाउन नसकेपछि मध्यरात बालुवाटारका अँध्यारा कोठाहरुभित्र पुनः भारतीय खुफियातन्त्रका सामु लम्पसार परेर तेस्रो जम्प लगाएका हुन् । त्यसपछि चीनसँगको कसिलो सम्बन्धमा झुसिलो डकार निकालेर बसे ।

अत्यधिक अहंकार र दम्भका कारण चौथो जम्प लगाउने क्रममा आफ्नै दलभित्र सन्तुलन मिलाउन नसक्दा र आन्तरिक राजनीतिमा उथलपुथल ल्याउँछु भन्दा आफैँ थचारिन पुगे । परिणाम बालुवाटारको सत्ताको शीरबाट बालकोटको हुनुमन्ते खोलाको तीरतर्फ पछारिन पुगे । यो पटकको चौथो बाँदरे माकाफुई जम्प भने अधुरै रह्यो । अब बार्दलीबाटै चिथोरेर कराएर दिन बिताउनुपर्ने अवस्था आयो ।

तर देउवा दाइको पूर्वअमेरिकी राजदूत जुलिया चाङदेखिको इण्डो–अमेरिकन सम्बन्धको निरन्तरता महाकाली सन्धि हुँदै सक्षम,असक्षम,न्याय,अन्यायको प्रक्रियाबाट खारिँदै हाल एमसीसीसम्म आइपुग्दा समेत दाइ खेलाडी स्पिरिटले निरन्तर छलांङ्ग मार्दै आइरहेको छ । दाइका ज्योतिषीय प्रकाण्ड विद्वानहरुको मतलाई मान्ने हो भने दाइले मुलुकलाई एउटा निश्चित शक्तिकेन्द्रको खेल मैदान नबनाई विश्राम नलिने सम्भावना बताई रहँदा ओली बाको कोठे, बाँदरे माकाफुईं र उखानटुक्के हवाई गफभन्दा देउवा दाइको गुलाटी मार्नसक्ने अन्तर्राष्ट्रिय ब्वाँसे प्रकृति अब्बल ठहरिएन त ?

ओली सीमित एमाले छाउराहरुका ओली बा भए पनि देउवा दाइ काँग्रेसीका मात्र नभएर ओली बाका पनि दाइ हुन् । किनभने ओली बाले दुई पटक प्रधानमन्त्रीत्वकालमा सबल माफियातन्त्रको जग बसालेर बालुवाटार हुँदै बालकोटदेखि ब्रम्हनालसम्मको यात्रालाई आर्थिक र भौतिकरुपले सुरक्षित गर्ने प्रयाससमा राजनैतिक यात्रालाई बिराम दिए ।

देउवा दाइले बुढानीलकण्ठदेखि बालुवाटार हुँदै बेलायतसम्म तीनपुस्तालाई पुग्ने आर्थिक व्यवस्थापन गरिसकेर पनि सम्भावनाविहीन परिस्थितिलाई आफ्नो अनुकूल बनाउँदै ओली बाको पोल्टाको समेत खोसेर आगामी दिनको यात्रालाई थप सबल बनाउन सक्षम र अब्बल देखिएपछि देउवा दाइ ओली बाका पनि दाइ ठहरिएनन् त ?

तसर्थ ‘अति सर्वत्र वर्जयेत्’ भनेजस्तै यस्तै प्रकृति र कार्यको निरन्तरता रहिरहने हो भने ओली बाको पापले कराउने धुरी (मुख्यस्थान) नपाएर बालकोटको बार्दलीबाट कराउनु परे जसरी नै देउवा दाइका ज्यादती र पापले पनि कराउने उचित स्थान पाउने छैनन् । बूढानीलकण्ठतिरका डाँडाकाँडा चाहार्दै कराउने दिन टाढा नहोला कि ? भन्ने कुराको हेक्का कसले राखिदेला ? कठै बरा !

-(भट्ट राष्ट्रिय अनुसन्धान विभागका पूर्वअतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुनुहुन्छ ।)

टिप्पणीहरू