एमालेमा हतारको काम लतार पतार « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

एमालेमा हतारको काम लतार पतार

प्रकाशित मिति :  २ भाद्र २०७८, बुधबार १९:००


एमालेले हिजो गरेका निर्णयलाई मिहीन ढंगले केलाउँदा हतारको काम लतारपतार भएको देखिएको छ । सँधै हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने नेतृत्वले हिजो पनि उक्त प्रवृत्तिलाई दोहोर्याएको बताइन्छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति सदस्य संख्या १५ सय १ जना भन्नुभयो । त्यसपछि पनि अवस्था र परिस्थिति हेरेर उक्त संख्यामा थपघट भइरह्यो । त्यहिक्रममा हिजो दिउँसो निर्वाचन आयोगमा एमालेको केन्द्रीय समिति सदस्यको नयाँ संख्या तोकेर विवरण बुझाइएको छ ।

जसमा २ सय ६० जनाको नाम उल्लेख थियो । यसअघि २ सय ३ जना कायम रहेको भनिएको संख्या हिजो दिउँसो एकाएक २ सय ६० जना भएको बताइयो । लगत्तै हिजै १४ जना नेता तथा सांसदलाई कारबाही गरिएको जानकारी गराइयो । त्यसमध्ये पनि आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्य छन् ।

तर,एमालेको विधानले १ सय ५७ जनाभन्दा बढी केन्द्रीय सदस्यलाई चिन्दैन । नवौं महाधिवेशनपछि र माओवादी केन्द्रसँग एकीकरण गर्नुअघि निर्वाचन आयोगमा पेश गरिएको अद्यावधिक संख्यामा २ सय ३ उल्लेख थियो । त्यो संख्या नै एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणअघिको एमाले केन्द्रीय समितिको संख्या पनि हो ।

त्यसमा अरु सदस्य थपिएको भनिए पनि अद्यावधिक गरिएको जानकारी आयोगले समेत नपाएको बताइएको छ । त्यसरी थपिएकाहरुमा पूर्वमन्त्री गोकुल बाँस्कोटा,महेश बस्नेतलगायत छन् ।

तर,हिजो अध्यक्ष ओलीले आफ्नो दलको केन्द्रीय सदस्य संख्या २ सय ६० जना भन्नुभएको छ । संविधान र कानुनतः पछि थपिएको संख्यामा पनि महिलाको संख्या ३३ प्रतिशत हुनैपर्छ । तर हिजो थपिएको भनिएको संख्यामा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्याएको देखिँदैन ।

त्यसैले हालसम्मको अद्यावधिक भनेकै २ सय ३ जना रहेको नेताहरु बताउँछन् । जसमा विधानतः १० प्रतिशतले बढाइएको संख्या र गर्नुपर्ने सबै समावेशी समेत राखिएको थियो । तर हिजो सार्वजनिक गरिएको संख्यामा ती मापदण्डलाई नजरअन्दाज गरिएको स्वतः देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !