​चुनाव गराउँदै छापामार चेली

विडम्बना कतिसम्मको देखा प¥यो भने जनयुद्ध लडेकी एउटी छापामार आफ्ना तिनै सुप्रिम कमाण्डर प्रचण्डले गराउने स्थानीय चुनावका लागि म्यादी प्रहरीमा जागिर खान बाध्य भएकी छन् । रहरले होइन, बाध्यताले । जेठ महिनासम्मको जागिर र त्यसबाट प्राप्त हुने रकमले छोराको उपचार र आफ्नो गुजाराका निम्ति उनले यस्तो बाटो रोजेकी हुन् । नाम उषा बुढा क्षत्री, अहिलेको थर जिसी ।

माइती अछाम, प्युठानका पत्रकार अर्जुनसँग विवाह गरेपछि हाल सासूको घरमा छिन् । हाल झिमु्रक गाउँपालिका–७, पूर्व तुसारा गाविसकी बासिन्दा । गत सातादेखि तालिममा दिन बित्दै छन् । साथमा अढाई वर्षको छोरो छ । अब ५५ दिन उनले पहिला आफैंले बन्दुक बोझ्याएका प्रहरी हाकिमले लाए, अह्राएको काम गर्नु छ । सिपाही बराबर महिनाको १७ हजारका दरले तलब पाउँछिन् । १२ वर्षको उमेरमै सामना साँस्कृतिक परिवारको सदस्य भएर भूमिगत भएकी थिइन् । ०५७ सालपछिका १३ वर्ष पार्टीको नाममा खर्च गरिन् । अहिले दम्पती नै बेरोजगार छन् । पार्टी राजनीतिबाट वाक्क भएर सक्रिय राजनीतिक जीवन पनि बिताएकी छैनन् । पति अर्जुन रेडियो जनगणतन्त्रमा काम गर्थे । उनको पनि जागिर छैन । यो त एउटा प्रतिनिधि पात्रको कथा हो, यस्ता अरू कति होलान्, भेटिएलान्,– खोज्नै जाने हो भने । 

टिप्पणीहरू