एमाले विभाजनको अन्तिम प्रारुप तयार

एमाले विभाजनको अन्तिम प्रारुप तयार

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका आधारमा एमालेको माधव नेपाल समूहले नयाँ राजनीतिक दल दर्ता प्रक्रिया शुरु गर्ने भएको छ । र, शुक्रबारभित्र आफ्ना सांसदहरूलाई देउवा सरकारमा सामेल गराउने तयारी छ ।

‘नेकपा (एमाले)’ नै नाम राखेर ‘एमाले’ को पछाडि ‘केन्द्र’, ‘क्रान्तिकारी’ वा ‘समाजवादी’ मध्ये कुनै एउटा शव्द थपिने र निर्वाचन आयोग जाने तयारी भइरहेको माधवनिकटस्रोतले जनाएको छ । केन्द्रीय कमिटीको नाम तयार पार्ने काममा स्वयं माधव नेपाल जुट्नुभएको र त्यसमा वामदेव गौतम, मुकुन्द न्यौपाने, बेदुराम भुषाल, रघुजी पन्तले पनि साथ दिइरहनुभएको स्रोतले जनाएको छ । विधान र नियमावलीमा सामान्य हेरफेर हुन बाँकी रहेको र घोषणापत्रचाहिँ राष्ट्रियसभाका सांसद तथा संघीयताविद् डा.खिमलाल देवकोटाले अन्तिम चरणमा पु¥याएको बताइन्छ । झण्डामा विवाद छैन । चुनाव चिह्नचाहिँ सूर्यभित्र हँसिया हथौडा दावी गरिने भएको छ ।

जारी अध्यादेशका आधारमा एमाले विभाजन प्रक्रियाचाहिँ नयाँ राजनीतिक दल दर्ताबाट शुरु हुन्छ । निर्वाचन आयोगमा एउटा अनुसूचीका आधारमा फारम भर्नुपर्छ । त्यसका लागि पोलिट्व्युरो सदस्य राजेन्द्र पाण्डेसहितको टोली तयार भएको छ । उक्त फारम भरिसकेपछि दल विभाजनका लागि तोकिएको प्रतिशत खुलाएर सदस्यहरूको नामावली र नेपाली नागरिकताको प्रतिलिपी पेश गर्नुपर्छ । सँगसँगै संघीय संसदका सदस्यहरूको नामावली पनि प्रतिशतकै आधारमा पेश गर्नुपर्ने व्यवस्था छ । यद्यपि, अध्यादेशले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एक निकायमा ४० प्रतिशत सदस्य प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको अवस्थामा जहाँको ४० प्रतिशत प्रस्तुत हुन्छ, त्यहीँको नामावलीमात्र पेश गरे पुग्ने अवस्था रहेको निर्वाचन आयोगस्रोतले जनाएको छ ।

दल दर्ताका लागि केन्द्रीय कमिटीको नामावली, पार्टीको नाम, विधान, झण्डा, चुनाव चिह्नको दावीसहित घोषणापत्र र नियमावली पनि पेश गर्नुपर्ने हुन्छ । केन्द्रीय सदस्यहरूको नामावलीलाई नागरिकताका आधारमा निवेदन दर्ता हुँदैमा सनाखत गर्नुपर्ने व्यवस्था छ । त्यसपछि पेश भएका कागजात निर्वाचन आयोगले एक हप्ताभित्र हेरिसक्नुपर्ने छ । यदि, त्यसमा कुनै त्रुटि भएमा सम्बन्धित दलले अर्को एक हप्ताभित्र त्यसलाई सच्याउने मौका पाउँछ । र, अर्को एक हप्ता आयोग सचिवालयले ती सम्पूर्ण विवरण आयोगमा पेश गर्छ । अनि, आयोगले दल दर्ता गर्छ ।

तर, यसअघि माधव समूहले तीन फरक–फरक नाममा दर्ता गरेका राजनीतिक दलमा सीधै जान पाइने कानुनी व्यवस्था छैन । अखिलका पूर्वनेता जीवन राईले दर्ता गरेको नेकपा (एकीकृत) सहितका कुनै दललाई आधिकारिक मान्ने हो भने पनि पहिला नयाँ दल दर्ता गर्नैपर्ने कानुनी व्यवस्था छ । यदि, तीमध्ये कुनै दललाई आधिकारिकता दिने भए पनि दर्ता भएको नयाँ दलले ती दलसँग एकीकरण गनुपर्छ । तर, सीधै जान पाइँदैन ।

टिप्पणीहरू