अनि नेता बन्ने को ?

संसद्ले हालै निर्वाचनसम्बन्धी नयाँ कानुन पास गरेको छ । जुन बडो डरलाग्दो छ । किनभने यो कानुनअनुसार अब चुनावमा उठ्ने उम्मेदवारले पनि विभिन्न नियम पालना गर्नुपर्ने छ । सबैभन्दा पहिले त विभिन्न खाले अभियोग लागेर जेल परेका व्यक्ति कुनै पनि दलको केन्द्रीय सदस्य हुन नपाइने रे ! चुनाव उठ्न नपाइने र ! नेतै हुन नपाइने रे !

कानुनमा प्रस्ट लेखिएको रहेछ, भ्रष्टाचारको मुद्दामा जेल परेका, फौजदारी मुद्दामा जेल परेका व्यक्ति केन्द्रीय नेता हुन पाइँदैन । चुनाव लड्न पाइँदैन । चुनावै लड्न नपाइने भएपछि जित्न नपाइने त भइहाल्यो ।

अब एकछिन सोच्नोस्, यदि देशमा यो कानुन साँच्चै लागू गर्ने हो भने यहाँ नेता बन्नेचाहिँ को नि ? चुनाव लड्ने को ? पार्टी हाँक्ने हो ? देश सम्हाल्ने को ? यसले त देशमा नेता भन्ने नै नपाइने अवस्था आउन सक्छ । अब देशमा नेतै नभएपछि मुलुक चल्छ कसरी ? सरकार कसले चलाउँछ ? देश कसले चलाउँछ ? विदेशीलाई ल्याएर चलाउन दिने ?

चुनावको मुखैमा यस्तो डरलाग्दो कानुन आइरहेको छ । तैपनि कोही बोलिरहेको छैन । किन हँ ?

टिप्पणीहरू