दुई नम्बर मोह

नेपाल प्रहरीको महानिरीक्षक छान्ने काम बडो अनौठो ढंगले सम्पन्न भएछ । सबैको सोच थियो, अब नयाँ महानिरीक्षकमा १ नम्बरमा रहेका नवराज सिलवाल आउँछन् होला । सरकार सोचिरहेको थियो, अब ४ नम्बरमा रहेका जयबहादुर चन्दलाई ल्याउनुपर्ला । तर अन्तमा न १ नम्बरका सिलवाल आए, न ३ नम्बरका चन्द । बरु २ नम्बरका प्रकाश अर्याल आए । सबैजना छक्क ! १ नम्बर र ३ नम्बरलाई छोडेर कसरी २ नम्बरको पालो आउँछ ?

वास्तवमा कारण सामान्य छ । किनभने सरकारलाई मन पर्ने नै दुई नम्बरी हो । अझ गृह मन्त्रालयलाई मन पर्ने कुनै नम्बर छ भने त्यो दुई नम्बर नै हो । सरकारमा देखिहालियो । गृहमन्त्री विमलेन्द्र निधि वरीयताको दुई नम्बरमा बस्न कति मरिहत्ते गरिरहनुभएको छ ! दुई उहाँलाई अत्यन्त मन पर्ने नम्बर हो ।

दुई नम्बरप्रति सरकारको यो आकर्षण देखेर कोही–कोही त के पनि भन्छन् भने यो सरकार नै दुई नम्बरीहरूको सरकार हो । सरकारलाई एक नम्बरभन्दा पनि दुई नम्बरमा बढी विश्वास छ । त्यसैले सरकारले मानिस छनोट गर्दा पनि दुई नम्बरी नै गर्छ, काम गर्दा पनि दुई नम्बरी नै गर्छ । देशमा सबैभन्दा बढी दुई नम्बरी काम गर्ने ठाउँ पनि नेपाल प्रहरी नै हो । सायद त्यही भएर पनि सरकारले त्यहाँ दुई नम्बरकै अधिकृत छानेको हुनुपर्छ । जहाँ दुई नम्बरी काम हुन्छ, त्यहाँ हाकिम पनि त दुई नम्बरी नै हुनुप¥यो नि, होइन त निधिज्यू ?

टिप्पणीहरू