विभाजन गर्ने ओली, दोष अरुलाई ? : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकताका सबै ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले यस्तो अवस्थामा पार्टी पुनर्गठनको विकल्प नभएको समेत बताउनुभएको छ ।
नेता नेपालले आफू निकट जनवर्गीय संगठनहरुको संयुक्त जुम भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । अध्यक्ष आफैँले पार्टी विभाजन गर्न चाहेको तर दोष जति सबै अन्यत्र तेर्साएकाले समस्या समाधान हुन नसकेको उहाँको धारणा थियो । अध्यक्ष ओलीले आफूहरुलाई लगाएको अनर्गल आरोप फिर्ता नलिने र कम्तिमा आत्मालोचना समेत नगर्ने प्रवृत्तिलाई निरन्तरता दिएकाले समस्या समाधान नभएको उहाँको भनाइ छ ।
पुर्नगठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, ‘उहाँ (अध्यक्ष) पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ । विभाजन आफूले गर्ने तर दोष अरुलाई दिने ।’
नेपालले एमालेलाई गर्दै क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिने जानकारी दिनुभएको छ । उहाँले आफूलगायतका सांसदहरुलाई कारबाही गरेकोतर्फ इंगित गर्दै भन्नुभयो, ‘कारबाहीबाट विचलित हुँदैनौं, बरु झन् अगाडि बढ्नेछौं ।’
आफूहरुले नयाँ पार्टी खोले पनि अध्यक्ष ओलीले गल्ती स्वीकार गर्दै पछाडि हटेमा पनि पार्टी एकताको ढोका खुल्ला रहने पनि नेता नेपालले उल्लेख गर्नुभएको छ । आगामी चुनावमा सहकार्य हुनसक्नेसम्मको धारणा राख्दै उहाँले भन्नुभयो, ‘कारबाहीबाट विचलित हुने छैनौँ । नयाँ पार्टी खोलिहाल्यौँ भने वा पार्टी पुनर्गठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भने पनि त्यस्तो अवस्थामा सकेत केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुभयो भने फेरी एकताको ढोका खुल्ला हुनेछ ।’
अहिले सबै पार्टीहरुसँग सहकार्य गर्ने भए पनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्दै नेपालले भन्नुभयो, ‘अन्य वामपन्थी शक्तिहरुलाई पनि एकताबद्ध बनाइने छ ।’