पत्रकार मीरा घरपरिवारबाट पीडित

पत्रकार मीरा घरपरिवारबाट पीडित

‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ त्यसै भनिएको होइन, सम्पत्तिका लागि केसम्म हुँदैन हाम्रो समाजमा ! धनकै कारण पारिवारिक कलह,मुध्दा मामिला मात्र होइन ज्यान लिनेसम्मका घटना बेलाबेला सुन्ने गरिन्छ । सम्पत्ति हडप्न किर्ते गरिएका, जालझेल गरिएका घटना त कति हो कति !

करोडौँ पर्ने पुर्ख्यौली सम्पत्ति एकलौटी हात पार्न आफ्नै भाइलाई झुक्यानमा पारेर सुटुक्क कारोबार गरेको चितवनको एउटा घटना हालै बाहिरिएको छ । उक्त घटनाकी पीडित हुन्, पत्रकारसमेत रहेकी मीरा राजभण्डारी । करोडौँ पर्ने पुर्ख्यौली सम्पत्तिबाट श्रीमानलाई पाखा लगाइएपछि उनी तनावमा छिन् । श्रीमानलाई झुक्याएर जेठाजुले गुपचुप जग्गा बिक्रि गरेको थाहा पाएपछि हाल अमेरिका रहेकी उनी नेपाल फर्कने तरखरमा छिन् । जेठाजुका कारण करोडौँको सम्पत्ति गुमाउनुपर्ने अवस्था आइलागेको भन्दै उनले नेपाल आएर कानूनी लडाई लड्ने निधो गरेको बताइन् ।

भएको के रहेछ भने,चितवन भरतपुर महानगरपालिकाको- ५ मा रहेका कित्ता नं १९६४ देखि ८२७, १९६७, १०४३, १९६२ गरी जम्मा क्षेत्रफल १५५९।५६ वर्ग मीटर तथा भरतपुर-१२ मा रहेका थप पुर्ख्यौली जग्गा मीराका श्रीमान भुवन अमात्यलाई थाहै नदिई मालपोत कार्यालय चितवनबाट तीन जना जेठाजुको नाममा सुटुक्क पास गरिएछ । तीन जनाको नाममा संयुक्त पास गरिएको उक्त जग्गामा भुवनको हकदाबी लाग्ने भएपनि झुक्याएर एकलौटी गरिएको उनको दाबी छ ।

सासू हिरामाया अमात्यको निधनपछि तीन दाजुभाइ रोशनकुमार अमात्य,तोरनकुमार अमात्य र सुमन अमात्यको नाममा ती जग्गा पास गरिएको उनले हालै थाहा पाएकी रहिछन् । आफूले असहमति जनाउँदा जनाउँदै ०५२ सालमा जबरजस्ती भुवनलाई फकाएर चार लाख रुपैयाँ दिई अंशको कागज थमाईएको रहस्य बल्ल बुझेको मीरा बताउँछिन् । त्यति मात्र नभई परिवारको सम्पत्ति कति छ भनेर कहिल्यै पूरा जानकारी समेत नदिईएको उनको गुनासो छ ।

जालझेल यतिसम्म गरिएको रहेछ, झन्डै २५ करोड रुपैयाँमा बिक्री भएको जग्गाको थैली भने १० करोड मात्रै देखाइएको छ । त्यसबापत आएको रकम चार भाग बराबरी हुनुपर्नेमा अरु भाइले धेरै लिएर भुवनलाई न्युनतम दिइएको पनि मीराको गुनासो छ ।

यता,आफ्नै बलबुताले जोडेको काठमाडौँको शान्तिनगरस्थित ४ आना ३ पैसामा बनेको घर भने सगोलमा पारिएको छ । मीराका अनुसार जापानको कमाईबाट २८ वर्षअघि भुवनले जोडेको उक्त घर आमाको नाममा पास गरेका थिए । अहिले त्यो घर पनि अंशबण्डामा पारिएको छ । अंशबण्डाका क्रममा उक्त घर जेठाजु रोशनको नाममा पास गर्न लागिएको मीराको दुखेसो छ ।

जापानमा श्रम गर्दै रहेका भुवन हाल जापानबाट नेपाल फर्केको मौका छोपी फकाएर महंगोमा बिकेको जग्गाबाट न्युनतम मात्रै पैसा दिएर अरु दाजुभाइले हडपेको मीराले बताइन् । आफ्नै कमाइको सम्पत्तिसमेत जेठाजुको नाममा पर्ने तयारी बुझेपछि मीरा कानुनी लँडाई लड्ने मनस्थितिमा पुगेकी छिन् । उनले छिट्टै नेपाल फर्केर कानुनी प्रक्रियामा जाने बताइन् ।

टिप्पणीहरू