नेपाली सञ्चारमाध्यममा पश्चिमा राष्ट्रको कति लगानी ?

नेपाली सञ्चारमाध्यममा पश्चिमा राष्ट्रको कति लगानी ?

भारतमा बसोबास गर्ने एक जना नेपाली पत्रकारले हालै सामाजिक सञ्जालमा सनसनीपूर्ण स्टाटस लेखे, ‘केही वर्षदेखि झण्डै ३० वटा नाइजेरियाली सञ्चार माध्यम तथा संगठनहरुलाई पश्चिमा राष्ट्रका संगठनहरुले अथाह रकम खर्चेका छन् । त्यो भनेको लगभग किने सरह हो ।’

त्यसरी सञ्चारमाध्यम र तिनका संस्थामा अन्धाधुन्द लगानी गर्ने प्रमुख दाताहरुमा ओपन सोसाइटी फाउण्डेशन,फोर्ड फाउण्डेशन, ब्रिटिश फाउण्डेसन फर सोसल जस्टिस,संयुक्त राज्य अमेरिकाको इन्स्टिच्युट अफ पीस, र युनाइटेड फर वुमन इक्वालिटी रहेका छन् ।

हाल भारतमा रहेका ती पत्रकारले त्यस्तो कार्यमा नेपाली मिडिया पनि चोखो नभएको बताएका छन् । नेपालमा पश्चिमा राष्ट्रहरुबाट ह्वारह्वार्ती आर्थिक सहयोग पाउने सञ्चारमाध्यमहरुमा एन्टेना फाउन्डेशनलगायतका संस्थाहरु रहेको समेत जानकारी दिएका छन् । उनले उपलब्ध गराएको विवरणअनुसार त्यसरी पश्चिमा राष्ट्रहरुको नियमित सहयोग पाएका संस्थाहरुमा एन्टेनाले हालसम्म ३३ लाख ७९ हजार ९ सय ११ अमेरिकी डलर बुझेको छ ।

त्यसैगरी खोज पत्रकारिता केन्द्रले २ लाख ९ हजार १६ डलर, नेपाल मिडिया एकेडेमीले १ लाख ३९ हजार ६ सय ६३ डलर र सामुदायिक रेडियो प्रसारकहरुको संस्थाले ३ लाख ९४ हजार अमेरिकी डलर बुझेको बताइन्छ ।

“अघिल्लो वर्ष ५ लाख ३५ हजार डलर छुट्याइएकोमा नेपालका लागि २ लाख ४० हजार डलर भनिएको थियो । त्यो रकम नेपालमा पत्रकारिताको लागि खर्च गर्ने उल्लेख थियो । विनियोजन गरिएको बजेटमा थप १६ प्रतिशतले हुन आउने थप ३ लाख ६८ हजार डलर समेत छुट्याइएको रहेछ । “

उनै सञ्चारकर्मीले भनेका छन्, ‘यो भनेको वास्तवमा नेपाल लगानीको लागि कति महत्त्वपूर्ण ठाउँ रहेछ भन्ने नै हो ।’ नेपाललगायत मुलुकका सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थालाई प्रदान गर्न दाताहरुले आफ्नो वेवसाइटमा नै रकम उल्लेख गरेको पाइन्छ ।

सोरोस फाउण्डेशनअन्तर्गतको ओपन फाउन्डेशनले आफ्नो वेवसाइटमा अघिल्लो वर्ष ५ लाख ३५ हजार डलर छुट्याइएकोमा नेपालका लागि २ लाख ४० हजार डलर भनिएको थियो । त्यो रकम नेपालमा पत्रकारिताको लागि खर्च गर्ने उल्लेख थियो । विनियोजन गरिएको बजेटमा थप १६ प्रतिशतले हुन आउने थप ३ लाख ६८ हजार डलर समेत छुट्याइएको रहेछ ।

उक्त फाउण्डेशनले सन् २००७ देखि हालसम्म स्वतन्त्र पत्रकार र स्थानीय सामुदायिक रेडियोहरुलाई मात्र १३ लाख ९० हजार डलर उपलब्ध गराएको समेत जानकारी दिइएको छ ।

ओपन सोसाइटी फाउण्डेशनलाई रुसले संविधान र प्रचलित कानुन विपरितका कार्य गरेको भन्दै सन् २०१५ देखि प्रतिबन्ध लगाएको छ । उसले उक्त फाउण्डेशनका गतिविधिबाट राष्ट्रिय सुरक्षामा समेत खतरा पर्न सक्ने भन्दै प्रतिबन्ध लगाइएको जानकारी दिएको थियो ।

यता म्यानमारको सैन्य सरकारले गत मार्च महिनामा ओपन सोसाइटी फाउण्डेशनले गैरकानुनी कार्य गरेको भन्दै उसका सबै सम्पत्ति जफत गरेको छ ।

विशेषगरी अमेरिकी दातृ संस्थाहरुले तेस्रो विश्वका मात्रै नभई विकसित मुलुकका पत्रकार र सञ्चार माध्यमलाई समेत आफ्नो पक्षमा पार्न सफल भएको उनै नेपाली पत्रकारले भारतमा बसेर लेखेका छन् । विशेषगरी पछिल्ला दिनमा ती फाउण्डेशनले जर्मनीका पत्रकारलाई समेत प्रभावमा पारेको उल्लेख छ ।

उडो उल्फकोटेले लेखेको एउटा पुस्तकमा पनि त्यसबारे चर्चा गरिएको छ । जर्मनीको एउटा मुख्य दैनिक पत्रिकाको सम्पादक रहिसकेका उडोले सन् २०१४ मा लेखेको ‘कसरी सीआईएले समाचार किन्छ ?’ भन्ने पुस्तकमा जर्मनीका नाम चलेका सञ्चारमाध्यम र पत्रकार समेत बिकेको तीतो यथार्थ पोखिएको छ । त्यो काममा जर्मनीको गुप्तचर संस्थाले समेत सहयोग पुर्याएको बताइएको छ ।

पछिल्ला दिनमा नेपाली सञ्चारमाध्यममा चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्स लगायतका परियोजना र कार्यक्रमबारे कुनै पनि यथार्थ प्रकाशित वा प्रशारित हुन नदिन भरमग्दुर प्रयास हुँदै आएको दाबी गरिएको छ । उनै सञ्चारकर्मीले प्रकाशित गरेको विवरणलाई उद्धृत गर्दै एउटा चिनियाँ सञ्चारमाध्यमले लेखेको छ, ‘आफ्नो समर्थनमाभन्दा पनि परेको बेला चीनको विरुद्ध अनर्गल प्रचार गर्न उनीहरु हात धोएर लाग्ने गरेको पाइन्छ ।’

टिप्पणीहरू