अमेरिकामा जागिर लगाइदिने प्रलोभनमा साढे ११ लाख चट्

अमेरिकामा जागिर लगाइदिने प्रलोभनमा साढे ११ लाख चट्

आफैँ त महादेव उत्तानो टाँङ भनेझैँ कुनै रोजगारी वा व्यवसाय नगरेकाले सोझा नेपालीलाई ठग्दै हिँड्न नयाँ नयाँ फण्डा निकालेको देखिन्छ । पछिल्लो पटक अमेरिका पठाईदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३१, तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्की हुन् । उनले पाँचथर तुम्बेवा गाउँपालिका ५, हाङ्मु बस्ने ३० वर्षीय ध्रुवकुमार राईलाई अमेरिका पुर्याएर बहुराष्ट्रिय कम्पनी कोकाकोलामा जागिर लगाइदिने प्रलोभन दिएका थिए ।

कार्कीले राईलाई अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक ३ लाख रुपैयाँ तलब हुने जागिर लगाईदिने प्रलोभनमा पारी उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई झापा अर्जुनधारा नगरपालिका ५, शान्तिचोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगरमा पठाइएको छ ।

टिप्पणीहरू