वीरेन्द्रनगर काँग्रेसमा पनि सदस्यताको बबाल

वीरेन्द्रनगर काँग्रेसमा पनि सदस्यताको बबाल

नेपाली काँग्रेस वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, ६, ८ र ११ का सभापतिहरुले नगर सभापति देवकुमार सुवेदीका कारण नयाँ क्रियाशील सदस्यता प्राप्त गर्नबाट कार्यकर्ता वञ्चित भएको आरोप लगाएका छन् ।

वडा सभापतिहरु शेरबहादुर थापा, मोतिप्रसाद कँडेल,चन्द्रलाल आचार्य र भुवनेश्वर उपाध्यायले मंगलवार संयुक्त विज्ञप्ति जारी गरी काँग्रेस वीरेन्द्रनगर नगर सभापति सुवेदीका कारण ती चार वटा वडाका ७ सय ६ जना सदस्यले नयाँ क्रियाशील सदस्यता प्राप्त गर्नबाट वञ्चित भएको जनाएका हुन् ।

विज्ञप्तिमा काँग्रेसको विधानबमोजिम वडादेखि नगर कार्यसमिति,प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी सफ्टवेयरमा इन्ट्री भई शुल्कलगायत आवश्यक सबै प्रक्रिया पूरा गरेर विधिवत सिफारिस भइसकेका नयाँ क्रियाशील सदस्यको कागजी प्रमाण नहेरिएको आरोप लगाइएको छ । उनीहरुले भनेका छन्, ‘महामन्त्री पूर्णबहादुर खड्कालाई सहज गराउन नगर सभापति सुवेदीले नयाँ क्रियाशील सदस्यता वितरण स्थगन गर्न लगाएका हुन् ।’पार्टीमा गरिएको उक्त गलत कार्यबाट हुने क्षतिको जिम्मेवारी नगर सभापति र सदस्यता रोक्न लगाउनेले नै व्यहोर्नुपर्ने चेतावनी समेत वडा सभापतिहरुले दिएका छन् ।

नयाँ क्रियाशील सदस्यता स्थगनको विषयलाई लिएर काँग्रेसको केन्द्रीय कार्यालय, सभापति,पदाधिकारी र छानबिन समितिलाई पटक पटक सुधार गर्न आग्रह र अनुरोध गर्दा पनि सुनुवाई नभएको समेत विज्ञप्तिमा उल्लेख छ ।

वडा समितिहरुले सर्वसम्मत सिफारिस गरेबमोजिम वीरेन्द्रनगर नगर कार्यसमितिको गत फागुन १६ गतेको निर्णय नम्बर २ मा छानबिन समितिलाई पत्र लेखिदिन आग्रह गर्दासमेत नगर सभापति सुवेदीले अस्वीकार गरेकोमा सुनियोजित र पूर्वाग्रहका कारण ती चार वटा वडामा कृत्रिम विवाद सिर्जना गरिएको उनीहरुले ठहर गरेका छन् ।

विधानअनुसार प्रक्रिया पूरा गरी सिफारिस भएका नयाँ क्रियाशील सदस्यता रोकिनुले संगठन विस्तारमा ठूलो आघात पुग्ने पनि उनीहरुले विज्ञप्ति मार्फत् सचेत गराएका छन् ।

टिप्पणीहरू