पार्टी बिभाजनको खतराले दुबैतिर पीडा

नेकपा एमालेको विवाद चर्किंदै जाँदा दुवै खेमाभित्र आन्तरिक असन्तुष्टि चर्किएको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालका कारण पार्टी एकता अप्ठेरोमा परेको भन्दै दुवैतिर दोस्रो तहका नेताहरु असन्तुष्ट बनेका हुन् ।
एकता प्रयास जारी रहेकै बेला अध्यक्ष ओलीले १४ जना नेतालाई सँसदबाट निश्कासन र निर्वाचन आयोगमा २६० जनाको नाम बुझाएपछि नेपाल पक्ष पनि वारपारको संघर्षमा छ । तर, दुबैतिरका केही नेताले भने एकताको प्रयास जारी राखेका छन् । यसैबीच वरिष्ठ नेता माधव नेपालकै आग्रहमा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको चर्चा चलेपछि एकता पक्षधर भनिएका दुवैतिरका दोस्रो तहका नेताहरु भेटघाटमा जुटेका छन् ।
संस्थापनतर्फबाट विघटित कार्यदलका सुवास नेम्वाङ,विष्णु पौडेल,प्रदीप ज्ञवालीलगायतका नेताहरु केपी ओली थप लचिलो बनेर भए पनि पार्टी एकता जोगाउनुपर्ने अडानमा छन् । नेपाल समूहका भीम रावल,सुरेन्द्र पाण्डे,भीम आचार्य,गोकर्ण बिष्ट लगायतका नेताहरु पनि कुनै हालतमा विभाजन रोक्नुपर्ने पक्षमा उभिएका छन् ।
“प्रधानन्यायाधीशसँग मिलेर संवैधानिक नियुक्तिहरुमा भागबण्डा मिलाए पनि त्यहि अदालत किन हाम्रोविरुध्द उभियो, किन सरकारबाट बाहिरिनु पर्ने अवस्था बन्यो भन्ने कुराको समीक्षा त हुनैपर्छ । हामीले माधव नेपाललाई मात्र दोष दिएर हुँदैन’,
पार्टीमा उत्पन्न विवादलाई लिएर संस्थापन पक्षमा असन्तुष्टि चर्किएको बताइन्छ । ओली आफ्नै रोडम्यापमा एकोहोरो अघि बढेपछि त्यहाँभित्रका एकता पक्षधर नेताहरु असन्तुष्ट बनेका हुन् । असन्तुष्टहरुलाई ओलीले घोचपेच गर्ने गरेको यसअघि नै सार्वजनिक भैसकेको छ । पार्टी एकताको पक्षमा सक्रिय रहेका सुवास,विष्णुलगायतलाई ओलीले ‘तपाईंहरु कताको हो ?’ भनी व्यंग्य गरेको अलि अगाडि चर्चा चलेको थियो ।
पछिल्लो समय विधान संशोधनलाई लिएर पनि ओली समूहका केही नेता असन्तुष्ट बनेको बताइन्छ । विधानको संशोधन मस्यौदामाथिको छलफलका क्रममा त्यस्ता असन्तुष्टि देखिने गरी सतहमा आएको हो । एमालेको विधानमा कार्यकारी भूमिकामा रहन ७० वर्षे उमेर हदको व्यवस्था गरिएको छ । अहिले संशोधन प्रस्तावमा नसमेटिएको उक्त प्रावधान हटाउने ओलीको तयारी छ । जानकारहरुका अनुसार एक कार्यकाल आफैँ अध्यक्ष बन्ने र अर्को महाधिवेशनमा वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नेतृत्व सुम्पने तयारीका साथ ओली अघि बढेको बुझेपछि सुवास, विष्णुलगायतका नेताहरु झस्किएका हुन् ।
त्यसैगरी,अध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारी मनोनित गर्ने प्रस्तावित विधानको व्यवस्थाप्रति झन् धेरै नेताहरु असन्तुष्ट रहेको बताइन्छ । विधान संशोधन प्रस्तावलाई लिएर असन्तुष्टि बढेको बालकोट निकट एक नेताले संकेत गरे । उनले भने, ‘आन्तरिक छलफलमा कसरी जाने भनेर छलफल हुनु स्वभाविकै हो । विधान संशोधन प्रस्ताव गरिएको हो,अहिले पारित भैसकेको हैन । यसबारे विधान महाधिवेशनमा व्यापक छलफल गरेर हामी एउटा निर्णयमा पुग्छौँ । मेरो व्यक्तिगत मत पनि उमेर हद हटाउनु हुँदैन भन्ने नै छ । र,सबै पद महाधिवेशन प्रतिनिधिद्वारा निर्वाचित गरिनुपर्छ भन्ने नै हो ।’
“माधव समूहलाई पार्टीमा ल्याए आगामी नेतृत्व गुमाउनुपर्ने भयका कारण उहाँ एकताप्रति अनुदार बनेको कतिपयको विश्लेषण छ । त्यहि बुझेर होला, माधव नेपालले आश मारिसक्दा पनि नेपाल समूहका केही नेता भने एकताको पक्षमा अझै दृढ देखिन्छन् ।”
ओली समूहका कतिपय नेता प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा ओलीका एकपछि अर्को कदम असफल हुनुको कारण खोजेर निर्मम समीक्षा गर्न चाहन्छन् । तर,अध्यक्ष ओली तयार हुनुहुन्न । त्यसले पनि त्यहाँभित्र असन्तुष्टि बढेको बताइन्छ । ‘मधेशीहरुसँग गरेको सम्झौता किन असफल भयो, प्रधानन्यायाधीशसँग मिलेर संवैधानिक नियुक्तिहरुमा भागबण्डा मिलाए पनि त्यहि अदालत किन हाम्रोविरुध्द उभियो, किन सरकारबाट बाहिरिनु पर्ने अवस्था बन्यो भन्ने कुराको समीक्षा त हुनैपर्छ । हामीले माधव नेपाललाई मात्र दोष दिएर हुँदैन’, ती नेताले भने ।
ओलीको पार्टी संचालन गर्ने तरिकालाई लिएर पनि असन्तुष्टि बढेको ओलीतिरैका एक नेता बताउँछन् । ओलीले दोस्रो तहका नेतालाई भन्दा गोकुल बाँस्कोटा, महेश बस्नेत,निरु पाल,राजन भट्टराई,सूर्य थापाहरुलाई बढी विश्वास गरेका कारण पनि समस्या एकपछि अर्को थपिँदै गएको उनको विश्लेषण छ । सुवास नेम्वाङ,ईश्वर पोखरेलजस्ता पाका र अनुभवी नेताहरुलाई पछि पारेर भर्खरै राजनीतिमा आएकाहरु हावी हुन थालेपछि एकताको वातावरण बिग्रिएको उनले दाबी गरे ।
यता,प्रवक्ता प्रदीप ज्ञवाली पनि भित्रभित्रै ओलीसंग असन्तुष्ट बनेको बताइन्छ । परराष्ट्र मन्त्री हुँदा ओलीले दुई पटक क्याबिनेटमै फाइल फालिदिएपछि टाढिएका ज्ञवाली पछिल्ला घटनाक्रमसम्म आइपुग्दा थप असन्तुष्ट बनेको चर्चा एमाले वृत्तमा छ ।
ओली भने आफ्नो रोडम्यापमा निर्धक्क अघि बढिसक्नु भएको छ । माधव समूहलाई पार्टीमा ल्याए आगामी नेतृत्व गुमाउनुपर्ने भयका कारण उहाँ एकताप्रति अनुदार बनेको कतिपयको विश्लेषण छ । त्यहि बुझेर होला, माधव नेपालले आश मारिसक्दा पनि नेपाल समूहका केही नेता भने एकताको पक्षमा अझै दृढ देखिन्छन् । जसका कारण नेपाल समूहभित्र पनि असन्तुष्टि चर्किंदो छ ।
टिप्पणीहरू