रुकुमपश्चिममा तराईमूलका पुरुष मृत फेला

रुकुमपश्चिममा तराईमूलका पुरुष मृत फेला

रुकुमपश्चिमको मुसिकोट नगरपालिका १२ र त्रिवेणी गाउँपालिका जोड्ने स्याउलीबजार नजिकै सोमबार साँझ एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठले शव कसको हो भन्नेबारे केही पनि नखुलेको बताउनुभयो । स्थानीयले खबर गरेपछि सोमबार राति नै शवलाई जिल्ला अस्पताल सल्लेमा ल्याइएको र आज पोष्टमार्टम गरिने जानकारी दिनुभएको छ ।

‘शवको पहिचान भएको छैन,’ डिएसपी श्रेष्ठले भन्नुभयो, ‘मागेर खाने गरेका तराईमूलका मान्छे हो कि भन्ने स्थानीयले आशंका गरे तापनि पहिचान भने खुलेको छैन ।’

वर्षाको कारण सडक माथिबाट आएको ढुंगा लागेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । तर थप अनुसन्धानपछि मात्र वास्तविकता बाहिर आउने श्रेष्ठले बताउनुभयो ।

शवको प्रकृति हेर्दा तराईवासी जस्तो, कालो हाफपाईन्ट लगाएको, खैरो रंगको टिसर्ट लगाएको र अन्दाजी ५ फिट २ इञ्च उचाई भएको जनाइएको छ ।

टिप्पणीहरू