नाबालिका बलात्कार गर्नेलाई मृत्युदण्ड,प्रहरीलाई पुरस्कार

नाबालिका बलात्कार गर्नेलाई मृत्युदण्ड,प्रहरीलाई पुरस्कार

डेढ वर्षीया अवोध नाबालिका बलात्कार गरेका एक पुरुषलाई भारतमा मृत्युदण्डको सजाय सुनाइएको छ । उत्तरप्रदेशकी ती नाबालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा ३० वर्षीय परशुराम पुत्र मंग्रेलाई हिजो उक्त सजाय सुनाइएको हो । अदालतले ८ पटकको निरन्तरको पेशीमा मंग्रेलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

घटना अनुसन्धानको क्रममा प्रहरीले डीएनए परीक्षणको लागि जुलाई १ मा कानुन विज्ञान प्रयोगशाला,गोरखपुरमा सबै प्रमाण पठाएको थियो । डीएनएको रिपोर्ट प्राप्त भएपछि अगष्ट २ तारिखदेखि अदालतले उक्त मुद्दाउपर प्राथमिकताका साथ बहस पैरवी थालेको हो ।

अगष्ट १२ का दिन अदालतले परशुरामलाई दोषी साबित गरेको छ । नितिन पाण्डेलगायतका न्यायाधीशको इजलासले १६ अगष्टका दिन मंग्रेलाई दोषी सावित गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

जघन्य अपराधबाट मारिएकी नाबालिकालाई न्यायाधीशले बहसको क्रममा सिंहनी नामबाट सम्बोधन गर्नुभएको थियो । भविश्यमा यस्तो कुकर्म अरु कसैले भोग्न नपरोस् भन्नेतर्फ सचेत हुँदै गरिएको आदेश आगामी दिनमा एउटा राम्रो नजिर हुने न्यायाधीशले विश्वास लिनुभएको छ ।

घटनाको सत्यतथ्य र यथार्थ छानबिन गर्ने नानपारा प्रहरी थानाको टोलीलाई गोरखपुरस्थित प्रहरी कार्यालयले ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरेको छ । त्यसैगरी उक्त प्रहरी थानालाई राज्य सरकारले कदरपत्रसहित १ लाख रुपैयाँ पुरस्कारसमेत प्रदान गरेको छ ।

टिप्पणीहरू