कस्ता महाराज, कस्तो काण्ड

  • राजेन्द्र स्थापित

नाभा भारतको पञ्जाब राज्यभित्र पर्छ । सन् १७६३ मा जैसलमेरका सिख सरदार यहाँको प्रथम राजा बने । रञ्जित सिंहको समयमा यो ब्रिटिश इष्ट इण्डिया कम्पनीअन्तर्गत रहन गयो । सन् १८५७ मा जब पञ्जाबमा ठूलो विद्रोह भयो, राजा भगवान सिंहले साथ दिएकाले उपहारस्वरुप बेलायती सरकारले यसलाई अलग्गै राज्यको दर्जा दियो । भगवान सिंहको क्षयरोगले मृत्यु भएपछि सन् १८७१ मा छोरा हिरा सिंह राजा बने । उनका चार रानी थिए तर सन्तान भने जस्मिर कौरबाट मात्र जन्मिए । एउटा छोरा रिपुदमन सिंह र छोरी रिपुदमन देवी ।

बेलायती गभर्नरले रिपुलाई भर्खरै स्थापित इंग्लिस पब्लिक स्कुलमा पढाउन सिफारिस गरे तर हिरा सिंहले मानेनन् । घरमै शिख शिक्षक राखेर अध्ययन अघि बढाए । रिपुले १८ वर्षको उमेरमा जगदिश कौर, सन् १९१८ मा सरोजनी देवी र सन् १९२३ मा गुरुचरण कौरसित बिहे गरे । सन् १९०६ मा कलकत्ता राज्यपरिषद्को सदस्य बने । गोपालकृष्ण गोखले र मदनमोहन मालवीयजस्ता देशभक्तहरुसँग मिलेर काम गरे । प्रेसमाथि नियन्त्रण गर्ने कानुन पारित हुनबाट रोके । सन् १९११ मा बेलायती सम्राट जर्ज (पञ्चम) को राज्याभिषेकमा भाग लिन लण्डन गए । युरोप भ्रमणकै क्रममा फ्रान्स पुग्दा हिरा सिंहको निधनको खबर पाउनेबित्तिकै भारत फर्के । हिरा सिंह मर्नु अघिल्लो दिन मात्र राजाबाट ‘महाराजा’ घोषित भएका थिए । त्यसैले रिपु नाभाको महाराज बने ।

रिपुलाई राम्री युवती देख्नै हुँदैनथ्यो । हासिल गर्न जस्तोसुकै कदम चाल्थे । यौनतृप्ति पाउन गाउँगाउँबाट उठाएर ल्याइएका किशोरी युवतीहरुलाई शारीरिक कष्ट दिन्थे । जनावरसरह पेश हुन्थे । एउटी युवती थिइन् प्रितम कौर । सडकमा हिँडिरहेको देखेपछि बोलाउन पठाए । युवती मानिनन् । प्रितमका बाबु ठूलै पदमा थिए । उनलाई उपस्थित हुन लगाए । छोरीको बिहे आफूसँग गरिदिन दबाब दिए । रिपु यसमा पनि सफल भएनन् । प्रितम बिए उत्तीर्ण थिइन् । महाराजको प्रत्येक धम्की र लोभलाई खासै महत्व दिइनन् । महिनौं बित्यो, प्रितम रिपुको जालमा फसिनन् । कुरो बिग्रन थालेको देखेपछि आमाबाबुले उनको बिहे शहरकै धनी केटो समशेर सिंहसँग गरिदिन लागे । तर रिपुको दबाबमा बिहे रद्द भयो ।

समस्याले गम्भीर रूप लिन थालेपछि प्रितमसहित परिवारले शहर छोड्यो । तर सिमानामै समातिए र जेल परे । आमाबाबुलाई प्रहरीले ठूलो यातना दिए । केही दिनपछि तीनैजनालाई अलग–अलग कोठामा थुनिदिए । महाराजा रिपु भेष बदलेर कैदी बुटा सिंह बने । प्रितम र उनका आमाबाबुसित हिमचिम बढाए । प्रितमको सामुन्नेको कोठा लिएर गफ गर्न थाले । रसिलो कुराकानी थाले । तर यसका बाबजुद प्रितमको मनमा कुनै प्रेम जागेन । यसपछि बुटा सिंहले अर्को उपाय निकाले । जेलरको सहयोगमा विषालु सर्प मगाए, जसको विषको थैली निकालिसकिएको थियो । मध्यरात सर्प प्रितमको कोठामा छोड्न लगाए । त्यसबेला प्रितम भुइँमा सुतेकी थिइन् । सर्प शरीरमा चढ्न थालेपछि बिउँझिन् । हातखुट्टा सर्पले बेरिसकेको देखेपछि डराएर चिच्याइन् । मद्दत मागिन् । कोही बचाउन आएनन् । अचानक बुटा सिंह प्रकट भए । जेलरसँग लिएर आएको भालाले सर्पलाई रोपेर कुल्चन थाले । प्रितम डराएर बुटा सिंहलाई अंगालो हाल्न पुगिन् । बुटा सिंहले एक–एक गरी सबै सर्प मारे । त्यसबेलासम्ममा सबै कैदी र प्रितमका बाबुआमा भेला भइसकेका थिए । प्रितम चिच्याउँदा चिच्याउँदै बेहोस भइन् । चिकित्सक आएर स्वास्थ्य जाँच गर्न थाले । प्रितमले बेहोसीमै पटकपटक बुटा सिंहको नाम लिइन् । होश भोलिपल्ट बिहान मात्र खुल्यो ।

प्रितम अब आफ्नो ज्यान बचाइदिने बुटा सिंहलाई इज्जत र प्रेम गर्न थालिन् । भेष बदलेर त्यहीं उभिइरहेका प्रहरी प्रमुखले तत्काल आदेश जारी गर्दै प्रितम र बाबुआमालाई रिहा गरिदिए । रिहाइपछि उनीहरु टाढाको एउटा गाउँमा बस्न गए । केही दिनपछि आमाबाबुकै मञ्जुरीमा बुटा सिंहले बिहे गरी प्रितमलाई आफ्नो गाउँ लिएर गए र केही दिनपछि दरबार लगे । त्यसपछि मात्र प्रितम र आमाबाबुले बुटा सिंहको वास्तविक रुप थाहा पाए । बुटा सिंह उर्फ रिपुदमनले प्रितम कौरसँग महिनौं दिन मोजमस्ती गरे । अनि अरु रानीलाई सरह जनाना घरमा जाकिदिए । शिक्षित प्रितमको बाँकी जीवन अन्य रखैलसरह बित्यो । प्रितमका आमाबाबु महाराजा रिपुले दिएको धोका सहन नसकेर मरे ।
महाराजा रिपु जति बहादुर थिए, नचाहिने काम गर्नमा पनि उत्तिकै माहिर थिए । कुनै युवतीले उनको यौनतृप्त गर्न मानेनन् भने चाडपर्वको मौका पारेर नजिकको जंगलमा मेला वा उत्सव आयोजना गर्न लगाउँथे । मन पर्ने युवतीलाई एकान्त जंगलमा बस्ने व्यवस्था मिलाउन लगाउँथे । राति बदमासहरु पठाएर हमला गराउँथे । युवतीको परिवारलाई कुटपिट गरेर पलंगमा बाँध्न र युवतीलाई जंगल लैजान लगाउँथे, जहाँ बदमासहरु बलात्कार गर्ने बहानामा युवतीको लुगा च्यातिदिन्थे । युवती मद्दतका लागि रुँदै, चिच्याइरहेको ऐन–मौकामा पदयात्रीको भेषमा पुगेर बचाउँथे । सहानुभूति प्रकट गर्थे । र, युवतीको भावनामाथि खेलवाड गर्दै यौनचाहना पूरा गर्थे । यसो गर्दा कतै पनि कृत्रिमता नझल्कियोस् भन्नेतर्फ सजगता अपनाउँथे । बदमासहरुलाई प्रहरीकोमा सुम्पेर जेल पठाउन लगाउँथे । तर, त्यस्ता बदमासहरु सजायँ काट्दैनथे । उल्टो इनामसहित छुट्थे ।

पञ्जाबभित्रकै पटियाला राज्यका महाराजा भूपेन्दर सिंह र रिपुदमन सिंह दुवै आफूलाई श्रेष्ठ मान्थे । मतभेद राख्थे । तथापि दुवै सिख मात्र होइन, नाताले दाजुभाइ नै पर्थे । एकपटक भूपेन्दर सिंह इष्टमित्रलाई भेट्न नाभा पुगे । घुमफिरको क्रममा सडकपारि एउटा जंगली बाह्रसिंगेलाई देखे । तत्काल बन्दुक ताकेर गोली हाने । तर, निशाना चुक्यो । बाह्रसिंगे भाग्यो । महाराजले गाडीबाट त्यसको पिछा गर्न लगाए । भागेको बाह्रसिंगेको पछिपछि चालकले गाडी बेतोडले कुदाए । मसाना गाउँ पुगेपछि महाराजा बाह्रसिंगेलाई मार्न सफल भए । गाउँमा पुरुष–महिला, केटाकेटी सबै एकत्रित भए । सोही भीडमा रचनी नामकी युवती थिइन् । किसानपुत्री  । सुडौल शरीर, सुनौलो कपाल र नीलो आँखाकी धनी अर्थात् त्यति सुन्दरी युवती पञ्जाबमा कमै देख्न पाइने । देख्नेबित्तिकै महाराजाको मन विचलित भयो । पटियाला फर्केर पटक–पटक रचनीका आमाबाबुलाई सन्देश पठाए । छोरी लिएर पटियाला आउन निमन्त्रणा दिए तर किसान परिवारले महाराजको हुकुम अस्वीकार गर्दै गए । सम्झाएर, बुझाएर पार नचलेपछि भूपेन्दरले सेना पठाएर रचनीलाई जबर्जस्ती पटियाला ल्याउन आदेश दिए । रचनी अपहरित भई पटियाला पुगिन् ।

आफ्नो राज्यको सीमाभित्रबाट रचनीलाई जबर्जस्ती उठाएर लगेको घटनाले नाभाका महाराज रिपुदमन रिसाए । दुवैबीच तँ–तँ र म–म भयो । पटियालामाथि आक्रमण गर्न सेना पठाए । ठूलो संघर्ष भयो । दुवैतर्फ धेरै सैनिक मरे, घाइते भए । दुई आंशिक सार्वभौम साना राज्यबीच युद्ध नै छेडिएपछि भारत सरकारले हस्तक्षेप ग¥यो । एउटा जाँचबुझ आयोग गठन गरेर भाइसरायसमक्ष प्रतिवेदन बुझाउन आदेश ग¥यो । आयोगले दुई वर्ष लगाएर जाँचबुझ ग¥यो । मारकाट, आगजनी कसबाट शुरु भयो, वास्तविक दोषी दुई महाराजमध्ये को हुन् ? उल्लेख गरियो । प्रतिवेदनको आधारमा भारतस्थित बेलायती प्रतिनिधि भाइसरायले पटियालाका महाराजको पक्षमा निर्णय दिए । बेलायत सरकार रिपुलाई अपदस्थ गर्न बहाना खोज्दै थियो । रिपुले न्यायव्यवस्थामा गरेको प्रगतिशील सुधारबाट चिढिएको थियो । सन् १९१९ मा अमृतसरमा सरकारको तर्फबाट नरसंहार हुँदा त्यसको खुलेर विरोध गर्नेमा रिपु नै थिए । भूपेन्दर सिंह शुरुदेखि नै बेलायती सरकारको पक्षधर । त्यसैले भाइसरायले रचनी अपहरण काण्डमाथि टेकेर रिपुलाई गद्दी त्याग्न आदेश दिए ।

भाइसरायको निर्णयको औपचारिक जानकारी दिन कर्णेल मिन्चिनलाई नाभा पठाइयो । मिन्चिन हतियारले सुसज्जित पैदल सेना, घोडचढी अंगरक्षकहरुको टोली र अम्बाला छाउनीको एक सैन्य टुकडीसहित नाभा पुगे । र, गभर्नर जनरलको प्रतिनिधि आइपुगेको खबर पठाए तर रिपु दरबारबाट निस्केनन् । महाराजले निर्णय मान्ने कि नमानिकन ब्रिटिश सरकारसित लड्ने भन्ने विषयमा दरबारभित्र छलफल चलाए । बाहिर प्रतिक्षारत कर्णेल मिन्चिन रिसले आगो बन्दै कराए, ‘ए अकाली, बाहिर निस्क !!’ त्यसबेला अकाली शिखहरुले ब्रिटिश सरकारविरुद्ध आन्दोलन चर्काइरहेका थिए । ब्रिटिश सरकारको शंका थियो– रिपु आन्दोलनको सहयोगी बनेका छन् । तर रिपु दरबारबाहिर फौजको तैनाथी देखेर डराए र आफ्नै एक सहयोगी क्याप्टेन ओ ग्रेको दबाबमा परेर सन् १९२३ को जुलाई ७ मा गद्दी त्याग्ने सम्झौतामा हस्ताक्षर गर्दै बाहिर निस्केर आत्मसमर्पण गरे । तुरुन्तै एउटा बन्द गाडीमा राखेर उनलाई अम्बाला पठाइयो । दुई दिनपछि जुलाई ९ मा रिपुकै चार वर्षीय छोरा प्रताप सिंह (रानी सरोजनीदेवीतर्फका) महाराजा घोषित भए ।

भाइसरायले रिपुलाई पछि देहरादून पठाइदिए । वार्षिक तीन लाख भारु पेन्सन दिनेगरी । महाराजा प्रताप सिंह नाबालिग रहेको दलिल दिएर नाभालाई पूर्णतः ब्रिटिश सरकारको नियन्त्रणमा पारियो । रिपुको जबर्जस्ती अपदस्थी र नाभालाई ब्रिटिश प्रशासनभित्र पार्ने कदमविरुद्ध जनताले विद्रोह गरे । रिपुलाई पुनः सिंहासनमा बसाल्ने माग उठाए । विद्रोहले छिट्टै धार्मिक आन्दोलनको रुप लियो । यद्यपि जयतु मोर्चा रिपुको पुनस्र्थापनामा असफल रह्यो । ब्रिटिश सरकारको विरोध गरेको आरोपमा रिपु देहरादूनबाट पनि धपाइए । सुदूरदक्षिणको कोडाइकनाल पु¥याइए । पेन्सनको रकम १ लाख २० हजारमा झारियो । अन्य सुविधा पनि खोसियो । रिपुले कोडाइकनालमै बसेर गद्दी प्राप्त गर्ने कोसिस जारी राखे । राष्ट्रवादी शक्ति, अधिवक्ता र पत्रकारहरुसँग सहकार्य गर्दै गए तर सबै कोसिस बेकार सावित भयो । केही सीप नलागेपछि सन् १९२७ मा श्री अविचलनगर हजुर साहेबको धार्मिक यात्रामा गए । त्यहाँको खाल्सामाथि कब्जा गरी बसे । नाउँ फेरेर गुरुचरण सिंह राखे । उक्त गतिविधिबाट रुष्ट ब्रिटिश सरकारले सन् १९२८ मा उनले ओगट्दै आएको सबै सरकारी पद र सुविधाबाट वञ्चित गरिदियो । उनको निधन ५९ वर्षको उमेरमा सन् १९४२ को डिसेम्बर १२ मा कोडाइकनालमै भयो । सन् १९४७ मा भारत स्वतन्त्रतासँगै नाभा भारतको अंग बन्यो ।

टिप्पणीहरू