कसले पाउला चाबी कार्यकारीको ?

चीन सरकारको सहयोगमा बनेको अस्पताललाई चीनकै खाँचो छ । क्यान्सरका सिनियर डाक्टर हुन् उनी । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका संस्थापक । यहाँका मेडिकल डाक्टरमध्ये पहिलो नियुक्ति पाएका । ०५२ असोज २५ गते डे केयर सेन्टर खोलेर क्यान्सर रोगको स्वास्थ्य सेवारम्भ गरिँदाका इञ्चार्ज ।

नर्वे, जर्मनलगायत विदेशीले आकर्षक सेवा, सुविधा दिएर लैजान निकै जोड गरेका थिए । समकक्षी तथा सँगैका अरू कोही विदेश पलायन भए । कोही यतै प्राइभेट अस्पताल खोली मनग्ये आम्दानी गर्दैछन् । तर, उनी भने कतै नलागी यतै सेवारत छन् । कार्यकारी निर्देशकको तीनवर्षे पदावधि सकिनै लाग्यो । सिटी स्क्यान, मेमोग्राफीलगायत मेसिन चल्ने नहुँदा बिरामीहरू बाहिर चर्काे शुल्क तिर्न बाध्य थिए पहिले ।
चिनियाँसँग राम्रो सम्बन्ध भएका डा. चिनबहादुर पुनले २०७२ साउनमा सम्झौता गरी फागुनमा रु. ३१ करोड बराबरका अत्याधुनिक मेसिन, उपकरण सहयोगस्वरूप भिœयाउन सफल भए । ६४ स्ल्यासको सिटी स्क्यान मेसिन चितवनमै पहिलोपटक आइपुग्यो । त्यो सँगै डिजिटल मेमोग्राफी, लेजर सर्जरी इक्विप्मेन्ट लगायत ४० वटा उपकरण चीनले उपलब्ध गरायो । नयाँ एमआरआई समेत उनकै पालामा सञ्चालनमा ल्याइएको छ । केही समयदेखि सेकाइका मेसिन बिग्रेको छ । नयाँ कार्ययोजना अन्तर्गत रेडियोथेरापी मेसिन ब्राकीथेरापी, लिनेक, सिमुलेटर ल्याउन पुनले बोर्ड मिटिङबाट पारित गराई खरिदको काम अगाडि बढाइसकेका छन् । टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

२०० बेडको निर्माणाधीन भवनको काम पनि सकेसम्म छिटो सकाउन प्रयत्नरत छन् । बीचमा भूकम्प, बजेट आदिका कारण केही ढिलाइ भए पनि भदौसम्म भवन तयार भइसक्ने गरी तीव्र गतिमा निर्माण भइरहेको छ । कर्मचारीको वर्षांैदेखि थाती रहेको स्थायी र बढुवाको काम पनि सकियो । २६ जना सुरक्षागार्ड, ६६ जना स्टाफनर्स हालै स्थायी भएका छन् । १५ जना डाक्टर, टेक्निसियन र स्टाफ नर्सको बढुवा भयो । रजिस्ट्रारको स्थायी प्रक्रिया पनि अघि सरेको छ ।

चीनको हुबे युनिभर्सिटीसँग सम्झौता गरी २२ जना चिकित्सक, सिस्टर र टेक्निकल स्टाफहरूको टे«निङ भइरहेको छ । अमेरिकाको फक्स चेज क्यान्सर सेन्टरसँगसमेत सम्झौता गरी पुनले विदेशी चिकित्सकको टोलीबाट अन्तर्राष्ट्रियस्तरको सेवा पनि यहाँका बिरामीलाई उपलब्ध गराएका छन् । नर्वेको बर्गेन युनिभर्सिटी र ओस्लो युनिभर्सिटीसँग मिलेर यस अस्पतालमा क्यान्सर रोगसम्बन्धी विभिन्न अनुसन्धान भइरहेको छ, जसमा बिरामीलाई उपचारका लागि तीन लाख रुपैयाँसम्म सहयोग प्राप्त हुने भएको बुझिएको छ । यस्तै अन्य देशका क्यान्सर युनिभर्सिटीहरूसित पनि यस अस्पतालको विकासका लागि महत्वपूर्ण सम्झौता गर्न उनको कार्यकाल सफल भएको छ । यही चैत्र २६ गतेको बोर्ड मिटिङबाट बिपी कोइराला मेमोरियल नेशनल क्यान्सर इन्स्टिच्युट बनाउने प्रस्तावसमेत पास भएको उनले बताए ।

डा. चीनको कार्यकालमा बिचौलियाको बिगबिगीसमेत नियन्त्रण भएको छ । यसअघि लामो समयदेखि यस अस्पतालमा आउने बिरामीलाई गेटबाहिर एवं भित्रभित्रैबाट प्राइभेट अस्पतालमा लग्न बाहिर–भित्रका कमिसनखोर निकै सक्रिय थिए । यहाँका कतिपय डाक्टर, टेक्निसियन ड्युटी आवरमै प्राइभेटमा गएर काम गर्थे । कर्मचारीको हाजिर व्यवस्थापन कम्प्युटर सिष्टमबाट गरिएको छ । ड्युटी आवरपछि पनि प्राइभेट प्राक्टिस पूर्णरूपमा बन्द गर्न विस्तृत अस्पताल सेवा इएचएस लागू गर्ने तयारी छ । पहिले–पहिले हस्तलिखित बिल पनि काट्ने गरिन्थ्यो । अहिले सम्पूर्ण रूपमा क्यास काउन्टरको बिलिङ कम्प्युटर प्रणालीबाट गराइएको छ । बिरामी लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन्, टिकट काउन्टरमा टोकन सिस्टम लागू गरिएको छ । विगतमा सवारीसाधन अस्पताल कम्पाउन्डभित्रै राख्ने गरिन्थ्यो । अहिले उता हलतर्फ व्यवस्थित पार्किङ बनाइएको छ । क्वार्टर (आवास)को प्रयोगमा समेत मनपरी भइरहेको थियो । अहिले डा. पुनले व्यवस्थापन समिति नै बनाएर क्वाटरको प्रयोग व्यवस्थित गराउँदै छन् ।

प्याथोलोजी विभाग प्रमुख डा. चिन २०७१ वैशाख १९ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए । लप्पन–छप्पन नगर्ने स्वच्छ छविका छन् । पदका लागि राजनीतिक खिचातानी हुने यो देशमा बोर्ड मिटिङले साँचो कसलाई सुम्पिने हो ? कार्यकारी निर्देशक लगातार दुई कार्यकाल हुन नपाउने कुनै बाध्यकारी नियम पनि नभएको हुँदा यस अस्पताललाई माया गर्ने डाक्टर, कर्मचारी एवं स्थानीयले उनैको निरन्तरता चाहेका छन् । हेरौं, के हुने हो ?

– अजय गोर्खाली

टिप्पणीहरू