सरकारबाट प्रतिपक्षमा पुग्नु ठूलो धक्का-एमाले अध्यक्ष ओली

सरकारबाट प्रतिपक्षमा पुग्नु ठूलो धक्का-एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हिजोदेखि अन्त्य गरेको संसद बैठकलाई एमाले विभाजित गर्न खोजिएको षड्यन्त्र भन्नुभएको छ ।

संसद बैठक अन्त्य गर्ने र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीलाई उहाँले एमाले विभाजित गर्न खोजिएको खेलको आरोप लगाउनुभएको हो ।

मिति उल्लेख नगरी एमाले अध्यक्ष ओलीले जारी गर्नुभएको वक्तव्यमा नेकपा एमाले र संसदीय दल विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने ठहर गरिएको छ । उहाँले भन्नुभएको छ, ‘पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

उहाँले आफ्नो कमजोरीको बारेमा उल्लेख नगरी संसदमा सबैभन्दा ठूलो दल सरकारको नेतृत्वदायी भूमिकाबाट प्रतिपक्षमा पुगेको पनि वक्तव्यमा उल्लेख गर्नुभएको छ । के कारणले त्यस्तो अवस्था आयो भन्नेबारे वक्तव्य मौन छ । बरु उहाँले सरकारपक्षबाट प्रतिपक्षमा पुग्नुलाई ‘धक्का’ महसुस भने गर्नुभएको छ ।

‘यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न सम्पूर्ण कमरेडहरुलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गर्दछु,’ उहाँले उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू