सरुवा पाउन बिचौलियाको दैलोमा हाकिमहरुको हुल

सरुवा पाउन बिचौलियाको दैलोमा हाकिमहरुको हुल

हालै बढुवा भएर फुली लगाएका सशस्त्र प्रहरी बलका १५ जना एसपीसहितको सरुवा र पदस्थापन भएको छ । त्यहि मौकामा राम्रो ठाउँ खोज्दै उनीहरु बिचौलियाकोमा पुगेको देखिएको छ ।

नयाँ र आकर्षक ठाउँमा पोष्टिङको लागि बिचौलिया नरेश भट्टको बूढानीलकण्ठस्थित दैलोमा धाउनेहरु धेरै जना देखिएको स्रोतले बताएको छ । ‘संगठनको सिस्टमले काम नगरेपछि त्यस्तै हो,’स्रोतले भनेको छ, ‘ठूला हाकिमहरु नै बिचौलिया र दलालीको च्यानल समात्ने र आफ्नो दुनो सोझ्याउने भएपछि के नै बाँकी रह्यो र ! ’

सशस्त्रका ३ जना अर्दलीको सेवामा रमाइरहेका बिचौलियाले दिनदिनै आईजीपीको शरद भवनमा छिरेर कुरो पुुर्याउने,उहाँको मुख सुँघेर सरुवाको चुरो पत्तो लगाउने र थप रणनीति तय गरेर आफूकोमा शरण परेकालाई उपयुक्त बाटो बताउने काममा सहयोग गरेका थिए ।

बिचौलियाले कसरी प्रहरी सरुवामा आफ्नो हात माथि पार्यो भन्ने थाहा पाउन तिनका मोबाइल र बैंक खाताको अख्तियारले विवरण हेर्ने हो भने सजिलै पत्ता लगाउन सकिने बताइन्छ । स्रोतका अनुसार त्यसबाट उनीहरुलाई कसले कति कोसेलीपात हालिदिएका छन् भन्ने सर्लक्क देखिन्छ ।

उक्त गलत कार्यको पुष्ट्याईंका लागि अख्तियारले पहल गरेमा उनीहरुको मोबाइलबाट कसले कति रकम हाल्यो,कति रकम ट्रान्सफर भयो सबै थाहा हुन्छ । अहिले अख्तियार प्रमुख रहनुभएका प्रेम राई पहिले गृह सचिव भइसकेकाले उनीहरूको कला कौशलको बारेमा धेरथोर जानकार पनि हुनुुहुन्छ ।

सशस्त्रमा विशेषगरी नेपाल भारत सीमामा रहेका क्षेत्रमा जानको लागि मरिहत्ते गर्ने प्रचलन बढेको छ । जसले बोर्डरमा बसेर राष्ट्रको सुरक्षा गर्नुपर्छ उनीहरु मरिहत्ते गर्नुको रहस्य अर्कै रहेको बताइछ । उनीहरुको बैंक खाता र मोबाइलमा भएको कुराकानी सुन्ने हो भने सशस्त्र र नेपाल प्रहरीमा राम्रो ठाउँमा पोष्टिङको लागि वरिष्ठहरुले के के गर्छन् भन्ने विवरणको एउटा चित्र आउने स्रोतको दाबी छ ।

सशस्त्रमा अन्य तहको साउनमा हुनुपर्ने सरुवा अहिलेसम्म भएको छैन । उता,डिआईजीको हालसम्म रोकिएको सरुवामा गृहमन्त्री बालकृष्ण खाँडसमेत मुछिएको बताइन्छ ।

टिप्पणीहरू