आज पनि राजधानीमा जताततै धर्ना र जुलुस

आज पनि राजधानीमा जताततै धर्ना र जुलुस

राजधानी काठमाडौंमा आज पनि धर्ना र जुलुस हुने भएको छ । कतिपय कार्यक्रम महिनौंदेखि हुँदै आएकामा आजलाई पनि निरन्तरता दिइएको छ । जसअन्तर्गत नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध बिहान ९ बजेदेखि धर्ना कार्यक्रम राखिएको छ ।

नेपाल टेलिकममा आज त्यहाँका कर्मचारी युनियनले बिहान १० बजेदेखि धर्ना हुने बताएका छन् । उनीहरुले साउन १ गतेदेखि विनियमावलीको बिरोधमा धर्ना गर्दै आएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा पनि त्यहाँका कर्मचारी संगठनहरूले प्राधिकरण विभाजन गर्ने दुई वटा विधेयक फिर्ता हुनु पर्ने माग राखेर आन्दोलन सुरु गरेका छन् । उनीहरुले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा साउन २८ गतेदेखि लगाएको तालाबन्दीलाई आज पनि कायम राख्ने भएका छन् ।

उता आरएनसीमा पनि कर्मचारीहरुले सँधैझैँ आज पनि दुई घण्टा धर्नाको कार्यक्रम राखेका छन् । उनीहरुले नेपाल वायुसेवालाई पब्लिक लिमिटेड बनाउन लागिएकोमा बिरोध गरेका हुन् ।

आजै राजनीतिक दलहरुको बैठक समेत बोलाइएको छ । जसमा जनता समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बिहान ११ बजे बोलाइएको छ ।

त्यसैगरी, नेकपा (एमाले) स्थायी कमिटीको बैठक बिहान ११ बजे बोलाईको छ । बैठक तुल्सीलाल स्मृति भवन, च्यासलमा बोलाइएको हो ।त्यसैगरी नेकपा (एमाले) संसदीय दलको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बोलाइएको छ ।

राष्ट्रिय युवा संघ, नेपालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने संघले जनाएको छ ।

उता संसदमा पनि समितिहरुको बैठक बोलाइएको छ । बिहान ११ बजे महिला तथा सामाजिक समितिको बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बोलाइएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बोलाइएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले भने आन्दोलको कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । बिहान साढे ११ बजे बबरमहलमा घोषणा गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक समितिको सभाकक्ष, सिंहदरबारमा दिउँसो २ बजे बोलाइएको छ ।

आजै विष्णुजंग बस्नेतले जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह परित्याग घोषणा गर्दैछन् । उनले दिउँसो १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले पनि आज तेस्रो चरणको अभियान थाल्ने भएको छ । उसले दिउँसो १ बजे माइतीघर मण्डलामा कार्यक्रम गर्न लागेको बताइन्छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको माग राख्दै आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनिएको छ ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति, नेकपा (एमाले) निकट अनेरास्ववियु त्रिवि समिति, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) त्रिवि समितिले हालै स्कुल अफ म्यानेजमेण्टले लिएको प्रवेश परीक्षामा आर्थिक अनियमितता भएको आरोप लगाउँदै निर्देशक प्रा. डा. पुष्कर शर्माको कार्यकक्षमा अस्तिदेखि लगाएको तालाबन्दी जारी राख्ने भएका छन् ।

क्याथफोर्ड कलेज ललितपुर र पशुपति बहुमुखी क्याम्पस, चाबहिलमा विद्यार्थी संगठनले लगाएको तालाबन्दीलाई आज पनि कायम राखेका छन् ।

टिप्पणीहरू