पारीबाट दुलही र मोटरसाइकल ल्याउने,मनपरी कुदाउने

पारीबाट दुलही र मोटरसाइकल ल्याउने,मनपरी कुदाउने

कपिलवस्तुको सीमावर्ती क्षेत्रमा अपराधिक घटनाका फरार अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ । एकपछि अर्को अपराधिक घटना बढ्दा सुरक्षा चुनौती थपिएपछि फरार अभियुक्त समात्ने अघोषित अभियान शुरु गरेको प्रहरीले साउन महिनामा मात्रै २३५ जनालाई पक्राउ गरेको हो ।

नेपाल-भारत खुला सीमानाका कारण कपिलवस्तुमा आपराधिक घटना उच्च छ । नेपालतर्फ अपराध गरेर भारतमा लुकीछिपी बस्न सहज हुने भएकाले सीमावर्ती क्षेत्रमा अपराधका घटना बढेको हो । प्रहरीका अनुसार कपिलवस्तुमा अहिलेसम्म विभिन्न अपराधमा संलग्न १२ सय भन्दा बढी अझै फरार छन् । जसमध्ये कतिपय १५ वर्षदेखि फेला परेका छैनन् ।

गत आर्थिक वर्षमा १४१ फरार अभियुक्त समातेको प्रहरीले यो आर्थिक वर्षको साउन महिनामा मात्रै २३५ जनालाई समातिसकेको छ । जसमध्ये ७१ जनालाई अदालत पुर्याएको छ । अपराध गरेर भारत छिर्ने अनि लामो समय उतै बस्ने गरेकाले फरार अभियुक्तको संख्या बढेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमध्ये अधिकांश ठगी, बैंकिङ कसूर,कर्तव्य ज्यानजस्ता अपराधमा संलग्नहरु छन् । पाँच वर्षअघि बाणगंगा क्षेत्रमा हत्या गरेर फरार एक अभियुक्त हालै समातिएका छन् । अभियुक्तमाथि कर्तव्य ज्यानको मुध्दा चलाइएको प्रहरीले जनाएको छ । त्यस्तै,दुई वर्षअघि गोलीकाण्डमा संलग्न अर्का अभियुक्त पनि पक्राउ परेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारमा गएका छोरालाई भनेजस्तो कमाई नभएपछि एजेन्टको घरमै गई बम पड्काएर गोली हानी भागेका ती अभियुक्त हालै समातिएका हुन् । प्रहरीले अनुसन्धान सकेर कर्तव्य ज्यानको मुध्दा चलाएको छ ।

प्रहरीका अनुसार अधिकांश फरार अभियुक्त अनुसन्धानकै क्रममा छन् । प्रहरीले ‘कानुन कार्यान्वयन नै कानूनी राजको आधार’ भन्ने मर्मलाई आत्मसात गर्दै फरार अभियुक्त समात्ने अभियान थालेको हो । ‘अपराध गर्ने,भारत छिर्ने अनि नेपाल फर्किएर फेरि अपराधिक काममा जोडिने । गाउँघरमै निस्फिक्री डुलेर हिँड्ने गरेको पनि पाइएको छ । त्यस्ता अभियुक्तलाई प्रहरीले भटाभट समातिरहेको छ । जति वर्ष लागे पनि प्रहरीले समात्छ भन्ने सन्देश दिएका छौँ’,एक प्रहरी अधिकारीले भने ।

खुला सिमाना मुख्य चुनौती

प्रहरीले अपराध र फरार अपराधीको संख्या बढ्नुमा नेपाल-भारत खुला सिमाना मुख्य कारण मानेको छ । भारतीय नम्बर प्लेटका सवारी साधन निस्फिक्री चलाउन दिँदा स-साना अपराधिक घटना बढेको प्रहरीको निष्कर्ष छ ।

दाइजोमा पाएको मोटरसाइकल चलाएर सीमा वारपार गर्ने अनि नेपालमा अपराध गरेर भारततिर भाग्ने गरेकाले अपराधी समात्न चुनौती थपिएको हो । ‘भारतमा बिहा गर्ने,दाइजोमा मोटरसाइकल लिने र नेपालमा चलाउने गर्छन् । पहिला सुविधामा पाएको मोटरसाइकलको ट्याक्स तिर्नुपर्थ्यो,अहिले त्यस्तो छैन । सीमामा अपराध गर्ने अनि मोटरसाइकल त्यसै छोडेर भाग्नेहरु धेरै छन्; एक प्रहरीले भने ।

भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरेर सीमा वारपारका अपराध गर्नेको संख्या बढेपछि प्रहरीले त्यस्ता सवारी साधनको अस्थायी रजिष्ट्रेसन गर्न थालेको छ । भारतमा सवारी धनीको नाम,वतन र सम्पर्क नम्बर तथा नेपालमा सवारी चलाउनेको नागरिकताको फोटोकपी राखेर रजिष्ट्रेसन गर्ने गरेको प्रहरीले बताएको छ । रजिष्ट्रेसनमा सवारीको इन्जिन,च्याचिस नम्बर र फोटो पनि राख्ने गरिन्छ । नेपालतर्फ अपराध गरेर पारि भाग्नेहरुलाई त्यसैका आधारमा समात्न सहज हुने प्रहरीको विश्वास छ ।

नेपाली मोटरसाइकल चोरेर भारतीय नम्बरप्लेट राखी चलाउनेहरुका कारण पनि सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती बढेको छ । अधिकांश अपराधिक घटनामा जोडिएकाहरुले नेपाली मोटरसाइकलमा भारतीय नम्बर प्लेट हालेर चलाउने गरेको पाइएको छ । तस्करीका लागि प्रयोग गरिने त्यस्ता मोटरसाइकल पक्राउ परे त्यसै फालेर भाग्ने गरेको बताइन्छ । ‘सामानसहित प्रहरीले पक्राउ पर्यो भने मोटरसाइकल र सामान छोडेर भाग्छ । यसले पनि फरार अभियुक्तको संख्या बढाएको हो’, एक प्रहरी अधिकारीले भने ।

यद्यपि मोटरसाइकलको इञ्जिन र च्याचिस नम्बर हेरेर प्रहरी अपराधीसम्म पुग्ने गरेको छ । त्यस्ता घटनामा संलग्नलाई चोरी मुद्धा लगाइने गरेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा साना ठगीका घटना पनि बढेको छ । बैंकमा फर्जी डकुमेन्ट बुझाएर ऋण लिने र नतिर्नेको संख्या पनि उस्तै छ ।

टिप्पणीहरू