बर्बादै बनायो पहिलो दिनको आँशुले बरिलै

अर्काकी पत्नीलाई आफ्नी बनाएर, चार वर्षको जिन्दगीमा आफूसँग भएभरका सम्पत्तिको मालिक्नी पनि उनैलाई तोकेपछि अहिले आफू सडकमा, उनी महलमा ! भारत, जयपुरका वसिम रजाले काठमाडौं बसेर व्यापार गर्न थालेको पाँच–सात वर्षमै जिन्दगी यस्तो बनाए कि २२ वर्षको उमेरमै बाबु–बाजेबाट पाएको सबै सम्पत्ति सखाप । आफू मुटुको रोगी, बुबा सुगरको चाप बढेर नर्भिक अस्पतालमा भर्ना । नभएको होइन, घर, गाडी, सम्पत्ति सबथोक छ । तर, पत्नीका नाममा राखिएका ती सबथोक आज साथमा छैन । होटल हायात र ठमेलमा बहुमूल्य रत्नको व्यापार गर्ने उनै वसिमको पक्षमा प्रहरीले काम गर्न खोज्दै छ । तर, प्रधानमन्त्रीकी छोरी लगाएर प्रहरीलाई तर्साइरहेकी छन्, पत्नीले । अनि, यही नाममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नियमित तर्साउँछन् र जेलमा सडाइदिने धम्की पनि दिन्छन् ।

जस्फा नामले चिनिने चितवनकी तीर्थादेवी पाण्डेसँग वसिमको भेट ठमेलस्थित जेपी रोडमा भएको थियो, चार वर्षअघि । ०६६ सालमा पुर्कोट–३, नवलपरासी, दुम्कीबासको ठेगाना लेखी दोस्रो नागरिकता लिएकी, ०४२ साल असोज ५ जन्ममिति भएकी उनको भेट आफूभन्दा ९ वर्ष कान्छा वसिमसँग प्लेन टिकट काट्ने सिलसिलामा भएको थियो । जयपुर जानका लागि प्लेन टिकट बनाउन वसिम पुगेका थिए । जस्फा काम गर्थिन्, थर्डआई ट्राभलमा । तर, पहिलोचोटि लिएको टिकट सिस्टममा देखाएन । वसिम फेरि गए, त्यही टिकटका लागि । त्यसबेला उनी रोइरहेकी थिइन् । ‘किन ?’ भनेर सोध्दा जवाफ दिइन् ‘श्रीमान्ले कुट्यो । म ऊसँग बस्न सक्दिनँ !’

जस्फाको आँशुले उनलाई पगाल्यो । उनीहरु क्रमशः नजिक भए । भेटिएको केही दिनमै एउटा एकान्तमा पुगे, वाइन पिउन । वसिमलाई जस्फाले वाइन पिलाइन् र त्यही साँझ उनीहरुबीच संसर्ग भयो । पहिला एभरेष्ट क्यासिनोमा पनि काम गरेकी, कमल उप्रेतीकी पत्नी हुन्, जस्फा । उप्रेतीलाई काठमाडौंबाट धपाएपछि मुम्बईका धनाढ्य चिराग पञ्चवानसँग लिभिङ टुगेदर चल्यो । चिराग पनि केही करोडमा फसेपछि छाडिदिए । अनि, फेला परेका थिए, हायातमा हिरा–मोतिको व्यापार गर्ने वसिम रजा । अहिले वसिमबाट सबथोक लिएपछि धादिङ, केवलपुर– ८ स्थायी ठेगाना भएका छविलाल आचार्यका २१ वर्षीय छोरा शंकर आचार्यसँग बसेकी छन् । उनले पनि वसिमकै पैसाबाट धादिङमा जग्गा किनिसके ।

पोहोर फेब्रुअरी महिनाबाट हो, उनीहरुबीच समस्या भएको । जस्फाले हायात र ठमेलको पसल बन्द गराइन्, तीन करोडको घर माग्दै । वसिमले दिन नसकेपछि बबरमहलमा भेट्न बोलाइन् । फेरि तीन करोड नगद मागिन् । वसिमले भने, ‘२० दिनदेखि पसल बन्द गरेर चाबी आफूले राखेकी छ्यौ, कहाँबाट तीन करोड निकाल्ने ?’ सम्बन्ध बिच्छेद गरेर अलग–अलग बस्ने भनिन् । त्यसपछि उनका लागि एक करोडदेखि एक करोड ५० लाखसम्मको घर किनिदिने र नगद १५ लाख रुपैयाँ दिने सहमति भयो । भरतपुरमा विनिता रेग्मीसँग दुई वर्ष पहिला किनिएको ९ धुर जग्गा पनि बेच्ने कुरा भयो । तर, कागज गराइन्, कुमार गुरुङको नाममा । कुमारलाई वसिमले बिनासित्ति १५ लाख रुपैयाँ दिए । तर, रकम पाएपछि उनले कागज च्यातिदिए । यस्तो भएपछि रिफ्रेस हुन १८ सेप्टेम्बरमा हङकङ गए । २० सेप्टेम्बरमा जस्फा हायातको पसल गइन् । सबै सामान ख¥याकखुरुक पारेर लगिन् । होटलको सिसिटिभी फुटेज वसिमले सुरक्षित राखेका छन् ।

सामान लगेपछि एमएमएस लेखेर धम्क्याइन् पनि । फर्किएपछि वसिमले सामान फिर्ता पाउन निक्कै प्रयत्न गरे । तर, केही सीप नलागेपछि पाँच महिनाअघि चोरी मुद्दा हाले । त्यसबेला उनी लाजिम्पाट, पानीपोखरीस्थित विक्रम चन्दको घरमा डेरा बस्ने गरेकी थिइन्, शंकर आचार्यसँग । २५ हजार भाडा तिर्ने गरी ‘आचार्य’ थर भनी बसेकी थिइन् । गत फागु पूर्णिमा उनलाई खोज्न प्रहरी पुग्यो । त्यसपछि नारायणथान सरिन् । आइ ट्वान्टी ३८३५ नम्बरको कार चढ्छिन्, जुन गाडी वसिमले किनेको हो, उनको नाममा । हाइड्रो पावरमा लगानी गरेकी छन् । तीन वर्षमा गाडी, जग्गा, बैंकमा फिक्स डिपोजिट पनि भएपछि वसिमलाई छाडेकी हुन् । वसिमले चोरी मुद्दा हालेपछि उनले अंश, मानाचामल मुद्दा हालेकी छन् । यस्तो समस्या शुरु भएको रहेछ, आमा विरामी भएर उपचार गर्न काठमाडौं बोलाएपछि ।

छोरीले भन्दा पहिला आमाले भनेकी रहिछन्, तीन करोडको घर किनिदिन । वसिमपछि शंकरसँग बस्नुको कारण रहेछ, शंकर माओवादीसम्बद्ध हुनु । शंकरमार्फत प्रचण्डपुत्री रेणु दाहाललाई भेटेर प्रहरी प्रशासनमा आफूलाई पक्राउ नगर्न दबाब दिन लगाएकी छन् । फेसबुकमा पूर्वपर्यटनमन्त्री जीवन शाही, बनमन्त्री शंकर भण्डारीहरुसँग उभिएका फोटो हालेकी छन् । उनका म्युचुअल फ्रेण्ड छन्, सकारात्मक चिन्तक तथा पर्यटन व्यवसायी कर्ण शाक्य, प्रहरीका एसपी राजकुमार लम्साल, मन्त्री शंकर भण्डारी, कलाकार प्रज्ञा जोशी, ठमेल पर्यटन परिषद्का अध्यक्ष रामशरण थपलिया ।

टिप्पणीहरू