आदेश गएपछि के लाग्छ आईजीको !

झापामा ११ लाख १० हजार आईसीहित पक्राउ परेका दुई जनालाई सशस्त्र प्रहरीले अनुसन्धान नगरी छाडिदिएको छ । भारतीय रुपैयाँको कारोबारीका रूपमा चिनिएका भद्रपुर–६ का २४ वर्षीय रविन घोष र २३ वर्षीय केशव भनिने मनोज राजवंशीलाई नगदसहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले चैत २५ गते पक्राउ गरेको थियो । तर, उनीहरूलाई भोलिपल्ट बेलुका नै छाडिदिएको हो ।

सशस्त्र प्रहरीले भद्रपुर–५ स्थित घोडामाराको हँडिया पुलबाट नेपालमा प्रतिबन्धित दुई हजार र पाँच सयको नोटसहित उनीहरुलाई पक्राउ गरेको थियो । विशेष सुराकीको आधारमा नेपालतर्फ आउँदै गरेको मे.६प ६१२९ नम्बरको मोटसाइकलमा सवार ती दुईको शरीर चेकजाँच गर्दा २९५ वटा दुई हजार र १०४ वटा पाँच सयको भारतीय नोट बरामद भएको हो ।

नोट र युवकद्वयलाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं पठाउने भनी सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका डिएसपी राजेश उप्रेतीले सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए । तर तिनीलाई अनुसन्धान विभागमा नपठाई सशस्त्रले सम्मानपूर्वक छाडेको छ । पक्राउ परेका रविन र मनोज कांग्रेस कार्यकर्ता हुन् ।

रविन कृष्णप्रसाद सिटौलाका कार्यकर्ताका प्रवीणकुमार घोष (प्रविर) का भाइ हुन् । भाइ पक्राउ पर्दा प्रविर काठमाडांै थिए । उनले नै सिटौलालाई भेटेर हारगुहार गरेपछि सिटौलाले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर त्यहीँबाटै सशस्त्र प्रहरी बलका आइजी सिंहबहादुर श्रेष्ठलाई दबाब दिई छाड्न आदेश दिएको प्रशासन स्रोतको दाबी छ । आइजीलाई गृहमन्त्रीको फोन आएपछि पूर्वक्षेत्रीय कार्यालय र सीमा सुरक्षा कार्यालय भद्रपुरमा तुरुन्त छाड्न आदेश गएको थियो । आइजीले नै आदेश दिएपछि झापाका एसपी आनन्द नेम्वाङले अनुसन्धान नगरी छाडेको स्रोतको दाबी छ ।

राष्ट्र बैंकले तोकेको रकमको सीमा र अनुमति दिएको रुपैयाँभन्दा बढी बोक्न नपाइने राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, इटहरीको मुद्दा फाँटका कर्मचारी नरेश शाहले बताए । मानिस र रकम नियन्त्रणमा लिएपछि प्रहरीले छाड्न नमिल्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक रामकृष्ण सुवेदीले बताए ।

टिप्पणीहरू