सोध्दै नसोधी किन राखेको हाम्रो नाम ?

सोध्दै नसोधी किन राखेको हाम्रो नाम ?

एमसीसी विरोधको नाममा प्रतिगामी, पुनरुत्थानवादी, यथास्थितिवादी तथा एमसीसीका सन्देहास्पद पूर्वसमर्थकहरूको बाहुल्य भएको समितिमा जालझेल गरी हाम्रो नाम राखिएकामा घोर निन्दा गर्दछौं ।

११ वर्षदेखि नेपालमा राइट टु रिजेक्ट र रिकलको लागि सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश गराएर त्यसैको आधारमा उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको लागि निरन्तर लडिरहेको स्वतन्त्र राष्ट्रिय अभियानले हालसम्म कुनै पनि अन्य संघसंगठनसँग बिटुलो नबनी राष्ट्रघाती एमसीसीविरुद्ध संघर्ष गर्दै आएको हामी सबै अभियन्ताहरूमा ज्ञात भएकै तथ्य हो ।

यसपूर्व समेत एमसीसीविरुद्ध डोनाल्ड ट्रम्प, ओली, देउवा, प्रचण्ड, बाबुराम र सरिता गिरीहरूको टाउकोको चित्र अंकित फुटबल बनाएर खेल्ने, राष्ट्रघातीहरूले प्रयोग गरेर दुषित बनाएको राष्ट्रिय झण्डा धुने, अमेरिकी दूतावास, सैनिक मुख्यालय, प्रहरी र सशस्त्र मुख्यालयमा पुगेर एमसीसी किन राष्ट्रघाती छ भन्ने बुझाउने लगायतका सिर्जनशील, शान्तिपूर्ण तर शक्तिशाली अर्थ बोकेका कार्यक्रमहरू गर्दै आएको यस अभियानका साथीहरूलाई राज्यविरुद्ध अपराध गरेको भनी १५ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दा लगाई हिरासतमा राखिएकोमा सर्वोच्च अदालतको आदेशबाट लामो समयपश्चात रिहाइ गरिएको थियो ।

यसैबीच स्वतन्त्र राष्ट्रिय अभियानले नेपाल आमालाई संयोजक मानेर अन्य उपसमिति गठन गरी आन्दोलनमा सबैको एकाकार रुप दिन प्रस्ताव गर्दै आएको हो । सो विषयमा छलफलहरू पनि भएका छन् । अन्य राजनीतिक दलहरू र स्वतन्त्र अभियानसँग पनि २२ साउन २०७८ मा हस्ताक्षरसहित संयुक्त आन्दोलनमा जाने विषयमा सहमति र हस्ताक्षर भएकै हो । सोही दिन अर्को एउटा समूहमा समेत छलफल भएको थियो । तर, सो छलफलमा पनि आन्दोलनका लागि आवश्यक व्यवस्थापकीय उपसमितिहरू मात्र गठन गर्ने, संयोजकमा नेपाल आमालाई मान्ने सहमति भएको हो ।

यसैबीच एउटा समूहमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राखेको प्रस्तावलाई पहिला समर्थन गरी पछि कुनै व्यक्तिबाट आन्दोलन परिचालित र संयोजन तथा समन्वय भएको भनी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छलकपटपूर्ण सूचना र पोष्टहरूप्रति यो अभियानको आपत्ति रहेको छ ।

एमसीसी विरुद्धको आन्दोलन आफ्नो विगतको दाग मेट्ने र आपराधिक पृष्ठभूमि सच्याउने, प्रतिगमन फर्काउने र पुनरुत्थानको बाटोतर्फ लाग्ने, अभियान वा आन्दोलनलाई भजाएर आफ्नो पेट पाल्ने विषय हुन सक्दैन ।

म आफू उपस्थित नै नभएको बैठकबाट पूर्व सहमतिविपरीत मेरो नामसमेत राखी सार्वजनिक गरिएको समूहबाट मेरो नाम तत्काल हटाउन अनुरोध गर्दा पनि नहटाएकोमा घोर निन्दा गर्दछु ।

– स्वागत नेपाल, संयोजक, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल

टिप्पणीहरू