लोकमानलाई मोसो दल्ने पुरस्कृत

मुलुक स्थानीय निकायको चुनावमा होमिएको बेला सोकोविरुद्ध आक्रामक नारा र अभिव्यक्ति दिने कम्युनिस्ट पार्टी (विप्लव समूह) ले चुनाव भाँड्न डरलाग्दो अभ्यास गरिरहेको छ । ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौं : जनसत्ता सुदृढ र विस्तार गर्दै अघि बढौं’ भन्ने नारा बोकेका कार्यकर्ता चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् ।

स्रोतका अनुसार जनयुद्धताका तत्कालीन माओवादीले सञ्चालन गरेको सुकिदह केन्द्रमा अर्धसैन्य संरचनाका करिब ३ सय कार्यकर्ता तालिमरत छन् । सल्यान, रुकुम र रोल्पाको सिमानास्थल सुकिदहलाई केन्द्र बनाएर त्यस आसपास सल्यान र रुकुमका कार्यकर्तालाई तालिम दिइरहेको बताइन्छ । जनआस्थालाई प्राप्त जानकारीअनुसार पूर्वजनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर सल्यान ढाकाडाम निवासी चन्द्रबहादुर खड्काले प्रशिक्षण दिइरहेका छन् । तालिममा रुकुम र सल्यानका १५०÷१५० जना कार्यकर्ता सहभागी रहेको भनिए पनि अन्य जिल्लाका कार्यकर्तालाई समेत लगिएको छ ।

विप्लव कार्यकर्ताको पहिलो निशानामा माओवादी केन्द्रका नेता र उम्मेदवार भएको सूचना पाएपछि रुकुमस्थित माओवादी केन्द्रले वाइसिएललाई संगठित गरिरहेको बुझिएको छ । उम्मेदवार तथा नेतालाई कब्जा गर्ने, ज्यान मार्ने धम्की दिने अनि मोटो रकम असुल्ने योजना छ – विप्लव समूहले चलाएको चुनाव प्रतिरोधी सैन्य तालिमबारे स्रोत भन्छ, ‘ठेकेदार र ठूला सरकारी योजनासँग पनि उनीहरूले रकमको बार्गेनिङ गरिरहेका छन् ।’ मतदान केन्द्र आसपास बम पड्काउने, मतदान स्थलमा सर्वसाधारणलाई जानबाट रोक्नेलगायत कार्यसूची तय गरेको पाइएको छ ।

उनीहरूले चुनाव बिथोल्न खर्च चाहिने भन्दै १० लाखभन्दा माथिका विकासे योजनाको विवरण खोजिरहेका छन् । उपभोक्ता समितिका अध्यक्ष र तिनको सम्पर्क नम्बर प्राप्त गरी कम्तीमा १५ प्रतिशत बुझाउन तारन्तार धम्की दिइरहेको बुझिएको छ । रकम नदिए भ्रष्टाचारको आरोप लगाई जनकारबाही गर्ने भन्दै थर्काउने गरेको उपभोक्ता समूहका एक अध्यक्षले बताए । रुकुमको सिस्ने गाउँपालिका माओवादी केन्द्रका एक वडा इन्चार्जलाई फोनमार्फत बिप्लवका कार्यकर्ताले वैशाख २७ देखि जेठ १ गतेसम्म १ सय ५० जनाको खानपानसहित गोप्य व्यवस्था गर्न दबाब दिइरहेको समेत बताइएको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी रुकुमका संस्थापक कार्यकर्ता असन्तुष्ट रहेको बुझिएको छ । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई अदालत परिसरमा मोसो दलेर चर्चामा आएका चन्द्रबहादुर बुढालाई पार्टीले जिल्ला सेक्रेटरी बनाएपछि अरू असन्तुष्ट रहेको पाइएको छ । जिल्ला इञ्चार्ज शेरकुमार खड्का गति, पूर्वसेक्रेटरी नरबहादुर पुन मनकामना, गम्भीर सिर्पाली, शक्ति पुनलगायत कार्यकर्ताले दुई सातापहिले दाङको एक कार्यक्रममा नेत्रविक्रम चन्द विप्लवसमक्ष यसबारे गुनासो राखेका थिए । वैशाख ६ गतेका दिन रुकुम सदरमुकाममा संसदीय व्यवस्थाविरुद्ध अन्तिम धावा बोल्ने भन्दै एकीकृत जनजागरण तथा प्रतिरोध अभियानको औपचारिक उद्घाटन गरिने योजना छ ।

टिप्पणीहरू