क–कसले चढ्ने हो हेलिकोप्टर ?

विमलेन्द्र  निधिले पनि कहिले के–कहिले के गर्छन् । देशको शान्ति–सुरक्षा हेर्ने प्रमुख मान्छे तर मधेसबाहेक अरूको कुरै गर्दैनन् । कहिले मर्यादाक्रमको लफडा निकाल्छन् त कहिले चुनाव हुने कुरामै संशय व्यक्त गर्दै भाषण ठोक्छन् । राष्ट्रपतिको भारत भ्रमणसम्बन्धी प्रस्ताव अगाडि बढाउन आइतबार प्रधानमन्त्रीको अस्वस्थताका बाबजुद बालुवाटारमै डाकिएको क्याबिनेट बैठकमा समेत उपस्थित भएनन् ।

सिंहदरबारमा भए त एउटा कुरा, ठ्याक्कै कुर्सी मिलाएर राखिएको हुन्छ तर बालुवाटारमा जतापट्टिको सोफामा बसे पनि हुन्थ्यो । जोसँग खुम्चिएर बस्नुपर्ला भनेर निधिले पछिल्लो क्याबिनेट बैठक बहिष्कार गरे धन्न त्यसमा कमल थापा स्वयंको पनि उपस्थिति थिएन । उनको कमाण्डमा रहेको गृह मन्त्रालयले चुनावको नाममै सही नेपाल प्रहरीका निम्ति आवश्यक भन्दै ३ वटा हेलिकोप्टर खरिद गर्ने गरी अर्थ मन्त्रालयसँग ५ अर्ब ८८ करोड मागेको छ । तर, यो प्रस्ताव सहजै कार्यान्वयन हुने संकेतसम्म पनि किन देखिँदैन भने अत्याधुनिक हतियार र हेलिकोप्टर खरिदको निहुँमा सेना–प्रहरीबीच ०५८ सालदेखि नै द्वन्द्व चल्दै आएको हो ।

टिप्पणीहरू