लहर खासमा चाहिँ कसले ल्यायो ?

‘हाम्रो पक्षमा ०६४ सालको जस्तै लहर आएको छ । स्थिति राम्रो छ । माहोल सकारात्मक ढंगले विकास भएको छ ।’ नयाँ वर्षको पहिलो दिन हेडक्वार्टर बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसरी गरेको विश्लेषणमा उनका निकटवर्तीले सही थापे– ‘हो, हो कामरेड हो ।’ तर नारायणकाजी श्रेष्ठले भने चित्त बुझाएनन् । सोधे, ‘कस्तो लहर हो, त्यो । कतै तपाईंले ०७० सालमा दाबी गरेजस्तो त होइन ?’

उनले अगाडि थपे– ‘अतिरञ्जित कुरा नगरौं । म पनि यसबीच पूर्वदेखि पश्चिमसम्म गाउँ–गाउँ, जिल्ला–जिल्ला, डुलेको छु । कहीँ पनि यस्तो देखिनँ । गाउँ, नगरको पार्टी अधिवेशन र चुनाव लागेका कारण आन्तरिक सक्रियता देखिएको कुराचाहिँ सत्य हो । तर, हाम्रै पक्षमा लहर आएको भनेर मनको लड्डु घ्यूसँग खानु भएन ।’ त्यत्तिकैमा काजी चुप लागेनन् ‘अघिल्लो दिन मधेसीसँग बसेर सहमति गर्ने, भोलिपल्ट सोहीअनुसार संविधान संशोधन प्रस्ताव फिर्ता लिएर अर्को प्रस्ताव दर्तासमेत गर्ने काम भयो तर त्यसलगत्तै मधेसीले ल यो पनि भएन भनेर बहिष्कारको धम्की दिन थाले । के भएको हो यो ?’ उनको प्रश्न थियो, ‘यसमा विवेक पु¥याइएन कि ? अनि उनीहरूसँग सम्झौता नगरी नयाँ प्रस्ताव दर्ता नगर्ने भनेको होइन ? कसरी एक्कासि त्यस्तो हुन गयो ?’ नारायणकाजीले ‘पारिले चुनाव चाहेको छैन’ भन्दै भारतले चुनाव बिथोल्न लागेको विश्लेषण सुनाउँदा महासचिव रामबहादुर थापा ‘बादल’ ले त्यसको प्रतिकार गरे, ‘होइन, होइन । उताको चाहना सबैलाई मिलाएर गर्न पाए हुन्थ्यो भन्ने छ ।’

राष्ट्रिय राजनीतिका पछिल्ला घटनाक्रमको विश्लेषण गर्ने क्रममा प्रचण्डले आफ्नो बुझाइ व्यक्त गर्दै भने, ‘बाबुराम र उपेन्द्रको गठबन्धन अचम्मलाग्दो देखियो । विप्लवले केही ठाउँ तर्साउने मात्र हो ।  सक्रिय बहिष्कार नभनीकन खारेज गरौं मात्र भनेको छ । यो अलिक नरम खालको नारा हो । तर, उनीहरूलाई पनि चुनाव लागेको छ । यो केन्द्रीय चुनावजस्तो नभएर पनि होला । तल दाइभाइ, नातागोता लडेका हुन्छन् । हार्डलाइनर भएर पहिलाजस्तो पक्कै नआउलान् ।’ चुनावी तालमेलको सम्बन्धमा  पार्टीको नीतिबारे उनले प्रस्ट पारे, ‘माथिबाट यसो गर नभन्ने । तयारी गर्दै जाने, स्थिति हेरेर कोसँग अनुकूल हुन्छ त्यहीसँग गठबन्धन गर्ने ।’

कुनै एक जनाले फेसबुकमा हालेको एउटा नाराबारे पनि चर्चा चल्यो । ‘माओवादीको उपहार, गाउँ–गाउँमा सिंहदरबार’ भन्ने यो नारालाई नै पार्टीको प्रमुख नारा बनाऊँ भनेर अग्नि सापकोटाले निकैबेर अडान लिए । उनको तर्क थियो, ‘यो धेरै क्याची छ । क्यास गर्नुपर्छ ।’

टिप्पणीहरू