पत्नीसहित मन्त्री बेपत्ता

एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । राज्यमन्त्रीलाई श्रीमतीसहित घुमाउने काम चीनकै गेजुवा कम्पनीले गरेको हो ।

गेजुवा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको विवादित कम्पनी हो । चाइना गेजुवा एण्ड पावर ग्रुप कम्पनी लिमिटेडले नेपालको त्रिशूली तीन ‘ए’ आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको भनी विवादमा आइरहेको छ । त्रिशूली तीन एको क्षमता वृद्धि गर्न यो कम्पनीले नेपाल सरकारलाई व्यापक दबाब दिएको थियो । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले क्षमता वृद्धि गर्दा अर्बौं भ्रष्टाचार हुने अडान लिएपछि काम रोकिएको थियो । पौडेल हाल चीनका लागि राजदूत छन् । नक्कली भ्याट बिल प्रकरणमा पनि यो कम्पनी विवादित बन्दै आएको छ । हाल यस कम्पनीले बूढीगण्डकी आयोजना आफूलाई दिन नेपाल सरकारलाई दबाब दिँदै आएको छ । यही मेसोमा ऊर्जा राज्यमन्त्रीलाई चीनको सयर गराएको बुझिएको छ ।  

उनको चीन भ्रमणको कुनै एजेण्डा थिएन । यसबारे ऊर्जा मन्त्रालयमा जनआस्थाले सम्पर्क गर्दा एक अधिकारीले यो नितान्त निजी भएको बताए । तर, आफ्नै मन्त्रालयअन्तर्गत काम गर्ने विवादित कम्पनीको खर्चमा विदेश घुम्न मिल्ने हो कि होइन भन्ने प्रश्नमा उनले कुनै जवाफ दिएनन् । नेपालका प्रधानमन्त्री चीन भ्रमणमा जाँदा एक महिनादेखि राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्न प्रयास गर्नुुपर्छ । त्यो पनि अन्तिम समयसम्म चिनियाँ पक्षले भेट हुने नहुने टुंगो छैन भन्दै झुलाउने गर्छ । चीनबाट नेपाल भ्रमण आएको आउरे बाउरे जोसुकैले यहाँ आएपछि प्रधानमन्त्री र राष्ट्रपतिभन्दा तलका व्यक्तिसँग भेट गर्दैन । हुँदा–हुँदा केही महिनाअघि एउटा चिनियाँ पर्यटन कम्पनीले नेपालका उपराष्ट्रपतिसँग खाना खानेसम्मको विज्ञापन गरेको थियो ।

भेट गर्न व्यक्तिको प्रोफाइल के हो ? उसको सरकारसँग के सम्बन्ध छ ? ऊ कुन हैसियतको व्यक्ति हो ? जस्ता कुरा वास्तै नगरी भेट दिँदा हाम्रा नेताले आफ्नो पदीय मर्यादा त राखेनन् देशकै बेइज्जत गर्न पनि पछि परेका छैनन् ।

सुशील कोइराला प्रधानमन्त्री हँुदा पर्यटन तथा संस्कृतिमन्त्री दीपक अमात्य चीन गएका थिए । मन्त्रीजस्तो व्यक्ति जाँदा बेइजिङस्थित दूतावासलाई जानकारी गराएनन् । चीन सरकारलाई पनि केही जानकारी थिएन । एउटा कार्यक्रममा राजदूत महेश मास्केसँग भेट हुँदा उनले आफू पूर्वएमाले अध्यक्ष झलनाथ खनालको पिएको हैसियतमा आएको बताएका थिए । डेढ वर्षअगाडि भारतले नेपालमाथि नाकाबन्दी लगाइरहेको बेला आपूर्तिमन्त्री वाइसिएल अध्यक्ष गणेशमान पुन सुटुक्क बेइजिङ पुगे । उनले त्यहाँ एकजना जर्नेललाई मात्र भेट्न सके । उनले आफू नेपालको मन्त्री भएको र पेट्रोलियम पदार्थ आपूर्तिका लागि वार्ता गएको आएको भनेर खबर गर्दा चीनले पत्याएन ।

भारतले त हाम्रा मन्त्रीलाई हेपेकै थियो अब चीनले पनि पुछ्न छाडेको छ । त्यो पनि मन्त्रीहरूको आफ्नै कारणले । कसैले बोलाउँदैमा र बाटो खर्चका रूपमा कमिसन दिँदैमा दंग परेर हामफाल्न नहुने ? राज्यमन्त्री भगतलाई गेजुवा कम्पनीले बेइजिङलगायत थ्री गर्जेज परियोजनाको पनि अवलोकन भ्रमण गराएको छ । चीनमा रहँदा भगतले गेजुवाकै प्रमुखलाई समेत भेट्न पाएनन् । गेजुवाको दोस्रो तहको व्यक्तिले भोज खुवाएको बुझिएको छ । झण्डै एक साता चीनमा बिताएर गेजुवाले दिएको उपहार लिई भगत नेपाल फर्किएका छन् ।

टिप्पणीहरू