अफगानिस्तानको हकमा केही नगर्ने अध्यक्षज्यू ? « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

अफगानिस्तानको हकमा केही नगर्ने अध्यक्षज्यू ?

प्रकाशित मिति :  ३२ श्रावण २०७८, सोमबार १५:३०


तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को कान्छो सदस्य राष्ट्र अफगानिस्तान अहिले गम्भीर संकटमा फसेको छ । अफगानिस्तानमा उत्पन्न संकट र त्यहाँ फसेका नेपालीसहित सार्क राष्ट्रका नागरिकको उध्दारमा सार्कको अध्यक्षसमेत रहेको नेपाल अग्रसर हुनुपर्ने हो, तर चल्मलाएको देखिएको छैन ।

सार्कको अध्यक्षता गरेको मुलुकको हैसियतले सदस्य राष्ट्रमाथि आइलागेको संकटबारे नेपालको धारणा खोजिनु स्वभाविकै हो । तर,नेपालले भने यसबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे मौन बसेर नेपाल परराष्ट्र सम्बन्धमा कमजोर देखिएको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

अफगानिस्तानमा चुलिएको यो संकटमा दक्षिण एशियाली मुलुकका नागरिकहरु पनि फसेका छन् । अध्यक्ष राष्ट्रको हैसियतमा उनीहरुको उध्दारमा नेपालले कूटनीतिक भूमिका देखाउनुपर्ने हो । बरु आफ्नै नागरिकलाई स्वदेश फर्काउनसमेत नेपालले पर्याप्त पहल गरेको देखिंदैन । सरकारले आफ्ना नागरिकलाई नेपाल फर्काउने त भनेको छ, तर के नेपालको जिम्मेवारी यत्ति मात्रै हो ? आफू अध्यक्ष रहेको संगठनको सदस्य राष्ट्रमा उत्पन्न असहज परिस्थितिबारे धारणा सार्वजनिक गर्नुपर्नेमा नेपालको मौनतालाई कूटनीतिज्ञहरुले अपरिपक्वताको संज्ञा दिएका छन् ।

“सरकारले आफ्ना नागरिकलाई नेपाल फर्काउने त भनेको छ, तर के नेपालको जिम्मेवारी यत्ति मात्रै हो ?”

‘तालिवान विद्रोहीले बन्दुकको बलमा अफगानिस्तानको सत्ता कब्जा गर्दा नेपालीसहित सार्क राष्ट्रका थुप्रै नागरिक फसेका छन् । सार्कको अध्यक्षको नाताले नेपाल बोल्नुपर्ने हो ?’,एक कूटनीतिज्ञ भन्छन्, ‘अफगानिस्तानमा जे-जति क्षति भयो अब थप क्षति हुन नपाओस्, शान्ति बहाली होस्,हिँसा नभड्किओस्, बदलाको राजनीति नहोस् भनेर परराष्ट्र मन्त्रालयले औपचारिक स्टेटमेन्ट दिनु ढिलो भैसकेको छ ।’ तालिवानले ध्वस्त बनाएको बामियानको बुध्द मूर्तिबारे समेत नेपाल सरकार बोल्नुपर्ने उनको भनाइ छ । विश्व सम्पदा सूचीमा सूचिकृत उक्त मूर्ति यसअघि नै तालिवान विद्रोहीले ध्वस्त पारेको थियो ।रक्तपातबिहीन बिद्रोह भनिए पनि अफगानिस्तानको अवस्था सहज छैन । मानिसहरु देश छोडेर भाग्ने क्रम चलिरहेको छ । देश छोडेर जानका लागि मानिसहरु विमानस्थलमा ओइरिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरुको भीड बढेको छ ।

तालिवानले देशका सबै प्रमुख शहरहरु र राजधानी काबुलसमेत कब्जामा लिएपछि राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !