किन थर्थर कामे कमाण्डर ?

मुख्यसचिव सोमलाल सुवेदी प्रशासन हाँक्ने कमाण्डर भएर पनि कति लुते र डरछेरुवा रहेछन् भन्ने कुरा नयाँ आईजी छान्न गत सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको क्याबिनेट बैठकको बेला देखियो । सर्वोच्चबाट ल्याएको कासमुवाला फाइल खोलेर हेर्न खोज्दा पनि उनले आपत्ति जनाए, आनाकानी गरे । उनको तर्क थियो, ‘यो अंक मात्र हेरियो भने पनि अदालतको अवहेलनामा परिन्छ ।’

उनी थप कुरा राख्दै थिए, ‘मुद्दा चल्छ, चलिरहेको छ । प्रस्ताव गृहले ल्याउनुपर्ने हो, त्यो पनि आएको छैन । यो काम प्रधानमन्त्री कार्यालयले गर्ने नै होइन ।’ यसरी मुख्यसचिव कामेको देखेपछि बल्ल तीनजना सचिव महान्यायाधिवक्ता र कामु आईजिपी सम्मिलित पाँच सदस्यीय कमिटी बनाउने, बैठक बसेर चारजना डिआईजीको नम्बर केलाउने काम त्यहाँ भयो । त्यसमा पनि सोमलालले ‘मचाहिँ संलग्न नहोऊँ क्यारे’ भने । उनको त्यो काँतरपन देखेर अरुले चाहिँ टिप्पणी गरे, ‘कस्ता मान्छे होलान् यी !’ प्रशासनको सबैभन्दा ठूलो तहमा पुगेकै छन् ।

अब उनको वृत्तिविकास केही रोकिने ठाउँ छैन । त्यसमाथि साउन १ गतेदेखि एशियाली विकास बैंकको जागिरे भएर विदेश जाने पक्का भइसकेको छ । अर्थबाट पत्र गत हप्ता नै फिलिपिन्स गएको छ । किन डराएका होलान् ! यदि सोमलालले भनेझैं गरेको भए त्यो दिन पनि आईजी नियुक्तिको निर्णय हुनसक्ने थिएन । एकातिर कर्मचारी कमाण्डरको यस्तो ताल छ, अर्कोतिर नयाँ ऐन ल्याएर तलका कर्मचारीलाई ठेगान लगाइँदैछ । सरकारले आफूखुशी नगरपालिका, गाउँपालिकामा पठाउने र जान नमान्नेलाई सिधै अवकाश दिने प्रावधान राखेर ऐन संशोधनको तयारी भइरहेको छ । जबकि कर्मचारी सेवासर्त संशोधन गर्नुपरे लोकसेवासँग परामर्श लिनुपर्ने हुन्छ ।

तर, त्यस्तो केही गरिएको छैन । अवकाश दिन पनि प्रक्रिया पु¥याउनुपर्ने हुन्छ ! कतै यो विरोधीलाई तह लगाउने अस्त्र त बन्दै छैन भन्ने शंका पनि उब्जिएको छ । ०४८ सालमा गिरिजाले ३० वर्षे लगाएर एक तहका कर्मचारीको छटौनी गरेझैँ नयाँ हतियारको विकास गरिएको त होइन ?

टिप्पणीहरू