बाबुरामछेउमा पत्नीपीडित

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धनमा एक यस्ता पात्र छन्, जो कहिले पत्रकार, कहिले राजनीतिक दलको अध्यक्ष, कहिले सहकारी संस्थाको सञ्चालक र कहिले श्रीमती पीडित संघ अध्यक्षको रुपमा चिनिन्छन् ।

लेख्ने पत्रकारभन्दा पनि नेताको पछि उभिएर मोबाइलमा भिडियो खिच्ने पत्रकार । अर्थात् मोतीलाल भारती । दलीय चुनाव चिह्न नपाएको भन्दै केही दिनपहिले साना दल प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए । तिनै पात्रलाई देखेपछि प्रधानमन्त्रीका सहयोगी एकछिन आश्चर्यमा परे । नेताको पछाडिबाट भिडियो खिच्ने शैली त्यहाँ पनि पछ्याए । आफूलाई बाबुराम भट्टराई पछिको नेता देखाउन खोजे । नेपाल समावेशी दल नामक उनको पार्टी यसअघि मोहन वैद्य नेतृत्वको २९ दलीय गठबन्धनमा थियो, भावना प्रसाईंको सर्वहारा पार्टीसहित ।

संविधानसभा निर्वाचन बहिष्कार गर्ने मोहन वैद्य नेतृत्वको गठबन्धन बहिष्कार गरेर चुनावमा भाग लिए । तर, लज्जास्पद भोट ल्याए । श्रीमती पीडित संघको अध्यक्षका रूपमा चिनिएका उनी माननीय बन्ने सपना तुहिएपछि फेरि पत्रकार बन्न आए । संसद् सचिवालयमा पत्रकारको पास लिन सबभन्दा पहिला पुग्ने उनलाई संसदीय मर्यादाबारे केही थाहा छैन । त्यसैले प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाइका क्रममा सांसदले जस्तै प्रश्न सोध्ने कोसिस गरे । सांसदका प्रश्नको जवाफ सकिएपछि उनले कार्कीलाई ‘खै लोकमानको प्रश्नको जवाफ आएन नि’ भनेर चिच्याएका थिए ।

सभासद् बन्ने सपना तुहिएपछि भारतीले मेयर बन्ने भन्दै पूर्वका जिल्लामा पार्टी दर्ता गराएका छन् । उसो त अरूबेला बाबुरामलाई चर्को स्वरमा ‘राष्ट्रघाती’को आरोप लगाउने सिपी गजुरेल, साध्यबहादुर भण्डारीलगायत टाकुरे दल पनि भट्टराईको गठबन्धनमा छन् । नेतृत्वमा ३३ प्रतिशत खसआर्य, ३३ प्रतिशत जनजाति र ३३ प्रतिशत मधेसी रहने गरी उपेन्द्र यादवसँग पार्टी एकीकरणको अन्तिम तयारीमा भट्टराई जुटेका छन् ।

टिप्पणीहरू