आइतबार बेलुकीबाट तालिबानकाे काबुल प्रवेश, अफगानिस्तान कस्तो चक्रव्युहमा फस्दै ?

आइतबार बेलुकीबाट तालिबानकाे काबुल प्रवेश, अफगानिस्तान कस्तो चक्रव्युहमा फस्दै ?

पूरै अफगानिस्तानमा तालिवानको पूर्णनियन्त्रण हुने समाचार बाहिरिँदा राजधानी काबुलमा कुनै प्रकारको हमला नहुने तालिबानीहरुले नै बताएका छन् । उनीहरुले सडक छेउमा उभिएर सरकारी सुरक्षाकर्मीलाई धाप मार्दै भनेका छन्, ‘काबुलमा हमला हुने छैन, सत्ता शान्तिपूर्वक हस्तान्तरण गरिनेछ, तपाईंहरुले देश छोड्नु पर्ने छैन, हामी बदला पनि लिँदैनौं, आउनुस अंकमाल गरौं ।’

उता अफगान सरकारले भने शनिबारदेखि नै कुनै पनि समय सत्तापलट हुन सक्ने निश्कर्ष निकालेको छ । लगभग विस्थापित मनस्थितिमा पुगेका भनिएका अफगान राष्ट्रपतिले तालिवानलाई मेलमिलापको समेत प्रस्ताव समेत पठाएका थिए । यसको सोझो अर्थ सरकार अब निरीह र तालिबानसँग मुकाबिला गर्न पूर्णतः असमर्थ भएको लागेको छ ।

अफगान सेनाको मनोबल पनि लगभग पराजित भइसकेको छ । उ कुनै पनि समयमा आत्मसमर्पण गर्न तयार रहेको देखिन्छ । स्पष्टतः तालिबानले अफगान सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिसकेको छ । तालिवानसँग अब घेर्न र कब्जा गर्न केवल राजधानी काबुल मात्र बाँकी थियाे । त्याे पनि आइतबार बेलुकीबाट सकिएकाे छ ।

आइतबार बेलुकी साढे ६ बजेतिर तालिबानकाे एउटा टाेली बकायदा काबुल छिरेकाे छ । त्यसपछि राष्ट्रपतिले विशेष विमानको साथ कुन बेला देश छाड्छन् भन्न थालिएको छ । शनिबारसम्म हरेक रात अफगान सरकारको लागि अन्तिम रात बन्दै गएको आँकलन गरिएकाे थियाे ।

१८ वर्र्षसम्म सुरक्षा दिए पनि अमेरिकाले न तालिबानलाई परास्त गर्न सक्यो, न अफगानिस्तानलाई आन्तरिक रूपमा सुरक्षित र मजबुत पारेको देखियो । यसो गर्न पहिले तत्कालीन सोभियत संघ असफल भएको थियो भने त्यहि अवस्थामा अहिले अमेरिका आइपुगेको छ । यी सबै खेल हुँदा पनि दुइ दशकपछि तालिबान फेरी राजधानी काबुलमा सजिलैसँग प्रवेश गरेकाे छ ।

यसबीचमा भारतजस्ता देशले भने अफगानिस्तानको पुनर्निर्माणमा करोडौं डलर खर्च गरेका छन् । त्यसैले अहिले भारतलगायतका राष्ट्रहरु घाटामा गएका छन् भने पनि त्यो भने कदापी अचम्म होइन । अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुले अफगान सरकारले अन्तिम सास फेरिरहेको बताउन थालेका छन् ।

पछिल्लो १८ वर्षमा अमेरिकाले अफगानिस्तानमा झण्डै २५ सय खर्ब नेपाली रुपैयाँ बराबरको युद्ध गरेको हिसाब निकाल्न थालिएको छ । जुन रकम नेपालको पछिल्लो १ सय वर्षमा प्रस्तुत भएको वार्षिक बजेटको सबै रकम जोड्दा बराबर हुन आउँछ । तर पनि अवस्था उस्ताको उस्तै हुनुले सबैलाई झस्काइदिएको छ ।

अर्कोतर्फ, तालिवानको क्रुरताबाट डराएका नागरिकहरू अन्यत्रबाट काबुलमा ओइरिएका छन् । सर्वसाधारण सन्निकट छाएको मृत्युको त्रासदीबाट भयभित देखिएका छन् ।

विश्वमा ५६ वटा इस्लामिक देशहरू छन् । सबै अफगानिस्तानको पछिल्लो अवस्थाको बारेमा चुपचाप बसिरहेका छन् । पाकिस्तान र टर्कीलाई तालिवानका मालिक एवम् गुरुको आरोप लाग्दै आएको छ । बाँकी देशहरूले पनि आफ्ना मुस्लिम दाजुभाई तथा दिदीबहिनीलाई बचाउन कुनै चासो राखेनन् भन्न थालिएको छ ।

भारतलगायत विश्वका कुनै पनि देशका मुस्लिम नेता आतंकवादी तालिवानको विरूद्ध एक शब्द बोल्न तयार देखिँदैनन् । बरु उल्टै अमेरिकालगायतका पश्चिमा मुलुकबाट मात्र अफगानिस्तानको रक्षा हुने बताइरहेका छन् ।

इस्लामी संसारको सहानुभूति भने सधैं लादेनप्रति रहेको देखिन्छ । उनीहरुले बगदादी, जवाहिरीलाई पनि मान्दै आएका छन् । चाहे इराक होओस् वा इरान, लेबनान, सिरिया वा सुडान सबै देशमा आतंककारीहरूको बिगबिगी छ । उनीहरुले त्यहाँका मुस्लिमलाई नै सिध्याइरहेका छन् ।

विश्वका धेरैजसो इस्लामिक संसारले धेरै वटा देशमा पश्चिमा संस्कृति भित्र्याएका छन् । तर भारतीय उपमहाद्वीपमा भने कट्टरपन्थीहरूको दबदबा देखिन्छ । पाकिस्तानको आईएसआईले तालिवानलाई तालिम दिने र टर्कीले हतियार तथा रकम उपलब्ध गराउने गरेको आरोप समेत झेल्दै आएका छन् ।

त्यसैगरी भारतका मुस्लिम नेताहरूले कहिल्यै पनि लादेन, तालिबानको भत्र्सना गरेको पाईंदैन । मुस्लिम नेताहरू काश्मिरको मुद्दामा समेत मौन देखिन्छन् जुन दुर्भाग्यपूर्ण रहेको भारतभित्रै चर्चा हुने गरेको छ ।

अब अफगान महिलाहरूको निम्ति पुनः निकै अनिष्टका दिनहरु सुरु भएका छन् । १२ देखि ४५ वर्षका हजारौं महिलालाई तिनका अभिभावकबाट खोसेर तालिबानको मोर्चा र संगठनमा लगिएको छ । शिशुसहितका आमाहरुलाई तिनका बच्चा मारेर वा छुटाएर लगिएको छ । अवस्था निकै कहालीलाग्दो बन्दै गएको छ । तर पनि इस्लामिक देशहरू अफगानिस्तानलाई एक्लै छाडेर मस्तसँग बाँसुरी बजाइरहेका छन् ।

अहिले अफगानिस्तानमा मानवीय संवेदना पुनः रुन थालेको छ, सर्वत्र चिच्याइरहेको छ । मानवीय संवेदना पतन भइरहेको साँझमा, निर्दोष अफगान जनता आकाशतिर हेर्दै द्रौपदी जस्तो देखिएका छन् । त्यहाँको आकाशमा ठूलो अन्धकार छाएको छ । सबैजसो आशा हराएको र निराशामा डुबेको अवस्थामा पुगेका छन् ।

मुगलहरूको समयमा भारत कस्तो थियो भन्ने प्रत्यक्ष अवस्था हालको अफगानिस्तानले दिएको भन्न थालिएको छ । किनभने इतिहास तपाईंको आँखाको अघिल्तिर दोहोरिरहेको छ भनिन्छ । अनुमान गर्न सकिन्छ कि इतिहासका अकबर, बाबरलगायतकाको शासन व्यवस्था कस्तो थियो ?

टिप्पणीहरू