दुइटा नागरिकता किन लिनुभो अध्यक्षज्यू ?

कानुनतः नेपालमा दोहोरो नागरिकता बर्जित छ । त्यसमाथि नेपालीले देशमै दुई नागरिकता लिएको ठहर भएमा एकदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि एक लाखसम्म जरिवानाको कानुनी व्यवस्था पनि छ । तर, अस्तिमात्र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षबाट पदावधी सिध्याएका व्यापारी पशुपति मुरारकाले एउटै जिल्लाबाट दुईपटक नागरिकता लिएको तथ्य फेला परेको छ ।

उद्योगपति आत्माराम मुरारकाका छोरा पशुपतिले ०३७ र ०४५ सालमा नागरिकता लिएका हुन् । सिराहा जिल्लास्थित साविकको लाहान नगरपञ्चायत वडा नंं. ७ को ठेगाना उल्लेख गरी ०३७ भदौ ६ गते बंशजको आधारमा नागरिकता लिएका थिए । ०२१ साल मंसिर ५ जन्ममिति रहेका उनले पहिलो नागरिकता लिँदा उमेर १७ वर्ष उल्लेख थियो । आधिकारिक जन्ममितिका आधारमा ०३७ सालमा लेखिएको १७ वर्ष उमेर भन्दा एक वर्ष बढी हो । उक्त नागरिकता तत्कालिन कामु प्रजिअ उमेशले प्रमाणित गरेका छन् । जन्ममिति कीर्ते गरिएको नागरिकताको यो अभिलेख हाल इलाका प्रशासन कार्यालय लाहानमा सुरक्षित छ । बेलारुसी व्यापारी उपेन्द्र महतो र पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालका जिल्लावासी यिनै पशुपति मुरारकाले २०४५ साल जेठ १५ गते स.सि ५४८९ नम्बरको नागरिकता लिए । त्यसबेला खटिएको नागरिकता टोली ६÷१ बाट लिएको नागरिकता पनि बंशजकै आधारमा छ । गृहमन्त्रालयले जारी गरेको नागरिकता प्रमाणपत्र वितरणसम्बन्धी कानुनी व्यवस्था  निर्देशिकामा पनि कुनै नागरिकले दोहोरो नागरिकता लिन पाउने व्यवस्था छैन ।

तर, पशुपतिले एउटै जिल्ला, एउटै नगर र वडा उल्लेख गरी दुई–दुई नागरिकता लिएको स्पष्ट प्रमाण हुँदाहुँदै पनि कुनै कारवाही भएको छैन । उनले यसरी दुई नागरिकता लिएर कुन व्यवसाय– कुन नागरिकताका आधारमा दर्ता गरे, कर तिर्दा कुनबाट तिरे वा छले, विदेश जाँदा कुन नागरिकताका आधारमा राहदानी प्रयोग गरे भन्नेजस्ता तथ्यबारे सरकार जानकार छैन ।

– रविन्द्र राय, लहान–६, सिरहा

टिप्पणीहरू