मलाई लगाइएको आरोप आधारहीन : गाउँपालिका अध्यक्ष केसी « Jana Aastha News Online
Logo
३० श्रावण २०७९, सोमबार
|  Mon Aug 15 2022
Logo
३० श्रावण २०७९, सोमबार
|  Mon Aug 15 2022

मलाई लगाइएको आरोप आधारहीन : गाउँपालिका अध्यक्ष केसी

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार २१:३६


साउन २९ गते जनआस्थामा प्रकाशित ‘गाउँपालिकाका अध्यक्षमाथि नानाथरी आशंका’ शीर्षकको समाचारको ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले खण्डन गरेका छन् ।

जनआस्थाको कार्यालयमै आएर केसीले श्रीमती सत्यरुपाले लगाएका आरोप निराधार र कपोलकल्पित रहेको बताएका छन् । आफूले श्रीमतीप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्दागर्दै पनि नियोजित रुपमा आक्षेप लगाइएको भन्दै उनले आरोप अस्वीकार गरेका हुन् ।

केसीले जनआस्था कार्यालयमा पेश गरेको लिखित खण्डन यस्तो छ :

यही मिति २०७८ साउन २९ गते जनआस्था अनलाइनमा ‘‘गाउँपालिका अध्यक्षबाट नानाथरी आशंका’’ शीर्षकको समाचारमार्फत मेरो व्यक्तिगत तथा सार्वजनिक जीवनसँग सम्बन्धित अनर्गल तथा भ्रामक कुराहरु प्रकाशित भएकाले मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो, भ्रामक समाचारमार्फत् मेरो कुनै अमुक महिलासँग लिभिङ टुगेदरको सम्बन्ध रहेको, विवाह गर्ने तयारी रहेको, श्रीमतीलाई डिभोर्स गर्न दबाब दिएको, दुई करोड पैसा मागेको, धाकधम्की दिएकोलगायत कपोलकल्पित एवम् तथ्यहीन व्यहोरा प्रकाशित भएको छ ।

समाचारमा उल्लेखित सबै व्यहोरा पूर्णरुपमा झुठो एवम् काल्पनिक भएको अवगत गराउन चाहन्छु । मेरो सार्वजनिक छबिलाई धमिल्याउन राजनैतिक प्रतिशोध लिएर मेरा निजी घरायसी जीवनलाई जोडेर प्रसारित समाचारमा कुनै सत्यता नरहेको र मेरो श्रीमतीसँगको सम्बन्ध सामान्य रहेको व्यहोरा अवगत गराउँदै यस्ता भ्रामक समाचारको निन्दासमेत गर्दछु । मैले गर्नुपर्ने कर्तव्य र जिम्मेवारीबाट कदापी वञ्चित नभएको र एक श्रीमानको हैसियतले पूरा गर्नुपर्ने सम्पूर्ण कर्तव्य निर्वाह गरेको छु ।

साथै उक्त समाचार मार्फत् मेरो सार्वजनिक छबिमा आँच पुर्याउने उद्देश्यले आर्थिक अनियमितताको आरोप लागेको एवम् अस्वाभाविक सम्पत्ति आर्जन गरेको जस्ता हास्यास्पद, आधारहीन एवं झुठो व्यहोरा रहेको अवगत गर्न गराउन चाहन्छु । मेरो सार्वजनिक जीवन खुला किताबजस्तै छ । यस्ता भ्रामक तथ्यहीन एवम् कुत्सित उद्देश्यले बाहिर ल्याइएको समाचारमा कुनै सत्यता नरहेको व्यहोरा जानकारी गराउँछु । यदि समाचारमा उल्लेख भएको जस्तो भ्रष्टाचार गरेको भए जो कोहीलाई प्रमाणित गरेर देखाउन समेत चुनौती दिन्छु ।

साथै यस्ता कार्यबाट मेरो व्यक्तिगत तथा सार्वजनिक जीवनमा हिलो छ्याप्ने प्रयास भएको छ । यसको गम्भीर निन्दा एवम् भत्सर्ना गर्दछु ।

नवराज केसी

चम्पादेवी गाउँपालिका अध्यक्ष, ओखलढुंगा


प्रतिक्रिया दिनुहोस !