यसरी गरियो चुनाव बहिष्कार

  • नारायण नेपाल

दोस्रो संविधानसभा निर्वाचनलाई माओवादी नेतृत्वको ३३ दलले बहिष्कार गर्दै संसद्वादी राजनीतिबाट अलग बस्दै थिए । साउन ४ गते आचारसंहिता जलाउने कार्य थालनीसँगै यो अभियान देशभर चलेको हो । बहिष्कार अभियानलाई सक्रिय र सशस्त्र बनाउने पार्टी रणनीतिमुताविक देशभर आमकार्यकर्तामा नयाँ रक्तसञ्चार प्रवाह भएको आभाष हुन्थ्यो । असोज ४ गते नुवाकोटको विदुरमा सम्पन्न युवाहरूको रातो गञ्जीसहितको जुलुस प्रदर्शन र कमरेड विप्लवको सम्बोधनले बहिष्कारको तरंग छाएको हो ।

प्रतिकूल स्वास्थ्य अवस्थामाथि टाइफाइडले थप पिरोलेको थियो । त्यसमाथि लगातार सिरिञ्जको औषधि । प्रहरी खोज्दै आएको सूचना छिमेकीले दिए । म घर छाडेर साथीकोमा बास लिन पुगँे । हिँड्न शारीरिक अवस्था अत्यन्तै कमजोर भएकाले आत्मग्लानि भइरहन्थ्यो । जिल्लाका नेतृत्वदायी कमरेडलाई फोन गरेर पछिल्लो परिस्थिति सामान्य सचेत गराएको थिएँ । नेताजीको महावाणी आयो ‘ओछ््यानमा सुतेर ठूलो कुरा गर्ने ?’ अवसरवादीले भोलिसम्मको राजनीतिक सम्बन्धको कुरा बाहिर गर्दै भित्र एमाओवादी नेताको चाकडी र पक्षपोषणसहित बहिष्कार अभियानको पर्चा रोक्ने काम गरेका थिए । जिल्ला इन्चार्जले केन्द्रीय समिति र नेतृत्वसँग जिल्लाले निकालेको पर्चाले महत्वपूर्ण भूमिका खेलेको बताएको चर्चा थियो । तर, यता उहाँकै निर्देशनमा पर्चा रोकेको अराजकता देखिन्थ्यो । अराजकता र प्रचण्ड समूहपरस्त प्रवृत्ति थियो । यी सबै विषयमा कमरेड सुमन र कमरेड बिमासँग छलफल गरेपछि उहाँहरूको स्वीकृतिबेगर अस्वस्थ हुँदाहुँदै म पनि मैदानमा हाजिर भएँ ।

ककनी हुँदै थानसिं पुगेर बास बसियो । भोलिपल्ट नेतासँग भेट भयो । ‘कुकुरलाई हान भन्दा ढुकुर खोजेर हिँड्ने’ प्रवृत्तिका योजना सम्प्रेषण भयो नेताबाट । उम्मेदवारको प्रचार सामग्री, गाडी छाडेर टेलिफोन टावर र ठेकेदार ताक्दै रहेछन् । हामीले त्यो कुरामा असहमति राख्दै फरक योजना प्रस्ताव ग¥र्यांै । हेडक्वार्टरका सदस्य हामीतिर खनिएर आफैंले मात्र सबथोक गर्न सक्ने र घटना घटे जिम्मा नलिने धम्कीसमेत दिए । नेता पोखरा बैठकको भावनालाई छाडेर संविधानसभाभित्र जान पाइएला कि भन्दै ¥याल काढेर बसेका थिए । वार्ता र गोलमेच भइहाल्छ भन्ने बुझेर तयारी नगरेझैं देखिन्थ्यो । नेपालीमा एउटा उखान छ, ‘आमा मरी हाल्छे, म पोइल गइहाल्छु’ भनेझैं किन चाहियो घरबार भन्दै एउटीले भताभुंग पारेर बसिछिन् । आमा मरिनन्, उनलाई पनि कसैले लगेन र बिजोग परेझैँ देखिन्थ्यो बहिष्कारवादी नेताको ताल । जनयुद्ध र बम बारुदको धाक लगाएर कहिल्यै नथाक्ने नेताले प्रतिरोधात्मक तयारीका लागि गुलेली र मट्टयाङ्ग्रासम्मको जोहो नगर्नु हास्यास्पद मात्र थिएन । खाली हात टोली विभाजन भयो । हामी चौघडातिर लाग्यौं, सुत्ने तर्खरमा थियांै । छहरेबाट खबर आयो कारबाही रोक्नुहोस् । के हो ताल ? आपूm नगर्ने, अरूलाई पनि गर्न नदिने ! पहिलो दिनको कारबाही असफल भयो । त्यसलाई कसरी सफल बनाउने भन्दै चिन्तित थियांै । तर, क्षेत्रको जिम्मा लिएका नेता कारबाही विफल पारेकोमा खुसियाली हुँदै कुखुरा काटेर उत्सव मनाइरहेथे ।

केही समय बाँकी छँदा मात्र सफल भयौं र केही सामानको जोहो गर्न भ्यायौं । कडा सुरक्षाजाँचबीच सामान ल्याउने कुरा उति सम्भव र सरल थिएन । तैपनि साथीहरूको इमानदारी र साहसले त्यो काम सफल भयो । त्यो रातैभर नुवाकोट अफगानिस्तानको तोराबोरा क्षेत्रमा अमेरिकी सैन्य कारबाहीको जस्तै बन्यो । कतै मतदान केन्द्रभित्र त कतै सुरक्षाकर्मीका अगाडि रातभर बम पड्किरह्यो । शिथिल शरीर लिएर बासतिर हान्नियौं । ‘जतिसुकै गरे पनि खास्टोले छोपेको बिरालो म्याउँ गर्छ’ भनेझंै यो वा त्यो नाराले लेपन गरेर छोपे पनि निर्वाचनमा प्रचण्ड समूहविरोधीलाई मत हाल्न राज्य कार्यालयको नाममा आदेश जारी भएपछि नेताको षड्यन्त्रको पनि अवसान भयो ।

केही कांग्रेसलाई त कोही प्रचण्ड समूहलाई मत माग्दै हिँडेको गाइँगुइँ थियो । अन्तिममा नेतृत्वले नै विरोधीलाई मत हाल्न निर्देशन दिएछ । पर्चा रोक्नेबाट थालेको गड्बडी, कारबाही बिथोल्न विरोधी र दुस्मनलाई सूचना दिने र भोट माग्नेसम्म पुगेर टुंगियो । अचम्मै भयो– पार्टी संसदीय राजनीतिबाट कार्यकर्तालाई अलग गर्ने योजनामा थियो, त्यसको बर्खिलाप सौताको रिसले श्रीमान्को काखमा पिसाब फेर्ने भनेझैं ताम्सालिङ राज्य कार्यालयको नाममा प्रचण्डविरोधीलाई भोट हाल्नू भन्ने एसएमएस आयो । हामी दंग पर्दै गर्दा राज्य कार्यालयकै अर्का नेता अनिल शर्माले मिडियामार्फत त्यसको खण्डन गरे, नेता नै माथि भिड्न थालेपछि हामी मकै पिस्दाका घुनझैं यो ठीक र ऊ बेठीक भन्दै उफ्रंदै थियौं । बहिष्कार भन्दै प्रचण्डविरोधीलाई भोट हाल्नेहरू र हाल्न लगाउनेहरू आज कोटेश्वरको पेरिसडाँडातिर लम्पसार परेको देख्दा उदेक लाग्छ बरु डाडुमा पानी तताएर मर्नु नि † आमहडताल शुरुसँगै देउरालीका पारसलाल सरलाई प्रहरीले नियन्त्रणमा लियो । पार्टीभित्र उनीसरहको राजनीतिक हैसियत भएका व्यक्ति प्रहरीवरिपरि घुमिरहेका थिए । तर, उनी मात्रै किन गिरफ्तारमा परे ? हिजो जनयुद्धकालमा पार्टीभित्र क्रान्तिकारी धारका नेता छानी–छानी गिरफ्तार र हत्या भएझैं नेतासामु आत्मसमर्पण नगर्नेहरू पक्रिएका थिए ।

कांग्रेसका कार्यकर्ता बमबाट कति आतंकित रहेछन् भन्ने चौघडामा देखियो । मध्यराति लब्धुमा भएको शक्तिशाली विस्फोटनले भागदौड मच्चिएछ । कांग्रेस र राप्रपाका कार्यकर्ता दोहोरो झडपको तयारी गर्दै थिए, सोही बखत थान्सिङमा ठूलो विस्फोटन भएपछि दुवै पक्ष भागाभाग र झडप टरेछ । उता, कुमारी फाँटाको पौवामा खसी काट्ने तयारीमा बसेको कांग्रेसको चुनावप्रचार टोली बम पड्किएको आवाज सुन्नासाथ कुलेलम ठोकेछन् ।

बहिष्कार अभियान मध्यउत्कर्षको समय थियो । जिल्ला पार्टीको मुख्य टिम सुरक्षित गन्तव्यको खोजीमा सेल्टर फेर्दै फिरन्ते पाराले हिँड्दै थियो । हिँड्दा हिँड्दै एक्कासि एक जना कमरेडले प्रहरी देखेछन् र फर्केर भागेछन् । उनीहरू भागेको देखेर प्रहरीले अगाडि हिँड्नेलाई सोधेछ, ‘किन भागे उनीहरू ?’ स्थानीयले थाहा छैन भनेपछि पुलिस कता गए भनी हेर्न गएछ । ए पुलिस त हामीलाई लखट्दै आयो भन्ठान्दै नेता कुलेलम ठोकेछन् । त्यहीबेला जिल्लाभित्र राति ड्युटीमा रहेका पुलिस मुढोझंै खडा रहेछन् । हाम्रो कमान्डरलाई ठम्याउनै गाह्रो परेछ र ड्याम्म चार्ज गरेछन् । प्रहरी जुरुक्क उठेर लखेट्दै आएपछि सो टोली भ्याकुर खेदाइमा परेछ । पुलिस देखेर भागेका दुई दिन बेपत्ता भएछन् र तीन दिनपछि सम्पर्कमा आए । ठोकेर भाग्नेहरू अझै अन्यत्रै इलाकामा ठोक्दै रात बिताएछन् । ठोकेर भाग्नेहरू लगातार नयाँ–नयाँ कारबाहीमा थिए । देखेर भाग्नेहरू तीन दिनसम्म बेपत्ता भए । देखेर भाग्ने र खेदेर भाग्नेको कथा–व्यथा सुन्दा बैठकमा हामी दंगदास भयौं । कामको चाप र भूगोलको बनावटले गर्र्दा असहज भएपछि टोली विकेन्द्रित भएको थियो ।

एउटा टोली आ–आफ्नो इलाकाको जिम्मा लिएर गएपछि हामी छुट्टियांै । निर्धारित समयमा कारबाही नभएपछि सम्पर्क गरेको त कमरेडको बयान आयो– अभियानको तयारीमा जम्दै थियौं, बाटोमा बाघ रहेछ । झन्डै मारेको नि † म त घर फर्किएँ । त्यसपछि खिलराज रेग्मी सरकारभन्दा ठूलो जंगलको राजाले रोक्न खोजेपछि उसै कमरेड बेहोस भएर योजनाले हावा खान पुग्यो । आन्दोलनको उत्कर्षसँगै अज्ञात समूहले राखेको शंकास्पद वस्तुले सबैतिर आतंक छायो । सोही बेला सदरमुकाम पिपलटारको सडकमा एक मोटरसाइकल यात्रुले तीव्र गतिका कारण झोला खसेको थाहै पाएन र दौडिएछ । शंकास्पद वस्तु बम भएको हल्लाले पिपलटारलाई धेरै समय आतंकित बनायो । सबै मान्छे भेला भएर हेर्दाहेर्दै प्रहरी आउन भ्याएछ । संयोगले त्यतिबेला त्यो झोलाधनी गल्छी पुगेपछि झोला खसेको थाहा पाएर फर्केर आएछन् । आफ्नो झोलामा ल्यापटप र ५० हजार रकम रहेको कुरा प्रहरीलाई बताई झोला लिएर गएछन् । झण्डै सेनालाई बोलाएर झोला डिस्पोज भएको । वस्तु र घटनाको विकास ‘सामान्यबाट जटिलतिर र निम्नबाट उच्चतिर’ बर्तुलाकारमा हुन्छ भनिन्छ ।

चुनाव बहिष्कार आन्दोलन पनि त्यही रूपमा सम्पन्न भयो । जुन विचार र भावना दुवै दृष्टिले महत्वपूर्ण थिए । यता भोट हाल्ने र उता बम हान्नेहरूको चर्तिकलाले आज सबै बहिष्कारको उपयोग, भण्डाफोरको अर्थ र औचित्य खोजिँदै छ के भन्छन् कुन्नि गुरुबाहरूले ! बैठक र दस्तावेजहरू क्रान्तिकारी र महान भएका छन् । भइरहनेछन् तर आजको सत्य मैदान उत्रिएपछि देखिएला नालायकहरू नायक र नायकहरू खलनायक भएपछि कसको के लाग्छ ।

टिप्पणीहरू