दार्चुलाका दु:ख,तुइनकाण्ड घटेको ठाउँमा कोरोना छपक्कै

दार्चुलाका दु:ख,तुइनकाण्ड घटेको ठाउँमा कोरोना छपक्कै

भौगोलिक विकटताका कारण आफ्नै देश आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा रहेका दार्चुला ब्यास गाउँपालिकाको मालु गाउँका जनतामा कोरोना संक्रमण बढेको छ । जयसिंह धामी बेपत्ता प्रकरणको अनुसन्धान र छानवीनका नाममा मानिसहरुको आवतजावत बढ्दा मालुमा कोरोना संक्रमण बढेको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादतीले वाक्क भएका मालुवासी बढ्दो कोरोना संक्रमणले त्रासमा छन् । केही दिनअघि महाकाली तर्ने क्रममा एसएसबीले तुइनको लठ्ठा फुस्काईदिँदा मालुका जयसिंह धामी महाकालीको उर्लँदो भेलमा खसेर बेपत्ता भएका थिए । उक्त घटनाको कारण शोकमा डुबेको सिंगो गाउँ कोरोनाले थप पीडामा परेको हो । छानविनका नाममा काठमाडौँबाट गएको जम्बो टोली फर्केलगत्तै त्यहाँ कोरोना बढ्न थालेको बताइन्छ ।

धामी बेपत्ता भएको घटनापछि क्रमश: शान्त हुँदै गरेको मालुमा अस्ति १४ र हिजो १७ जना संक्रमित भेटिएका हुन् । काटिएको तुइन नहालिएका कारण आवतजावतमा समस्या भएपछि संक्रमितहरुलाई उपचारमा समस्या भएको त्यहाँस्थित एक जनप्रतिनिधिले बताएका छन् । अहिले संक्रमितलाई घरमै राखिएको उनले बताए ।

‘धामी बेपत्ता प्रकरणपछि पनि एसएसबीले गस्ती गरेको गर्यै छ । यताको पनि गस्ती त भैरहेको छ तर,बाटो नहुँदा हाम्रा प्रहरी उता जान सकेका छैनन् । फोनबाट कोअर्डिनेशन भैरहेको छ’,ती वडाध्यक्षले भने । उनका अनुसार प्रहरीलाई राशनपानी कसरी ल्याउने भन्ने चिन्ता थपिएको छ । भने,’राशनपानी आएको छैन । अहिले पहिलाकै बाँकी छ । सक्किएपछि के गर्ने हो थाहा छैन ।’

भारतीय पक्षले सडक खन्दा खसेको ढुंगा र माटोले महाकाली थुनिंदा घट्टेबगर भन्ने ठाउँमा घोरेटो बाटोसमेत ध्वस्त पारेको छ । जसका कारण आवागमन ठप्प हुँदा मालु पूरै सुनसान छ । ‘नेपालबाट बाटो छैन । बाटोमा महाकाली चढेको छ । गयो भने इन्डियाबाट जाने हो । तो पनि पास लिएर जानुपर्छ । त्यसैले अहिले आवतजावत छैन’,उनले भने ।

यता,एसएसबीको ज्यादतीको पराकाष्ठा भोग्न बाध्य धामी परिवारले अहिलेसम्म राहतसमेत पाएको छैन । गाउँपालिकाले किरिया खर्च भनेर उपलब्ध गराएको २५ हजारबाहेक थप क्षतिपूर्ति नपाएको स्थानीयले बताएका छन् ।

नेपालतर्फको मालुघाट र भारततर्फ जयकोट गस्कुमा स्थानीय बासिन्दाले वारपार गर्न तुइन राखेका थिए । उक्त तुइन तरेर घर फर्कंदै गरेका धामीलाई एसएसबीले महाकालीमा खसालिदिएको हो ।

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

टिप्पणीहरू