प्रत्येक दरबारका षड्यन्त्रकारी प्रेम « Jana Aastha News Online
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022
Logo
१४ आश्विन २०७९, शुक्रबार
|  Fri Sep 30 2022

प्रत्येक दरबारका षड्यन्त्रकारी प्रेम

प्रकाशित मिति :  ३१ चैत्र २०७३, बिहीबार १०:०२


  • राजेन्द्र स्थापित


युरोपको बाल्कन क्षेत्रमा अवस्थित सर्बिया सर्व अर्थात् स्लाभिक आदिवासीले आठौं शताब्दीमा स्थापना गरेको मुलुक हो । पछि यो सन् १४३९ देखि ओटोमन (तुर्क) साम्राज्यअन्तर्गत रह्यो । सन् १८७८ मा स्वतन्त्र भयो । दोस्रो विश्वयुद्धपछि युगोस्लाभिया संघीय गणतन्त्रको अंग बन्यो । सन् १९९० को दशकमा युगोस्लाभियाको विखण्डनपछि मोन्टेनेग्रोसँग मिली ‘युनियन’ बनाएर बस्यो । र, अन्ततः सन् २००६ मा स्वतन्त्र गणतन्त्रको रुपमा देखाप¥यो ।

मिलान (प्रथम) सन् १८६८ मै राजा भइसकेका थिए तर तुर्की साम्राज्यअन्तर्गत । १० वर्षपछि जब सर्बिया स्वतन्त्र भयो तब उनी अधिकारसम्पन्न राजा बने । सन् १८८९ मा अनायास अपदस्थ भए । १३ वर्षका राजकुमार अलेक्ज्याण्डर राजा घोषित भए । राजमाता नाताली नायबी बनिन् । चार वर्षपछि सन् १८९३ मा १७ वर्षीय अलेक्ज्याण्डरले आफू बालिग भइसकेको घोषणा गर्दै नायबी शासन बिघटन गरिदिए । सो घोषणालाई जनताले साथ दिए । अलेक्ज्याण्डरले निर्वासित पिता मिलानलाई स्वदेश फर्काए । सेनाको प्रधानसेनापति बनाइदिए । र, मिलान नै पुनः ‘डि फ्याक्टो’ शासक बने । मिलान र नातालीबीच कहिल्यै मतैक्य भएन । दिनहुँ झगडा गर्थे । यसका बाबजुद अलेक्ज्याण्डरले राम्रो शिक्षा पाए । उनको योग्यताको सबैले सराहना गरे । मिलानलाई एउटै चिन्ता रहन्थ्यो, छोरो लम्फू भएकोमा । युवतीहरुप्रति उनको कुनै लगाव थिएन । सन् १८९५ मा अलेक्ज्याण्डर आमालाई भेट्न फ्रान्सस्थित मामाघर वियारित्ज पुगे, जहाँ ड्रागिन्जा ‘ड्रागा’ ओब्रेनोभिकसँग भेट भयो । उमेरमा १२ वर्ष जेठी ड्रागिन्जा त्यसबेला नातालीकी सेविकाको रुपमा काम गर्थिन् । आधुनिक पहिरन, बोलक्कड र सौन्दर्य तीनै कुराबाट अलेक्ज्याण्डर लएि ।

ड्रागा (प्रिय) सर्बियाकै थिइन् । लुन्जेभिका गाउँमा जन्मिएकी । ओब्रेनोभिक वंशका राजा मिलोसका सन्तती । आमाबाबुका चार छोरी, तीन छोरामध्ये छैठौं सन्तान । सन् १८१५ को सर्ब विद्रोहको नेतृत्व मिलोसले गरेको कारण आफ्नो जातिप्रति ठूलो गर्व गर्थिन् । देशभक्तिको भावना प्रवल थियो । छोरीलाई पनि शिक्षा दिनुपर्ने भावना राख्ने परिवारको सन्तान भएकै कारण दिदीबहिनीहरुसँगै बेलग्रेडमा पढ्न गइन् । चारवटा भाषा बोल्न, लेख्न सक्ने भइन् । साहित्यमा पनि रुचि राख्थिन् र लघुकथाहरु लेखिन् । हाइस्कुलमा पढ्दै त्यो बेलाका प्रख्यात निबन्धकार तथा साहित्यिक समालोचक बोग्डान पोपोभिकसँग प्रेम गरिन् । तर आमाबाबुले अर्कै केटा खोजे । १७ वर्षीया छोरीको ३२ वर्षको खानी इञ्जिनियर स्भेटोजार मासिनसँग बिहे गराइदिए । मासिन रिसाहा र जँड्याहा थिए । निहुँ खोजेर पत्नीलाई कुटपिट गर्थे । ड्रागाले दाम्पत्य जीवन अत्यन्त कष्टका साथ बिताइन् । तर, तीन वर्षपछि मासिन हृदयघातबाट मरे । आर्थिक संकटले ड्रागाको जीवन झन् नाजुक बन्यो । घरबाट निस्कन बन्द गरिन् । पत्रिकामा लेखेर र अनुवाद गरेर जीविका चलाइन् । त्यही पैसाले विवाहयोग्य बन्दै गएका बहिनीहरुलाई पनि सघाइन् । मायाको बदला पुरुषबाट उपहार पनि पाउँथिन् । ‘माया’ गर्ने त्यस्तै एकजना भद्र पुरुषले नै राजमाता नातालीको सेवामा लगाइदिए । नाताली त्यसै पनि ड्रागाको लेखनबाट प्रभावित थिइन् । त्यसैले लोग्ने मिलानसित सम्बन्ध बिच्छेद गरी फ्रान्स निर्वासनमा जाँदा साथै लगिन् ।

युवतीप्रति उदासीन अलेक्ज्याण्डरको मन विधवा ड्रागालाई देखेपछि बदलियो । दुवै चाँडै नै प्रेमी–प्रेमिका बने । नाताली छोरा र सेविकाबीचको सम्बन्धबारे थाहा पाएर पनि चुप बसिन् । यौनको मामिलामा पोख्त बनिसकेकी विधवाबाट छोराले ‘काम–कला’ सिकोस् भन्ने चाहना राखिन् । अलेक्ज्याण्डर र ड्रागाको प्रेमसम्बन्ध करिब दुई वर्ष चल्यो । यसबीच उनीहरुले दर्जनौं प्रेमपत्र लेखे । प्रेमसम्बन्ध गहिरिइसकेको थाहा पाएपछि भने नाताली छोरा र ड्रागाबीच तगारो बनेर खडा भइन् । ड्रागालाई सेविकाबाट पनि हटाइन् । तर, त्यसबेलासम्ममा अलेक्ज्याण्डर ड्रागालाई छाड्न नसक्ने स्थितिमा पुगिसकेका थिए । मिलानले पनि ड्रागासितको छोराको सम्बन्धलाई हल्का रुपमा लिने गरेका थिए । त्यसैले ढुक्क भएर छोराको निम्ति जर्मन राजकुमारी अलेक्ज्याण्ड्रा जुश्चौम्बर्ग–लिप्पेको हात माग्न कार्लोभीतर्फ हिँडे । त्यसैबखत प्रधानमन्त्री डा. भ्लादान डोर्देभिक पनि पेरिसको भ्रमणमा गए । बाबु र प्रधानमन्त्रीको अनुपस्थितिको मौका उठाएर अलेक्ज्याण्डरले सन् १९०० को अगस्त ५ मा ड्रागालाई महारानी घोषित गरे ।

उक्त बिहेको चौतर्फी विरोध भयो । प्रेममा बहकिएर राजाले मुख्र्याइँ गरेको आरोप लगाइयो । नातालीले पनि छोराको निर्णयको विरोध गरिन् । अलेक्ज्याण्डरले बिहेको विरोध गरेको भनी आमालाई कहिल्यै स्वदेश फर्कन नपाउने आदेश जारी गरिदिए । जर्मनी पुगेका बाबुले पनि उतैबाट सेनापतिको राजीनामा पठाइदिए । प्रधानमन्त्रीले पद छाडे । बिहेको साक्षी बसेका रुसी सम्राट जार निकोलस (द्वितीय) बाहेक कसैले पनि साथ दिएनन् । अलेक्ज्याण्डरलाई नयाँ सरकार गठन गर्न कठिन भयो । दरबारिया, कुलिन वर्ग, सरकारी अधिकृतहरु सबैले असहयोग गरे । सबैको एउटै भनाइ थियो– ड्रागाले अलेक्ज्याण्डरसित सच्चा प्रेम गरेकी हैनन्, नाटक मात्र गरेकी हुन् ताकि सेनामा अधिकृत रहेका दुई दाजु सत्तामा पुगुन् । सबैको अर्को प्रमुख चिन्ताको विषय थियो– ड्रागाको उमेर । उनी त्यसबेला ३६ को भइसकेकी थिइन् । अर्थात् उत्तराधिकारी दिनसक्ने झिनो आशा मात्र थियो । त्यसमाथि बिधवा । ड्रागालाई महारानी बनाउने राजाको कदमलाई सेनाले समेत राम्रो मानेन । सबैतिर असन्तोष फैलियो । यसबीच सन् १९०१ मा ड्रागा गर्भवती बनेको हल्ला फिँजियो । फ्रान्सबाट चिकित्सक र नर्स झिकाएर सेवामा लगाइयो तर उनै फ्रान्सिसी चिकित्सकले महारानीले गर्भाधान नगरेको र गर्भवतीको बहाना मात्र बनाएको रहस्य खोलेपछि ठूलो असन्तुष्टि फैलियो । महारानी ड्रागाको साख झनै गि¥यो । सबैले अनेक लाञ्छना लगाए । ‘यो सबै नाटक’ सेनाका लेफ्टिनेन्ट दाजु निकोदिजेलाई राजाको उत्तराधिकारी दिलाउन लगाउने प्रपञ्च हो भने ।

महारानीप्रतिको सारा विरोधले पनि अलेक्ज्याण्डर टसमस भएनन् । ड्रागाप्रतिको प्रेममा रत्तिभर पनि कमी आउन दिएनन् । बरु महारानीलाई विदेश लगेर उपचार गराउनतिर लागे तर आन्तरिक राजनीतिमा व्यस्त हुनुपरेका कारण समयमै उक्त काम गर्न सकेनन् । विरोधी सबैले महारानी बाँझो नै भएको लाञ्छना लगाए । त्यस्तो नभएको भए पूर्व लोग्नेबाट पनि किन सन्तान भएनन् भनेर प्रश्न उठाए । ड्रागा गर्भवती बन्न नसक्ने नै भएपछि अलेक्ज्याण्डरले नाताले भाइ पर्ने मोन्टेनेग्रोका राजकुमार मिर्कोलाई धर्मपुत्रको रुपमा पाल्ने र उनैलाई उत्तराधिकारी बनाउने योजना बनाए । तर, जर्नेलहरुले एकमतका साथ यसको पनि विरोध गरे । विरोधको प्रमुख कारण थियो– मोन्टेनेग्रो र रुसबीचको घनिष्ठ सम्बन्ध । सेना सर्बियामा रुसी प्रभावको विरोधमा थियो । यसबीच अलेक्ज्याण्डर र संसद्बीचको मतभेद पनि चरमोत्कर्षमा पुग्यो । सिनेटले स्वतन्त्र ढंगले काम गर्न खोजेको डेढ घण्टाभित्रै अलेक्ज्याण्डरले संविधान र संसद् बिघटन गरिदिए । जनतामा झन् असन्तोष फैलियो । सेना विद्रोह गर्न अग्रसर भयो ।

महारानी ड्रागाको ‘गर्भाधान काण्ड’ बाट रुसी जार निकोलस पनि चिढिइसकेका थिए । सर्बियाका राजारानी दुवैलाई रुसमा प्रतिबन्ध लगाइसकेका थिए । उनै जारले जर्नेलहरुलाई हातमा लिए । सैन्य विप्लव गराउन ‘ब्ल्याक ह्याण्ड’ नामक आतंककारी समूह परिचालन गरे । यो समूह रुसी विदेश नीतिअनुरुप परिचालित थियो । प्रथम विश्वयुद्धको कारक बनेको अष्ट्रियाका राजकुमार फ्रान्ज फर्डिनान्ड र उनकी पत्नीको हत्या पनि सन् १९१४ मा यही समूहले गरेको थियो । सन् १९०१ मा रुसी समर्थक सर्बियाली जर्नेल ड्रागुटिन डिमित्रिजेभिक एपिसको नेतृत्वमा ब्ल्याक ह्याण्ड सल्बलाउन थाल्यो । सत्तारुढ वर्गमा सबैतिर घुसपैठ ग¥यो । स्लाबहरु सबैलाई एकजुट बनाउने नारा बोक्यो । विद्रोहको शुरुवात नै अष्ट्रियाको मित्र बनेका अलेक्ज्याण्डर र ड्रागाको हत्याबाट गर्ने योजना बनायो । रुसले यसको निम्ति ड्रागाकै एकजना पूर्व देवरको नेतृत्वमा विशेष टोली खटायो । उक्त टोली सन् १९०३ को जुन १० मा बेलग्रेड पुग्यो । जर्नेल एपिस र ब्ल्याक ह्याण्ड टोलीसँग भेट्यो ।

त्यो साँझ राजा अलेक्ज्याण्डरले मन्त्रीगण र ड्रागाको परिवारसँग बसेर खाना खाने कार्यक्रम बनाएका थिए । रात्रिभोजबाट सबै पाहुनालाई बिदा दिइसकेपछि राजारानी सुत्न गए । मध्यरातपछि एपिसको नेतृत्वमा कमाण्डो टोली राजदरबारतर्फ अघि बढ्यो । ठीक त्यसैबेला कर्णेल अलेक्ज्याण्डर मासिन १२ औं सैन्य ब्यारेक पुगे । लेफ्टिनेन्ट कर्णेल पिटर मिसिक सेनाको ११औं डफ्फाको नेतृत्व गरी दरबारतर्फ बढे । केही समूह प्रधानमन्त्री दिमित्रिजे मार्कोभिक र राजाप्रति बफादार सैनिक अधिकृतहरुको घर घेर्न पुगे । त्यसबेला दरबारको ढोकामा लेफ्टिनेन्ट पिटर जार्कोभिकको ड्युटी थियो । रातिको २ बजे उनैले ढोकाको ताला खोलिदिए । सबै भित्र पसे ।  सबैभन्दा पहिला बिजुली काटिदिए । दरबारमा तैनाथ अधिकांश सैनिक षड्यन्त्रमा सामेल थिए । त्यसैले थोरै मात्र त्यहाँ थिए । भएका पनि अँध्यारोले गर्दा अल्मलिए । शुरुमा कमाण्डो ग्रुप राजारानीको शयनकक्षमा पस्यो । तर, राजारानी त्यहीँ पछाडिको गोप्य कोठामा लुक्न गइसकेका थिए । ठूलो ऐनाको पछाडि लुकेर बसे । त्यसो त भुइँमा सुरुङ थियो, जुन दरबारअगाडिको रुसी दूतावासमा निस्कन्थ्यो । तर, दुर्भाग्यवश त्यो बेला सुरुङमाथि ठूलो दराज राखिएको थियो । रानीको लुगाले भरिभराउ भएका कारण हटाउन दुवैको बलले पुगेन ।

यसबीच एपिसले भ¥याङ ओर्लेर कोही भागिरहेको देखे । राजारानी होलान् भनी पछिपछि दौडे । तर, दुईजना सैनिक रहेछन् । उनीहरुले पछाडि फर्केर गोली चलाइहाले । गोली लागेर एपिस घाइते भई ढले । दुई घण्टाको अथक खोजीपछि अन्य षड्यन्त्रकारीहरु राजारानी लुकेर बसेको कोठाबाहिर पुगे । बम पड्काएर ढोका फोरे तर राजारानीलाई फेला पार्न सकेनन् । एकजना सैनिकले गारो लगाएर छुट्याएको ठाउँमा सानो प्वाल देखे । भित्र चियाउँदा राजारानीलाई देखेपछि निस्कन आदेश दिए । राजारानी अर्धनग्न अवस्थामा निस्के । देख्नेबित्तिकै क्या. मिहाजो रिस्तिकले राजालाई गोली हाने । लगत्तै अर्का दुईजनाले पनि हाने । अलेक्ज्याण्डर भुइँमा ढले । रानी ड्रागाले छेकेर बचाउन खोजेकी थिइन् तर भुइँमा पछारिइन् । सेनाले उनीहरुको शरीरमा जथाभावी प्रहार गरे । यसबीच गोली लागेर ढलेका राजा उठिसकेका थिए । झ्यालको चौकोस समाउन पुगे । छुटाउन नसकेपछि सेनाले राजाको हातको औंला नै काटिदिए । यसपछि घाइते राजारानी दुवैलाई बरण्डामा लगियो । सेनाको जवानले पहिला राजालाई र पछि रानीलाई हावामा उफारेर दुई तलाबाट फ्याँकिदिए । राजारानी दरबारको पछिल्तिर जम्मा पारी राखेको मलखादको थुप्रोमा खसे । उनीहरुको मृत्यु त्यहीं भयो । सोही राति सेनाले रानी ड्रागाका दाजुहरु निकोडिजे र निकोला ल्जुन्जेभिकलाई मारे । प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्री आ–आफ्नै घरमा मारिए । घटनामा राजाका बफादार तीनजना क्याप्टेन पनि मारिए । प्रायः सबै युरोपेली मुलुकले अलेक्ज्याण्डर र ड्रागाको बर्बरतापूर्वक हत्या गरिएकोमा विरोध गरे । बेलायतले दौत्यसम्बन्ध नै बिच्छेद ग¥यो । राजारानी मारिएपछि सर्बियामा ओब्रेनोभिक वंशको शासनकै अन्त्य भयो । विरोधी काराडोर्डेभिक वंशको शासन शुरु भयो । सर्बिया रुसी धुरीमा गयो ।


प्रतिक्रिया दिनुहोस !