विदेश भासिने पत्रकारका व्यथा

  • सतिदेवी उप्रेती

नेपाली पत्रकारिताको आमप्रबृत्ति, यसमा आबद्ध व्यक्तिका रुप र रंगलाई बुझ्न काठमाडौंस्थित पत्रकार महासंघलाई हेरे पुग्छ । यो अहिले तीन वर्षे पदाधिकार समाप्तिको संघारमा छ । सम्भावना, अवसर र चुनौतिभन्दा बढी विसंगतिले गाँजेको पत्रकार महासंघको सफा चित्र हेर्दा लाग्छ, सबभन्दा सम्भावनायुक्त, प्रभावकारी र सशक्त पेशाकर्मीको यो संस्था साह्रै कुरुप छ ।

यो पंक्तिकारले कार्यसमिति सदस्यको जिम्मेवारी निभाइरहेको काठमाडौं पत्रकार महासंघले सदस्यका नाममा थुपारेका व्यक्तिको चित्रण यस्तो छ– करिब २ सय प्रेस चौतारीसम्बद्ध, सयको हाराहारीमा प्रेस युनियन र सेन्टर, त्यति नै संख्यामा विभिन्न तीन माओवादी घटकका पत्रकार । विगतमा शाहीशासनको पक्षपोषण गरेका ‘राष्ट्रवादी’ धारका पत्रकार तथा असंगठित अवस्थाका ‘स्वतन्त्र’ को संख्या सयभन्दा बढी छ । यो संख्यात्मक स्थितिका आधारमा विश्लेषण गर्दा काठमाडौंको पत्रकार महासंघमा ५ देखि ६ सय सदस्य हुनुपर्ने हो । तर, १ हजारभन्दा बढी छन् । अहिले ४ सय ४० जनालाई नयाँ सदस्यता दिन सिफारिस तयार छ । त्यसलाई सकेसम्म काँटछाँट गरेर स्वीकृत गराउन महासंघ, केन्द्रको सुझाव प्राप्त भएको छ । यसरी हेर्दा देशको राजधानी शहरमा काम गर्ने पत्रकार महासंघका कूल सदस्यमध्ये पत्रकारिता नगर्ने, तर पत्रकार महासंघको सदस्यता बोक्ने झुण्डको बर्चश्व छ । पेशागत तथा वैचारिक रुपमा आबद्ध पत्रकारको संख्या र पत्रकारिता नगर्ने, तीन वर्षमा एकचोटि मासुभात खानमात्रै आइपुग्नेको संख्या बराबर हुँदा नेतृत्वका आकांक्षीले वास्तविक पत्रकारभन्दा मासुभातका लागि भेला हुने ‘पत्रकार’ सँग बढी खुशामद गर्नुपर्ने वास्तविकता हो । गार्मेन्ट, होटल, म्यानपावर, सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारीदेखि पत्रकारिताको ‘प’ समेत नबुझेका व्यक्तिसँग पत्रकारको नेता बन्न चाहनेले नमस्कार गर्दै भोट माग्नुपर्ने काठमाडौंको वास्तविकता हो ।

आधा संख्यामा रहेका प्रतिबद्ध मतदाताले चुनावी समीकरणका आधारमा मतदान गर्ने नै भए । तर, कुनै पनि उम्मेदवारले निर्वाचित हुनका लागि प्रतिबद्ध मतदाताको भर पर्ने अवस्था छैन । यस्तो स्थितिलाई शुद्दीकरणका माध्यमबाट ठीक पार्न सकिने धारणा नआएको होइन । तर, काठमाडौं पत्रकार महासंघका नाममा चल्ने ठेकेदारीको चर्को दबदबाको चंगुलमा बेरिएर ‘अन्य पेशा तथा व्यवसायमा संलग्न’ लाई मान–मनितो गर्नुपर्ने स्थिति छ । उदाहरणका लागि नेपाल सरकारका सहसचिव तथा काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत रुद्रसिंह तामाङ राम्रा प्रशासक होलान् । तर, पत्रकार होइनन् । महासंघको सदस्य बन्नैपर्ने गरी उनको कुनै साइनो यो क्षेत्रसँग छैन । तर, उनी महासंघका सदस्य हुन्, काठमाडौंबाट । यस्ता सचेत तथा जिम्मेवार व्यक्तिले ‘म पत्रकार होइन, त्यसैले महासंघको सदस्यता त्याग्छु’ भन्नुपर्ने हो । तर, थाहा छैन, राजधानी शहरमा महासंघको सदस्यता देखाएर कहाँ–कहाँ, के–कस्ता मेलोमेसो चल्छन् ? इमानको उदाहरण नभएको होइन ।  जस्तो कि, लामो समयदेखि पत्रकारिता पेशा गर्दै, आफ्नो सम्पादकत्वमा संबोधन साप्ताहिक प्रकाशित गर्दै आउनुभएका गोकुल बाँस्कोटाले अघिल्लो कार्यकालमा महासंघको सदस्यता नवीकरण गर्नुभएन । कारण थियो, नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीको अध्यक्ष हुनु ।

पत्रकारितासँगको साइनो राजनीतिक भूमिकाले थिचिएको बेला, पत्रकार महासंघलाई पार्टी राजनीतिको प्रभावबाट अलग राख्ने सोचका साथ गोकुलले सदस्यता नवीकरण गर्नुभएन । तर, उहाँकै जिल्ला काभ्रेमा नेपाली कांग्रेसका नेता मधु आचार्य निसंकोच महासंघको सदस्यता नवीकरण गरिरहनुहुन्छ । इतिहासको कालखण्डलाई पल्टाउँदा पूर्वमन्त्री होमनाथ दाहाल महासंघको अध्यक्ष हुनुहुन्थ्यो । रघुजी पन्त र चन्द्र भण्डारीहरु महासचिव हुनुभयो । तर, राजनीतिक भूमिकामा अगाडि बढेपछि उहाँहरुले पूर्वपदाधिकारीको मानसम्मान त पाउँदै आउनुभएको छ । तर, महासंघको सदस्य भइराखेर आफूलाई त्यसको हेराफेरीमा उपस्थित गराउनुभएको छैन । त्यसैले नैतिकता र अनैतिकता जान्ने, बुझ्नेहरुले नै ख्याल नगर्दा रहेछन् ।

पत्रकार महासंघमा सदस्य भएका गैरपत्रकारबाट छानिने नेतृत्व र त्यो नेतृत्वले पेशाकर्मी पत्रकारको पक्षमा गर्ने काम कस्तो होला ? हामीले लामो समयदेखि पत्रकार महासंघका अनेकन कार्यसम्पादन हेर्दै आयौँ । श्रमजीवी पत्रकार ऐन लागु हुन सकेको छैन । समानुपातिक विज्ञापन प्रणालीको रटान पहिलाजस्तै छ, लागु हुन सकेको छैन । मन्त्रिपरिषद्ले स्वीकृत गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको न्यूनतम पारिश्रमिकको व्यवस्था सरकारी स्वामीत्वका सञ्चारगृहमै लागु भएका छैनन् । साना लगानीका छापामाध्यको संरक्षण गर्ने नीति अहिलेसम्म आउन सकेको छैन । पत्रकारहरुले आत्मनिर्भर पत्रकारिता रोजेका छन् । तिनको संरक्षण पत्रकार महासंघले गर्नुपर्ने हो । तर, महासंघ नेतृत्व कस्ताहरुको बीचमा निर्वाचित हुँदै आएको छ ? यी प्रसंगमा चर्चा गरिरहँदा ती प्रसंग भुल्नु हुँदैन ।

यस्तो स्थितिले क्षमतावान पत्रकार पेशा परिवर्तन वा अन्य विधामा सक्रिय हुने स्थिति बढेको छ । उदाहरणका लागि प्रतिमा बाँस्कोटा । पंक्तिकारसँगै रत्नराज्य (मानविकी) क्याम्पसमा पत्रकारिता तथा आमसञ्चारमा स्नातक गरिन् । हाम्रो व्याचबाट पेशामा निक्कै जमेकी पत्रकार थिइन् । कान्तिपुरको क्राइम बिटबाट चिनिएकी उनी दुई वर्षदेखि पेशामा छैनन् । पेशामात्र हैन, देशै छाडिन् । प्रतिमाको पलायनलाई सामान्य घटनाका रुपमा लिनु हुँदैन । क्षमतावान पत्रकारको पक्षपोषण पत्रकार महासंघले नगर्ने, सञ्चारगृहहरुले ती पत्रकारमाथि गर्ने अनेकप्रकारका शोषण र विभेदका विरुद्ध महासंघ नबोल्ने स्थितिले थुप्रै पत्रकारमा पलायन र निराशा उत्पन्न भएको छ । शिव गाउँले अध्यक्ष रहेको कार्यकालमा केन्द्रीय सदस्य रहनुभएकी शान्ता बस्नेतले केन्द्रीय सदस्य भएकै समयमा पेशा र मुलुक नै छोडेर पलायन हुनुप¥यो । उहाँका पति अनमोलमणि नाम चलेको व्यावसायिक पत्रकार हुनुहुन्थ्यो । सपरिवार अहिले क्यानाडा हुनुहुन्छ । बहालवाला केन्द्रीय सदस्य पवनवर्षा शाहले पनि पेशा छाड्नुभयो, जापानमा हुनुहुन्छ । यस्ता अनगिन्ती पत्रकारले वर्षेनी पेशा र मुलुक छाड्दै गएका छन् ।'

महासंघभित्र भित्रिएको विसंगतिका कारण व्यवसायिक क्षमता भएका क्रियाशील पत्रकार पलायन हुने र पत्रकारिताको नाममा पत्रकारिता नगर्ने झुण्डले महासंघको नेतृत्व गर्ने स्थितिको अन्त्य जरुरी छ । एनजिओमा काम गरेर पत्रकारको नेतृत्व गर्नेहरुले एनजिओवादी चिन्तन त्याग्दैनन् भन्ने कुरा वास्तविक पत्रकारले महसूस गर्नुपर्छ । बरु, दलीय आबद्दता सही, तर पत्रकार नेताले व्यावसायिक पत्रकारका पक्षमा, श्रमजीवीका पक्षमा र संकटग्रस्त पत्रकारको संरक्षणको पक्षमा भूमिका खेल्नु जरुरी छ ।

टिप्पणीहरू