मन्त्रीको अँगालोमा महारानी « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

मन्त्रीको अँगालोमा महारानी

प्रकाशित मिति :  ३१ चैत्र २०७३, बिहीबार ०९:५२


  • राजकुमार दिक्पाल

जतिखेर राजा वीरेन्द्रले शासन गरिरहेका थिए, त्यसबेला दरबारमा उनीभन्दा रानी ऐश्वर्यको ठूलो हैकम थियो भनिन्छ । विभिन्न वंशले नेपालमा शासन गर्दा कहिलेकाहीँ राजाभन्दा रानी शक्तिशाली र विवादास्पद भएको इतिहास पाइन्छ । लिच्छविकालका रानीहरू रजल्लदेवी र नायकदेवी शक्तिमा थिए । मल्लकालमा राजा प्रताप मल्लकी बुहारी ऋद्धिलक्ष्मी राजमाता हुँदा चारित्रिक रूपमा विवादास्पद देखिइन् । पृथ्वीनारायण शाहकी बुहारी तथा राजा प्रतापसिंह शाहकी रानी राजेन्द्रलक्ष्मीमाथि पनि एकल अवस्थामा हुँदा परपुरुषसँग सम्बन्ध राखेको आरोप लाग्यो । राजा राजेन्द्रकी कान्छ िरानी राज्यलक्ष्मी नेपालको इतिहासमा सबैभन्दा विवादास्पद रहिन् । उनकै महात्वाकांक्षाका कारण कोतपर्व र भण्डारखाल पर्व मच्चियो । उनीमाथि जनरल गगनसिंह र कप्तान दलबहादुर थापासँग अनुचित सम्बन्ध रहेको र बनारस निर्वासनको समय गर्भपतनसमेत गरेको आरोप लाग्यो ।

मन्त्री मारिँदा रानीको बिलाप
कान्तिपुरका प्रसिद्ध राजा थिए, प्रताप मल्ल । उनको मृत्युपछि गद्दीमा को बस्ने भने विषयमा निकै विवाद भयो । प्रतापको चाहना थियो, मन परेकी रानीतिरको छोरा महिपतेन्द्र राजा होऊन् । तर नातेदारसमेत रहेका पाटनका राजा श्रीनिवास मल्लले भने महिपतेन्द्रका दाजु नृपेन्द्र मल्ल हुँदाहुँदै भाइलाई राजा बनाउन नहुने अभियान चलाए । दुई पक्षको संघर्षपछि अन्ततः महिपतेन्द्रका दाजु नृपेन्द्र राजा बनाइए । उनको विक्रम संवत् १७३७ मा १८ वर्षको उमेरमा मृत्यु भएपछि भाइ पार्थिवेन्द्र मल्ल राजगद्दीमा बसे ।

शक्तिशाली भारदार चिकुटीको पलायन र हत्यापछि कान्तिपुर राजदरबारमा चौतारा लक्ष्मीनारायण जोशी शक्तिशाली बने । उनी जति शक्तिशाली थिए, उत्तिकै खतरनाक पनि । विक्रम संवत् १७४४ मा राजा पार्थिवेन्द्रको अचानक मृत्यु भयो । खानामा विष मिसाई पार्थिवेन्द्र र उनकी आमाहरूलाई सिध्याउने उद्देश्यले यो षड्यन्त्र रचिएको थियो । तर, पार्थिवेन्द्रकी आमाचाहिँ बचिन् । राजालाई खानामा विष मिलाई मारेको थाहा पाएर प्रजा कान्तिपुर दरबार घेर्न पुगे । यसैलाई अवसर बनाएर आफ्नो शत्रु नाश गर्न लक्ष्मीनारायण अघि सरे र विष काण्डको दोष पलायन भई बसेका पूर्वचौतारा चिकुटीमाथि लगाए । चिकुटीलाई कुटी कुटी मारियो । वास्तवमा खानामा विष प्रयोग गरेर राजा पार्थिवेन्द्रलाई मार्ने षड्यन्त्रको रचनाकारचाहिँ उनै थिए ।

यसरी एकातिर चौतारा लक्ष्मीनारायण शक्तिशाली बनेर देखा परे भने आठ वर्षका बालक भूपालेन्द्र राजगद्दीमा राखिए । यही अवसरमा पार्थिवेन्द्रकी रानी तथा भूपालेन्द्रकी आमा राजमाता ऋद्धिलक्ष्मी र लक्ष्मीनारायणबीच हिमचिम बढ्दै गयो । त्यसबेला लक्ष्मीनारायणको शक्ति र प्रभाव निकै ठूलो थियो ।

कतिसम्म भने लक्ष्मीनारायण घर नगई दरबारमै खाने र सुत्ने गर्थे । राजाकै गहना र पहिरन लगाएर राजाको पलङमा सुत्ने गर्थे । हरबखत राजमाता ऋद्धिलक्ष्मीसँग रहने गर्थे भन्ने इतिहासमा उल्लेख छ । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या १९ (वैशाख २०२९ः२)मा राजमाता र चौतारा लक्ष्मीनारायाणको सम्बन्धबारे यस्तो उल्लेख छ :

मानिसको चरित्र पनि गजबको हुन्छ । कान्तिपुरका मुख्य काजी दरबारमा सुत्ने–खाने गर्दथे । राजाले पहिरने गहना, पोशाक लगाउँथे । राजाको पलङ ओछ्यानमा बस्दथे । रातदिन रानीसँग मात्र बसिरहन्थे । लडाइँमा पनि जाँदैनथे ।

यस प्रसंगबाट लक्ष्मीनारायणको अँगालोमा रानी ऋद्धिलक्ष्मी परेको सहजै अनुमान गर्न सकिन्छ । काठमाडांैको जैसीदेवल मन्दिर उनै लक्ष्मीनारायणले धर्मकर्मस्वरूप बनाउन लगाएका हुन् ।

यसरी शक्तिशाली भएर दरबारमा राजमातासँग हिमचिम मच्चाइरहेका लक्ष्मीनारायणको नेपाल संवत ८१० भदौमा खसद्वारा हत्या गरिएको ‘प्राचीन नेपाल’ को संख्या १९ (वैशाख २०२९ः३)मा उल्लेख छ । पत्रिकाका अनुसार लक्ष्मीनारायणको हत्या भएको खबरले आकुल ब्याकुल भएकी ऋद्धिलक्ष्मी राजकुलबाट बाहिर निस्केकी थिइन् । बेइज्जत हुने डरले सबैले सम्झाईबुझाई भित्र लगेका थिए । ऋद्धिलक्ष्मीले लक्ष्मीनारायणको रगत चाँदीको भाँडामा उठाउन लगाई मूर्दा पठाएर संस्कार गर्न लगाएकी थिइन् । एउटा मन्त्री मारिँँदा राजमाता आकुल ब्याकुल हुनुको अर्थ सहजै बुझ्न सकिन्छ ।

अनि सर्वजित राना काटिए

विक्रम संवत् १८३४ मंसिर ४ गते राजा प्रतापसिंह शाह बिते । यसअघि नै राजकुमार बहादुर शाह दरबारबाट धपाइएका थिए । प्रतापसिंहको मृत्युपछि बहादुर शाह नेपाल बोलाइए । तत्कालीन बालक राजा रणबहादुर शाहको नायव भएर राजमाता राजेन्द्रलक्ष्मीले शासन सम्हालिरहेकी थिइन् । पछि देवर–भाउजू मिलेर शासन चलाए । तर यिनीहरूबीच विस्तारै मनमुटाव शुरु भयो र ठूलो शक्ति संघर्ष चर्कन थाल्यो, दरबारमा । कहिले राजेन्द्रलक्ष्मीको हात माथि हुन्थ्यो, कहिले बहादुर शाहको ।

शक्ति संघर्ष चलिरहेका बेला राजमाता राजेन्द्रलक्ष्मीमाथि निकै गम्भीर आरोप लाग्यो । काजी सर्वजित रानासँग अवैध प्रेमप्रसँग चलाएको गम्भीर आरोप थियो, उनीमाथि । इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित ‘नेपालको संक्षिप्त वृत्तान्त’ (२०६३ः२१४)मा उल्लेख भएअनुसार प्रतापसिंह शाहको एक वर्षको आसौच नसकिँदै राजेन्द्रलक्ष्मीले तत्कालीन समाजले नपचाउने उत्ताउला हर्कत देखाउन थालेकी थिइन् । विस्तारै काजी सर्वजित राना र उनका बीच प्रेमप्रसँगको गाइँगुइँ पनि सुनिन थाले । यस्तो हल्ला र उनका गतिविधि पृथ्वीनारायण शाहका विश्वासयोग्य भारदार श्रीहर्ष पन्तलगायतलाई सह्य भएन । राजेन्द्रलक्ष्मी र सर्वजीतबीचको अवैध सम्बन्धका बारेमा बोल्न लगाउन दरबारभित्रै चारजना सुसारे केटाहरूलाई पोलाहाको रूपमा खडा गरियो । भूतपूर्व चौतारा दलजीत शाहले यिनै आरोपमा काजी सर्वजीतलाई दरबारकै एउटा कोठामा कटाइदिए भने राजेन्द्रलक्ष्मी चाँदीको नेल ठोकिएर दरबारभित्रै कडाइका साथ नजरबन्दमा परिन् । त्यसपछि राजकुमार बहादुर शाह शक्तिमा आई राजा रणबहादुरको नायवीसहित शासनमा देखा परे ।

कोतपर्व मच्चाउने सम्बन्ध

विक्रम संवत १९०३ असोज बदी ९ मा भएको कोतपर्वपछि नेपालको राजनीतिले अर्कै मोड लियो । त्यसपछि राणाहरूले एक सय चार वर्षसम्म एकछत्र जहानियाँ शासन चलाए । तत्कालिन महारानी राज्यलक्ष्मीले गगनसिंहको हत्यारा पत्ता लगाउन दिएको आदेश र त्यही पालना गर्ने जंगबहादुरले आफ्ना भाइहरूको सहयोग लिएर कोतपर्व मच्चाए ।

रानीका अति विश्वासपात्र तत्कालिन जनरल गगनसिंहको रातको ९/१० बजे उनकै निवासमा हत्या गरियो । विक्रम संवत १८९८ मा सौता साम्राज्यलक्ष्मीको देहान्त भएपछि राज्यलक्ष्मी शक्तिशाली बन्न पुगिन् । त्यसबेला २४ वर्षकी नौजवान उनी २८ वर्षको हुँदा राजा राजेन्द्रबाट राजपरिवारका सदस्यवाहेक अन्य सबैलाई सजाय, देश निश्कासन र पजनी गर्ने अधिकारसमेत प्राप्त गरेकी थिइन् । तर आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको हत्या र जंगबहादुरको उदयपछि शक्ति छिन्नभिन्न भयो र २९ वर्षको उमेरमा बनारस निर्वासित हुन प¥यो ।
गगनसिंहको हत्यापछि महारानी राज्यलक्ष्मी उनको घर यट्खा पुगिन् । त्यतिखेर उनको हातमा नाङ्गो तरबार थियो । ‘प्राचीन नेपाल’ को संख्या २५ (कात्तिक २०३०ः१६) अनुसार त्यहाँ पुगेर महारानीले आदेश दिइन्, ‘यिनको लास उठाउन हुँदैन । मुण्डको मुण्ड नजोरी मान्दिनँ । विनाकसुर, बिना हुकुमले भारदारको खेलले मारे । अब श्री ५ महाराजलाई बक्साई निसाव गर्छौं ।’

त्यतिखेर दाउ छोपेर बसेका जंगबहादुरले ‘मलाई हुकुम बक्से ददा जनरल गगनसिंहलाई मार्ने भारदार पत्ता लगाई सजाय गर्दा हुँ’ भनी आदेश मागे । रानीबाट आदेश भयो, ‘हुन्छ लौ मार् । तँलाईं हुकुम भयो ।’ अनि मच्चियो कोतपर्व । त्यसपछि नेपालको राजनीतिले अर्कै मोड लियो ।
आफ्ना छोरा रणेन्द्रलाई युवराज बनाउने ठूलो सपना थियो, राज्यलक्ष्मीको । यसका लागि गगनसिंहलाई ठूलो विश्वासमा लिएकी थिइन् । ‘प्राचीन नेपाल’ को संख्या २५ (कात्तिक २०३०ः१५)अनुसार माथवरसिंहको हत्यापछि १६ मध्ये गगनसिंहको हातमा मात्र सात पल्टन थियो । यसबाट पनि गगनसिंह महारानीको अति विश्वासपात्र भएको स्पष्ट हुन्छ ।

महारानी राज्यलक्ष्मी र गगनसिंहबीच राजनीतिक सम्बन्ध मात्र थिएन, प्रेम सम्बन्धसमेत थियो भनी कतिपयले लेखेका छन् । तीमध्ये एक हुन्, अम्बर्स ओल्डफिल्ड । उनले आफ्नो पुस्तक ‘स्केचेज फ्रम नीपाल’ (सन् २००५ः३४४)मा ‘माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनका प्रेमी गगनसिंहको हातमा आयो’ भनी उल्लेख गरेका छन् ।

‘कोतपर्वकी महारानी’ (२०६१ः२४)अनुसार गगनसिंहको जन्म विक्रम संवत १८५३ मा र राज्यलक्ष्मीको जन्म १८७४ (अनुमानित) भएको यी दुईबीच उमेर २१ वर्षको फरक थियो । यसो हुँदा यी दुई बीच प्रेम र ब्यभिचार थिएन कि भन्ने ठाउँ त छ, तर राज्यलक्ष्मीको निर्वासनपछि उनका छोराहरू रणेन्द्र र वीरेन्द्रलाई तत्कालिन राजा सुरेन्द्र र बुढा महाराज राजेन्द्रले राजगुरु विजयराज पाण्डेलाई लेखेको पत्रमा राज्यलक्ष्मीको गगनसिंहसँग मात्र होइन, दलबहादुर थापा नामका सैन्य अधिकारीसँग पनि यौनसम्बन्ध भएको र बनारसमा राज्यलक्ष्मीले तीन महिनाको गर्भपतन गराएको आरोपसमेत लगाइएको छ ।

इतिहासकार प्राध्यापक दिनेशराज पन्तले ‘पूर्णिमा’ को पूर्णांक ७० (असोज २०४३ः३१–३७)मा रानी राज्यलक्ष्मीसँगसम्बन्धी ६ वटा अप्रकाशित पत्र प्रकाशमा ल्याएका छन् । तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिँला भाइ रणेन्द्र र काँहिला वीरेन्द्रका नाममा लेखेको पत्रमा दलबहादुर थापासँगको अवैध यौनसम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महिनाको गर्भ तुहाएको र भाइहरूलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइनेसमेत उल्लेख गरिएको छ । पत्रको ब्यहोरा यस्तो छः

साँहिला भाइ काहिँला भाइ,
तिम्रो मुमालाई कालीदासका भाइले दलबहादुरसँगको ब्यभिचार हुँदा तीन महिनाको गर्भ तुहाएको म थाहा पाउँछु भनी हाम्रा हजुरमा बिन्ति गर्दा तिम्री मुमालाई झिकाइएको हो । तिम्रा मुमाले ६ महिनासम्म नआउँदा र बनारसमा तिम्रा नोकरीमा रहेका अरुले पनि यही कुरा यत्रतत्रबाट भन्दा साँचो रहेछ भन्ने सबैका मनमा प¥यो । तसर्थ तिम्रा मुमालाई हाम्रा मुलुकमा रहन, हाम्रा आशा राख्न पर्वतेहरूले खानपान नगर्नु भनी हटाइबक्स्यौं । तिमीहरूले पनि भोरमा खानपान गरेको कुरामा धर्माधिकारको पतिया लिइहाल । पतिया नलिई मायामा काया हाल्यौ भने पछि तिमीहरूको बिग्रला । तिम्रो र हाम्रो भात भान्सा जात पिण्ड जुठो फरक भयो । पतिया लियौ भने भातभान्सा फरक भएनौ । जस्तो अघि भाइ हौ, त्यस्तै छँदैछौ । राणा राजपुत हुँ, गोरखाको पैदा हो भने जमामार्दि थामौला । मावली गोत्र गएछौ भने हामीदेखि फरक भयौ ।
पत्रमा उल्लेखित कालीदाश वैद्य हुन् भने दलबहादुर थापाचाहिँ सेनाका कप्तान हुन् ।

यस्तै बुढामहाराज राजेन्द्रविक्रम शाहले त दलबहादुरसँग मात्र होइन, राज्यलक्ष्मीको ब्यभिचार गगनसिंहसँग पनि भएको उल्लेख गर्दै राजगुरु विजयराज पाण्डे बनारस जाँदा राज्यलक्ष्मी गगनसिंह र दलबहादुरसँग बिग्रेको साल, महिना र दिनसमेत पत्ता लगाउन आदेश दिएका छन् । पत्रमा राज्यलक्ष्मीलाई जैसिंहकी बहिनी भने संबोधन गरिएकोले उनका दाजुको नाम जैसिंह रहेको स्पष्ट हुन्छ । १९०७ मार्ग सुदि ३ रोज ६मा लेखेको पत्रको ब्यहोरा यस्तो छ :

श्री ६ गुरुराज पण्डित विजयराज पण्डितको पाउमा प्रणाम । यसपाला तपाईं काशी जानु हुँदा जैसिंका बहिनी गगनसिंह खवाससँग कुन साल कुन महिनाको कुन दिन बिग्रेकी रहिछिन् ? दलबहादुर थापासँग कुन दिन कुन महिना कुन साल बिग्रेकी रहिछन् ? जस्ताको तस्तै ठह¥याउनु भई जैसिंकी बहिनीको र दलबहादुरको कायलनामा लेखाई सही हाली दुवै कायलनामा लिइकन आउनु होला र म प्रायश्चित गरिबक्सुँला ।
यदि राजनीतिक रूपमा त्यतिखेर अबला बनेकी र निर्वासित अवस्थाकी उनीमाथि तत्कालिन राजा र बुढा महाराजबाट लगाइएको जघन्य आरोप मिथ्या होइन भने यी पत्रहरूबाट पनि तत्कालिन महारानी राज्यलक्ष्मी तत्कालिन जनरल अर्थात मन्त्रिमण्डलका सदस्य गगनसिंहको अँगालोमा बेरिएकी रहिछिन् भन्ने देखिन आउँछ ।


प्रतिक्रिया दिनुहोस !