यस्तो बन्नेछ माओवादीको केन्द्रीय संगठन

यस्तो बन्नेछ माओवादीको केन्द्रीय संगठन

नेकपा (माओवादी केन्द्र)ले बहुपदीय संरचनासहितको केन्द्रीय समिति,आयोग र निकायहरु गठन गर्ने भएको छ । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा छलफलका लागि प्रस्तुत अन्तरिम विधानमा राष्ट्रिय महाधिवेशन,केन्द्रीय समितिसहित आठ वटा केन्द्रीय निकायहरु रहने व्यवस्था छ ।

प्रस्तावित विधानमा माओवादीमा राष्ट्रिय महाधिवेशन,केन्द्रीय समिति,केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखापरीक्षण आयोग,केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद,केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने व्यवस्था गरिएको छ । त्यस्तै,केन्द्रीय समितिले पोलिटव्युरो,स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालय पनि गठन गर्ने व्यवस्था छ ।

माओवादीले बहुपदीय संरचनासहितको २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ । जसमा अध्यक्ष,उपाध्यक्ष, महासचिव,उपमहासचिव र सचिव पदाधिकारीका रुपमा रहनेछन् । त्यस्तै,केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्युरो रहनेछ भने पोलिटब्युरोको कूल सदस्य संख्याको एक तिहाई सदस्य रहेको स्थायी कमिटी रहने विधानमा व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिमा अध्ययनकै क्रममा रहेको अन्तरिम विधानमा दैनिक कार्य संचालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने व्यवस्था गरिएको छ । त्यसैगरी,दैनिक प्रशासनिक कार्य सम्पादनका लागि महासचिवको नेतृत्वमा उपमहासचिव र सचिव रहने गरी केन्द्रीय सचिवालय गठन गर्न विधानमा प्रस्ताव गरिएको छ ।

विधानमा केन्द्रीय समितिको कूल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुने गरी अध्यक्ष,सचिव र सदस्य रहने गरी सल्लाहकार समिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै,कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेका अनुभवी व्यक्तिहरु रहेको ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने बताइएको छ । मञ्चमा अध्यक्ष, सचिव र आवश्यक संख्यामा सदस्य रहने व्यवस्था गरिएको छ ।

विधानमा केन्द्रीय आयोगहरु स्वायत्त हुने प्रस्ताव गरिएको छ । त्यस्ता आयोगहरुलाई पार्टी विधानको अधिनमा रही आफ्नो कार्यसम्पादन नियमावली आफैं बनाई काम गर्न सक्ने अधिकार प्रदान गरिएको छ । आयोगमा अध्यक्ष र महासचिवसहित १५ सदस्य रहने विधानमा व्यवस्था गरिएको छ ।

अन्तरिम विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने माओवादी केन्द्रले जनाएको छ ।

[pdf-embedder url=”https://fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/08/maoist-bidhan-2078.pdf” title=”maoist bidhan 2078″]

टिप्पणीहरू