भाग्यभन्दा बढी पाइँदैन भन्छन् « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

भाग्यभन्दा बढी पाइँदैन भन्छन्

प्रकाशित मिति :  ३१ चैत्र २०७३, बिहीबार ०९:४६


  • राजकिशोर यादव, अध्यक्ष, फोरम गणतान्त्रिक

विभाजित अवस्थामा रहेका विभिन्न मधेसी घटकमध्ये संसदमा समानुपातिकतर्फ एक सीटको प्रतिनिधित्व रहेको दल हो, फोरम गणतान्त्रिक । राजकिशोर यादव पहिला सिराहाबाट ०६४ मा एउटै फोरम हुँदा निर्वाचित संविधानसभा सदस्य थिए । पछि जयप्रकाशप्रसाद गुप्ताको नेतृत्वमा गए, जसको नाम थियो, फोरम गणतान्त्रिक । त्यसमा पनि विभाजन आयो । त्यही नाममा अर्को दल घोषणा गरी ०७० को निर्वाचनमा सहभागी भए । तर, आफूले हारे पनि पत्नीलाई मान्य बनाएका छन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा सञ्चारमन्त्री रहिसकेका उनी पेशाले एरोनटिकल इञ्जिनियर हुन्, जसले विमानका खराबीहरु पत्ता लगाउने र मर्मत गर्ने काम गर्दछ । इञ्जिनियरको जागिर माया मारेर ०६४ देखि राजनीतिमा होमिएका हुन् ।

० स्थानीय चुनावको तयारी कस्तो छ ?

– हामी निर्वाचन विरोधी होइनौँ । लोकतन्त्रमा विश्वास राख्छौंँ । एकलौटी ढंगले अपुरो संविधान निर्माण गरियो । जसका कारण लोकतन्त्रमा विश्वास गर्दागर्दै आन्दोलनमा उत्रिनुप¥यो । सरकारले वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचन तयारी गरेको छ । हामीले भन्दै आएका छौँ, संविधान संशोधन गरी चुनावमा जाऔँ । हामी चुनावमा भाग लिन्छौँ । तर, उहाँहरु एकलौटी ढंगले कुदिरहनुभएको छ ।

० संविधान संशोधन नभई चुनावमा जानुहुन्न ?

– संविधान संशोधन नभई चुनाव त के सरकारले गरेका कुनै गतिविधिलाई अघि बढ्न दिन्नौँ ।

० बहिस्कार गर्ने ?

– हैन । मुख्य कुरा त सबैले खुशीका साथ मतदान गरौँ र गराऔँ भन्ने हो । तर, अहिले यो अवस्था देखिएको छैन । सरकारले यो विपरीतको गतिविधि अघि बढायो भने मुलुक हिंसाको दलदलमा फँस्छ । दीर्घकालीन रुपमा बेफाइदा हुन्छ । त्यसैले अहिले मौका छ । अवसर पनि छ । हिजो मधेसीसँग भएका कबुल पूरा होस् ।  तीन बँुदे सहमति गरेर वर्तमान सरकार निर्माण भएको स्पष्ट छ । पहिलो बुँदामा प्रष्टसँग संविधान संशोधन पूरा गर्ने विषयमा हस्ताक्षर भएको छ । पूर्ण रुपमा संविधान निर्माण हुन सकेन भने चुनाव बहिस्कार गर्न के कस्ता योजना बनाउनुपर्ने हो, तयार छौँ । विभिन्न हत्कण्डा मच्चाउँछौँ ।

० हत्कण्डाको मतलब ?

– बहिस्कार । जानीजानी द्वन्द्वमा फँसाउन लागिएको संविधानको व्यापक विरोधका कार्यक्रम लिएर जनतासामु उभिन्छौँ ।

० विगत १९ बर्षदेखि स्थानीय तहको  निर्वाचन हुन सकेको छैन । मधेसका जनता निर्वाचनका लागि आतुर छन् । अनि कसरी जनताले आन्दोलनमा साथ दिन्छन् ?

– मुलुक ठूलो कि निर्वाचन ? संविधान जनताविरोधी र अपूरो छ । यदि चुनाव गर्ने हो भने संशोधन गरेर जाआँै । शाहीकालमा पनि यस्ता चुनाव कतिपटक भएका थिए । तर, त्यसले कुनै अर्थ राखेन । त्यतिखेर तिनीहरुविरुद्ध आवाज उठाउने अहिलेका ठूला भनाउँदा दल नै थिए । निर्वाचनमा भाग लिन चाहेका छैनौँ भनेका होइनौँ । एउटै माग हो, चुनावमा भाग लिने वातावरण सिर्जना गर्नुप¥यो । यति भन्दा पनि कान नथाप्नेहरुलाई आन्दोलनबाहेक अरु विकल्प छैन ।

० सरकारले चुनावअघि संविधान संशोधन गर्ने भनिरहेको छ । तर, प्रतिपक्षी दल एमालेले स्वीकारिरहेको छैन । यसलाई कसरी लिनुभएको छ ?

– निर्वाचनपछि संशोधन गर्न मिल्ने, तर निर्वाचनअघि गर्न किन नमिल्ने ? के कारणले निर्वाचनअघि र पछि संविधान संशोधन गर्न मिल्छ ? एमालेले यो प्रश्नको जवाफ जनतासामु स्पष्ट पार्नुप¥यो नि ! हाम्रो यो मुद्दा सरकारसँग हैन । तिनीहरुसँग हो, जसले संविधान ल्याए । ठूलो पार्टी भन्दैमा उनीहरुले मनपरी गर्न मिल्छ ? न्यायोचित र जनताको हितको लागि हुने काम गरौँ । त्यसका लागि सबैको दिल खुशी बनाऔँ । संविधान संशोधन गरौँ भनेका मात्र छौँ । देशलाई द्वन्द्वतिर लैजाने कि शान्तितिर लैजाने ? यसको चाबी तीन दलको हातमा छ । एक हातमा बन्दुक लिएर यो संविधान स्वीकार भन्दा कसैले मान्छ ? मान्दैन ।

० आगामी निर्वाचनमा तीन ठूला दलको अवस्था कस्तो देखिरहनुभएको छ ?

– उनीहरुको आ–आफ्नै आन्तरिक कुरा होलान् । यसको जवाफ दिन उपयुक्त ठान्दिनँ । केही समयअघि तीन दलमध्ये एमाले चुस्त र दुरुस्त पार्टी हो कि जस्तो महसुुस गरिएको हो । शुभकामना दिन चाहन्छु, त्यस्ता पार्टी ठूला बनेर आउन्, जसले मुलुक र जनतालाई अघि बढाओस् । राजनेताले चुनावको भविष्य हेरेर होइन, देशको भविष्य हेरेर राजनीति गर्छ ।

० सप्तरी घट्नापछि देशको राजनीतिलाई कसरी नियाल्नु भएको छ ?

– त्यसदिन घटना घट्ने अवस्था नै थिएन । तर, घट्यो । सरकारले एकअर्काप्रति द्वैष हुने खालको अवस्था सिर्जना ग¥यो । पार्टीगत रुपमा एक अर्कालाई हेर्ने दृष्टिकोणमा विकराल स्थिति सिर्जना ग¥यो । यस्ता घटना भावी दिनमा नघटोस् । यसले मुलुकको निम्ति केही फाइदा गर्दैन । यसविपरीत भयो भने मुलुकको अखण्डता नचाहनेले स्थान पाउँछन् । जसरी सप्तरीमा यो घटना भयो, त्यसले मुलुकको हित नचाहनेहरुलाई बल पुगेको छ ।

० यो घटनापछि एमालेको अवस्था कस्तो देखिरहनुभएको छ ?

– एमालेलाई सीमान्तकृत तथा मधेसी समुदायले पटक्कै विश्वास गरेका छैनन् । यो घटनापछि उनीहरुप्रति मधेसी जनताको नकारात्मक दृष्टिकोण पैदा भएको छ । अर्काेतर्फ, यो घटनाले के देखाउँछ भने जनतालाई कुल्चेर एमाले अघि बढिरहेको छ । एमालेले मधेसमा झन् घाटा बेहोर्नुपर्ने हुन्छ ।

० तर, आफ्ना निकटवर्तीहरुसँग यहाँले एमाले पार्टी शक्तिशाली पार्टी भएर उदाउने टिप्पणी गर्नुभएको थियो नि !

– संगठनको हिसाबले एमाले पार्टी बलियो छ । तीन दलमध्ये एमाले चुस्त र दुरुस्त पार्टी हो । एउटा चुनावलाई हेरेर कुन पार्टी बलियो हुन्छ भन्नेमा अल्मलिनु हुँदैन ।

० प्रचण्ड सरकारले मधेसी दललाई सरकारमा सामेल गराउनु तपाईंहरूका लागि अवसर पनि त थियो नि ? किन गुमाउनुभो ?

– हाम्रालागि जनताको सरोकारभन्दा सरकार ठूलो हैन । हिजोसम्म सीमान्तकृत तथा उनीहरुलाई अधिकारबाट बञ्चित पार्नेविरुद्ध लड्नु हो । त्यसैले यसअर्थमा सरकारमा सामेल भएनाँै । भोलि सरकारमा गयौँ भने त्यो मुद्धा बिर्सदैनौँ । सरकार हाम्रालागि गौण हो । जुन कारणले हिजो मधेसमा त्यत्रो धनजनको क्षति भयो । यो बिर्सन सक्दैनौँ । त्यसकारण सरकारमा गएनौँ ।
० सरकारलाई दिएको समर्थन फिर्ता भएकै हो ?

– हो । अहिले त यसको लिखित निर्णंय गरेर सभामुखको हातमा पु¥याइसकेका छौँ ।

० जनतालाई आन्दोलनमा होमिन निर्देशन गर्ने, तपाईहरु चाहिँ राजधानीमा बसेर ढलिमलि गर्ने ?

– म यसलाई स्वाभाविक रुपमा लिन्छु । जसले जसलाई बढी माया गर्छ नि, उसले सानो सानो कामको पनि खण्डन गर्छ । ता कि, फेरि गल्ती नदोहोरियोस् । मधेसी दल उनीहरुसँग बढी आशावादी छन् । उनीहरुले मधेसी दललाई सुझाव दिएका हुन् । यो शुभकामनासँगै सुझाव पनि हो । जनवादी आन्दोलन र क्रान्तिका विभिन्न स्वरुपहरु हुन्छन् । हामी यहीँ (राजधानीमा) बसेर पनि कसरी हिजो सडकमा उठिरहेका आवाजहरु ‘कन्भर्ट’ गर्न सक्छौँ भनेर नै लागिपरिरहेका छौँ । हाम्रालागि मधेसभन्दा काठमाडौं प्यारो होइन । राज्यसँग समझदारीको वातावरण सिर्जना गर्न राजधानी बस्न बाध्य भएका मात्र हौँ ।

० संसद पद नछाड्ने, आन्दोलन पनि गरिरहने, द्वैधचरित्र भएन ?

– कतिपयको कुण्ठा र धेरैजसोको राम्रो बुझाईपनि होला । आजसम्म हामी सांसद पदमा बस्नुले केही यस्ता विवाद आएका होलान् । तर, संसदबाट जसरी हामी बाहिरिन्छाँै, यसपछिको प्रक्रिया के ? त्यसैले भावनामा बगेर हिँडेका साथीहरुले यस्ता कुरा गरेका हुन सक्छन् । पार्टीको मोडेलअनुसार हिँडिरहेका छौँ । पदको लोभले हैन, जिम्मेवारीबोधका कारण यहाँ आएका हौँ । हामी सडक र सदन दुवै ठाउँमा छौँ । आज सदनमा नभएका भए सडकका आवाजहरु कता मोडिन्थे ? त्यसो हो भने के सधैं सडकमै बसेर क्रान्ति गर्ने हो त ? होइन । कसैले बढी भावुक भएर यस्तो प्रश्न सोध्नु उचित छैन ।

० आजकाल बेक्कारमा पार्टी फुटाए छु भन्दै बिलौना गर्नुहुन्छ रे !

– पार्टी फुट्नु दुर्भाग्य थियो । जुन रुपमा क्रान्तिलाई अघि बढाइरहेका थियौँ÷छौँ, त्यहीअनुसार हिँडेको भए यस्तो अवस्था आइपर्दैनथ्यो । नेतृत्वकर्ता साथीहरुले डेमोक््रयाटिकलाई भन्दा अरुतिर ध्यान दिएपछि पार्टी फुटाउन बाध्य भएँ । कटवाल प्रकरणमा सबै दलहरु लोकतान्त्रिक ढंगबाट अघि बढ्न चाहेनन् । त्यसपछि पार्टी विभाजन भयो । अर्काे, पार्टी पहिचानवादी कोणतिर ढल्कन नमान्दा हामी छुट्टियौँ । यसमा निकै बैचारिक बहस भए । अन्त्यमा यसले कुनै समाधानको बाटो फेला पारेन । त्यसपछि छुट्टिन पुग्यौँ । त्यतिबेला नेतृत्वकर्ताले लोकतान्त्रिक विधिहरु बुझ्दिएको भए यस्तो अवस्था सिर्जना हुने थिएन ।

० पार्टी एकीकरणको हल्ला खुबै चलिरहेको छ नि !

– समयभन्दा अगाडि र भाग्यभन्दा पाइँदैन भन्छन् नि! अहिले समय पनि परिपक्व भएर आयो । हामी पनि राजनीतिक उतार–चढाव र अनेकन चुनौती पार गर्दै आँउदा आज यो निश्कर्षमा पुगेका छौँ । विगतमा भएका त्रुटी–कमजोरी केलाएका छौँ । यी सबै कुरा केलाउँदा पार्टी एकीकरण अनिवार्य रहेको निश्कर्षमा पुगेका हौँ । अब मधेसी पार्टीबीच एकीकरणको कुनै विकल्पै छैन । हामी भावनात्मक एकताको कुरा गरिरहेका छौँ । समय सार्नेभन्दा पनि यसमा जनताको दबाब छ । पार्टी एकीकरण भनेको मधेसको ‘सेन्टिमेन्ट’ हेरेर गर्ने हो । अहिले केही मधेसी मोर्चाले पार्टी मर्ज पनि गरिरहेका छन् । राजनीति गर्नेहरुमा पदको लोभ हुनु स्वभाविक हो । क्षमता भएपछि यस्तो हुन्छ । समयपनि ढल्कँदै आएकाले विगतमा कहाँ–कहाँ कमी–कमजोरी भए ? अहिले यसको नजिक पुगेका छौँ । एकताका लागि पहल भइरहेको छ ।

० सबैलाई अध्यक्षको कुर्सी चाहिएको छ । तपाईंहरुले मोर्चा बनाउनुभयो । तत्कालै उपेन्द्र यादवले गठबन्धन बनाए । यस्तो अवस्थामा कसरी होला एकीकरण ?

– नेतृत्वमा पुग्नु राजनीतिकर्मीको इच्छा पनि हो । तर गणतान्त्रिक फोरम अध्यक्षमा दाबी गर्दैन । साधारण सदस्य भएर काम गर्न तयार छ ।   

० तपाईंहरुबीचको एकीकरण जनताको दबाब हो वा थ्रेस होल्डको बाध्यता ?

– यस विषयमा जोकोहीले जसरी बुझ्दा पनि हुन्छ । थ्रेसहोल्ड आएको साता दिन त हुँदैछ । तर, हामीले यो प्रक्रिया त आठ महिना, एक वर्षदेखि चलाउदै आएका छाँै ।


प्रतिक्रिया दिनुहोस !